सरकार गठनअघि नै पार्टी एकता हुन्छः प्रवक्ता भुषाल – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

सरकार गठनअघि नै पार्टी एकता हुन्छः प्रवक्ता भुषाल

काठमाडौं । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले नयाँ सरकार गठनअघि नै एमाले र माओवादी केन्द्रवीच पार्टी एकता हुने विश्वास व्यक्त गरेकी छिन् । प्रवक्ता भुषालले चाँडै पार्टी एकताले निश्कर्ष लिने बताएकी हुन् । ‘सरकार गठन अघि नै पार्टी एकता भैसक्छ, एकता संयोजन समितिले अहिले द्रुत गतिमा कामहरु गरिरहेको छ ।’

वैचारिक रुपमा खासै विवाद नभएको र सांगठनिक व्यवस्थापनमा पनि आवश्यक परे कार्यदल बनाएर अघि बढ्न सकिने जानकारी दिईन् । पार्टी एकतामा कुनै समस्या नभएकोले दुई अध्यक्षहरु बसेर सबै कुरा टुँगो लगाउने धारणा राखिन् । ‘शीर्ष नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डजीको कार्यविभाजन उचित ढंगले हुन्छ, पार्टी एकता भएपछि अध्यक्ष पनि आफ्नो हुन्छ, अध्यक्ष पनि आफ्नो हुन्छ, यत्ति हो उहाँहरुको सम्मानजनक ढंगले कार्य विभाजन हुन्छ ।’

तल्लो लेभलमा कार्यकर्ताहरुवीच एकता भैसकेकोले अब केन्द्रमा पनि एकता चाँडै हुनेमा कुनै द्धिविधा नभएको भुषालको भनाई थियो । ‘अब माथिल्लो लेभलमा दुई जना अध्यक्षवीच कुरा मिल्न बाँकी छ, छिट्टै मिल्छ, तल्लो लेभलमा त निर्वाचनमै सबै एक भएको कुरा स्पष्ट छ ।’

सरकारले हिजो अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको निर्णयप्रति टिप्पणी गर्दै उनले उक्त निर्णयमा आफूहरुको कुनै सहमति नभएको जिकिर गरिन् । ‘सरकारले हिजो गरेको निर्णय राजनीतिक सहमतिबाट गरेको होईन्, तर यो निर्णयले नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गरेको छ ।’

प्रदेशको अस्थायी राजधानी अहिले तोकिए पनि प्रदेशहरुले आफू अनुकुल नयाँ स्थायी राजधानी तोक्नेपनि स्पष्ट पारिन् । प्रदेश प्रमुखबारे पनि नयाँ सरकारले नयाँ धारणा बनाउन सक्ने बताईन् । उनले वाम गठबन्धनभन्दा बाहिर गएर सरकार नबन्ने समेत जिकिर गरिन् ।

‘वाम गठबन्धनभन्दा बाहिर गएर सरकार बन्दैन, गठबन्धनभित्रैको सरकार बन्छ ।’ भुषालले व्यवसायी अजेयराज सुमार्गीको आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुनै विशेष सम्बन्ध नभएको बताइन् । ‘हामीले जानेको के हो भने सुमार्गी व्यवसायी हो, त्यो भन्दा बेसी यो देशका नागरिकसँग राजनीतिक पार्टीहरुको अथवा हाम्रो पार्टीको जे सम्बन्ध हुन्छ, त्यति छ, त्यो भन्दा बढि सुमार्गीसँग विशेष सम्बन्ध छैन् ।’

उनले प्रचण्डको सरंक्षणमा सुमार्गी रहेको भन्ने आरोपको खण्डन गर्दै, ‘यो विल्कुलै भ्रमपूर्ण प्रचार हो, दुई मिडिया हाउस, दुई व्यवसायिक मान्छेहरुकावीचको बहस अहिले बजारमा छ, मैले पनि तपाईहरुका मिडियामार्फत आएका समाचारहरु पढ्छु, दुई वटा व्यवसायीहरुको लेनदेनको या प्रतिष्पर्धाको सम्बन्ध रहेर हाम्रो पार्टीको अध्यक्षसँग जोड्नु कुनै सान्दर्भिक पनि छैन, र, अहिले चलेको बहसमा हाम्रो पार्टी र नेतृत्वको कुनै भूमिका छैन् ।’

प्रवक्ता भुषालले दुई मिडिया मालिक अजेयराज सुमार्गी र कैलाश सिरोहियावीच अहिले चलेको बहस विल्कुल उनीहरुको वीचमा चलेको बताइन । सुमार्गीलाई त तपाईको पार्टीको सरंक्षण छ अरे नि त ? भन्ने प्रश्नमा भुषालले खण्डन गर्दै उनले, ‘दुई व्यवसायिक घराना, दुई व्यवसायिक व्यक्तित्व, अथवा दुवै मिडिया होल्डरहरुसँगको बहस तपाईले कहाँ सुन्नुभएको छ ?

कसको बारेमा सुन्नुभएको छ ? कसको संरक्षणमा चलेको भनेर कहाँ सुन्नुभएको छ ? विल्कुल उहाँहरुको चलेको छ ।’ उनले दुई घरानाबीच स्वस्थ सम्बन्ध बनाउन समेत सुझाव दिईन् । ‘स्वस्थ ढंगले, मर्यादित ढंगले, देशको कानूनी ढंगले जसले जसलाई पालना गर्छ गर्नुहोस्, स्वस्थ सम्बन्ध बनाउनुहोस्, यत्ति कामना गर्छौं’ ।

सुमार्गीको धन अवैध हो भने राज्यले छानबिन गर्नुपर्ने बताउँदै उनले भनिन्,‘अवैध धन हो भने राज्य छ नि त, छानविन गरेर त्यसको निक्र्यौल गर्नुपर्छ, अहिले त हाम्रो पार्टी सरकारमा छैन, सम्पत्ति शुद्धिकरण अरु लिगल के–के छ ? त्यो पाटो त राज्य छ नि त, राज्यका संरचनाहरु छन्, उनीहरुले सत्यतथ्य बाहिर ल्याए हुन्छ, अहिले मिडियाले मात्रै ल्याएको छ, अब राज्यले बाहिर ल्याओस्, यतिमात्रै हो ।’

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०७४ माघ ५, ०५: ४४

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०७४ माघ ५, ०५: ४४

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०७४ माघ ५, ०५: ४४

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...