काठमाडौं । दैलेखको दुल्लू नगरपालिकामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको बहुउद्देश्यीय भवन निर्माणका लागि भारत सरकारले आर्थिक सहयोग गरेको छ। सोमबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले भवनको शिलान्यास गरेका हुन्। नेपाल–भारत विकास सहयोगअन्तर्गत निर्माण हुने भवनको शिलान्यास गर्न नेपालस्थित भारतीय राजदूतावासका कन्सुलर अविनाशकुमार सिंह पनि पुगेको थिए। उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधिहरु, सरकारी अधिकारीहरु, सामाजिक कार्यकर्ताहरू तथा विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थिति थियो ।
‘नेपाल(भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु.३.९ करोड परियोजना लागतमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवन निर्माण भइरहेको हो ।
दूतावासका कन्सुलर सिंहले बहुउदेश्यीय भवनसँगै नेपालको विकासका लागि अन्य परियोजनामा पनि भारतले सहयोग गर्ने आश्वासन जनाएका छन्। नेपालको शिक्षा क्षेत्रमा विगत २० वर्षदेखि भारतले आफ्ना परियोजनामार्फत सहयोग गरिरहेको उनले बताए। सिंहका अनुसार भारतीय विदेशमन्त्री डा. जयशंकर नेपालको भ्रमणमा आउँदा नेपाली परियोजनामा लगानी बढेको हो।

भारतले हालसम्म नेपाललाई एक हजार बढी एम्बुलेन्स र तीन सय भन्दा बढी विद्यालयका लागि बस दिएको उनले बताए।
कन्सुलर सिंहले नेपालको विकासका लागि दुई देशबीच निरन्तर साझेदारी भइरहेको दावी गरे। नेपालमा भूकम्प, बाढी, पहिरो जस्ता विपदको बेलामा भारतले राहत, पुनर्निर्माण जस्ता विषयमा सहयोग गरेको उनको भनाइ थियो।
‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान साढे तीन तल्ले भवन निर्माणको लागि प्रयोग गरिँदैछ जसमा हस्तकला प्रदर्शन क्षेत्र, पुस्तकालय, दुल्लू राज्यसँग सम्बन्धित सांस्कृतिक कक्ष, बहुउद्देश्यीय हल, कार्यालय क्षेत्र र अन्य सम्बद्ध सुविधाहरू समावेश हुनेछन् । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको छ र दैलेखको दुल्लू नगरपालिका मार्फत कार्यान्वयन गरिँदैछ ।
सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५६३ भन्दा बढी एचआइसीडीपीहरुमा कार्य गरेको छ र ४९५ परियोजनाहरू सम्पन्न गरिसकेको छ । यी मध्ये १५ वटा परियोजनाहरू कर्णाली प्रदेशमा रहेका छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहार स्वरूप प्रदान गरेको छ । यी मध्ये कर्णाली प्रदेशमा ५० वटा एम्बुलेन्स र ८ वटा स्कूल बस उपहार स्वरूप प्रदान गरिएको छ ।

भारत र नेपालबीचको यो सहकार्यले नेपाली जनताको उत्थान र पूर्वाधार विकासमा भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको दूतावासले जनाएको छ ।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...