जलविद्युतको ‘हव’ बन्दै ताराखोला – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

जलविद्युतको ‘हव’ बन्दै ताराखोला

गलकोट–बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा धमाधम जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । सयपत्री जलविद्युत् निर्माण सम्पन्न भएको ताराखोलामा हालै ताराखोला जलविद्युत् आयोजना ३८० किलोवाट निर्माण सम्पन्न भइसकेको छ ।

अहिले ताराखोलामा पुनः ठूला परिमाणमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित चार ठूला आयोजना सञ्चालनको तयारी थालिएको छ । मध्यताराखोला जलविद्युत् आयोजना निर्माण शुरु भइसकेको छ भने अन्य तीन जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा रहेका छन् । पछिल्लो समय ताराखोला जलविद्युत्को ‘हव’ बन्दै गइरहेको छ ।

साना लघु जलविद्युत्को भरमा रहेको ताराखोलाको अधिकांश भागमा केन्द्रीय विद्युत् नपुगेको समयमा ताराखोलामा धमाधम जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।

केन्द्रीय प्रसारण लाइनमा जोड्ने गरी मध्यताराखोला जलविद्युत् आयोजना २.२ मेगावाटको निर्माण कार्य चलिरहेको आयोजनाका प्रबन्ध निर्देशक अनिल खड्काले बताए ।

ताराखोला गाउँपालिका–५ करिमेलामा ताराखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर उत्पादन थालेपछि सोही ठाउँदेखि तल मध्यतारा जलविद्युत् आयोजनाको निर्माण शुरु भएको हो । गत वर्षको माघदेखि शुरु भएको आयोजनाको निर्माण कोरोनाका कारण बीचमा रोकिएको थियो । अहिले दशैँ तिहारको बीचमा समेत आयोजनमा २५ जना कामदारले निरन्तर काम गर्दै आएको खड्काको भनाइ छ ।

आयोजनाको हालसम्म ४० प्रतिशत काम सम्पन्न भइसकेको भन्दै खड्काले यही वर्षभित्र उत्पादन दिने गरी आयोजना निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो । विसं २०६९ मा लाइसेन्स प्राप्त गरेको आयोजानाले हाल आएर धमामध काम थालेको हो ।

उक्त आयोजनाले ताराखोला, छेल्लर र नागबेली खोलालाई एउटै बाँधमा मिसाएर उक्त पानीलाई १२६ मिटर तल खसालेर विद्युत् उत्पादन गरिनेछ । उक्त आयोजनाको कुल लागत रु २६ करोड रहेको छ । आयोजनामा प्रभु बैंकसहित अन्य १० जनाले लगानी गरिरहेका छन् ।

“मध्यताराखोला जलविद्युत् आयोजनाले गति लिएको छ भने ताराखोला हुँदै गलकोटसम्म अन्य तीन आयोजनाको कामसमेत अगाडि बढेको खड्काले बताए, “हामी एउटै बाँधमा दुई आयोजना जोडेर निर्माण गर्ने गरी अगाडि बढ्दै आएका छौँ ।”

स्थानीय पायोजनका लागि निर्माण गरिएको ताराखोला जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् खपत नभएपछि केन्द्रिय प्रसारण लाइनमा समेत जोड्न थालिएको छ । अहिले मध्यतारा जलविद्युत् आयोजनाको पाइपलाइन निर्माण भइरहेको स्थानीय लगानीकर्ता धनबहादुर विकले बताए ।

एउटा जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी निस्केको पानीलाई सोझै अर्को विद्युतगृहमा हाल्ने (क्यासकेट प्रोजेक्ट) प्रविधि अन्तर्गत चारै आयोजना निर्माण गरिनेछ । आयोजना जोडेर निर्माण गर्दा आयोजनाको शुरुको आयोजनामा मात्रै बाँध निर्माण गर्नुपर्ने भएकाले लागत घटेर जानेछ ।

आयोजनामा उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारण लाइनअन्तर्गत हरिचौर सवस्टेशनमा जोडिनेछ ।

मध्यतारा जलविद्युत् आयोजनामा विद्युत् उत्पादन भएर आएको पानीमा तल्लो ताराखोला जलविद्युत् आयोजना ३.५ मेगावाट निर्माण गर्नका लागि प्रक्रिया शुरु भएको छ ।

यस्तै यही आयोजनाका लगानीकर्ताले मध्यदरमखोला ‘ए’ जलविद्युत् आयोजना र मध्यदरमखोला जलविद्युत् आयोजना ‘बी’ समेत निर्माण गर्नेछ ।

मध्यदरमखोला समेत एउटै बाँधबाट दुई आयोजना निर्माण हुनेछन् । मध्यदरम ‘ए’ तीन मेगावाट र मध्यदरम ‘बी’ ४.५ मेगावाट क्षमताको हुनेछ । ताराखोलामा जलविद्युत् आयोजना निर्माणले गति लिएपछि स्थानीयवासीको समेत लगानी हुने भएकाले आर्थिक समृद्धि हुने ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । रासस

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
  • २०७७ कार्तिक २०, ११: ५८

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

आज यी स्थानमा भारी वर्षाको सम्भावना
आज यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ कार्तिक २०, ११: ५८

काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७७ कार्तिक २०, ११: ५८

काठमाडौं : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी...