
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी जेठ १५ गतेका लागि राजावादी पक्षले घोषणा गरेको आन्दोलनलाई कडा चेतावनी दिएका छन्। उनले त्यस दिनका लागि प्रस्तावित आन्दोलनलाई ‘बेलुनमा हावा भर्ने दुस्साहस’ भन्दै चेतावनी दिएका हुन्।
चैत १५ गते काठमाडौं तीनकुनेमा भएको प्रदर्शनको सन्दर्भ दिँदै प्रचण्डले त्यसबेला ‘राजावादीहरूको एउटा बेलुन’ फुटिसकेको दाबी गर्दै भने, “अहिले फेरि अर्को बेलुनमा हावा भर्ने रे, जेठ १५ गतेदेखि। खबरदार! त्यो हुनेवाला छैन।”
उनले आइतबार काठमाडौंमा सम्पन्न किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपाल को संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै यस्तो टिप्पणी गरेका हुन्।
‘राजावादी आन्दोलन जनविरोधी र विफल हुने’ प्रचण्डको दाबी
प्रचण्डले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको मागसहित संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेका लागि आह्वान गरेको आन्दोलनलाई जनताले अस्वीकार गरिसकेको बताए। “सुनारको सय चोट, लोहारको एकै चोट भनेजस्तो एक चोट हामीले हानेपछि उनीहरूको बेलुन फुटेको हो,” भन्दै उनले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने प्रयासलाई असफल बनाउने दृढता व्यक्त गरे।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, र समुदाय पहिचान र अधिकारको चेतनाबाट जागिसकेकाले अब कुनै शक्तिले ती जनतालाई रोक्न नसक्ने दाबी गरे। “नेपाली जनता विजयी हुनेछन्,” भन्दै उनले समाजवाद र समावेशीताको बाटोमा अघि बढ्ने स्पष्ट संकेत दिए।
चैत १५ गतेको प्रदर्शनप्रति कटाक्ष गर्दै उनले भने, “तीनकुनेमा एउटा वितण्डा देखियो। म त त्यतिबेलै भन्दथेँ — १२ वर्ष कुकुरको पुच्छर ढुंग्रामा राखेपनि बांगाको बांगै। अहिले पनि ती मण्डले गुण्डाहरू उही हत्या, आतंकतर्फ लागेका छन्।”
संविधानिक राजसंस्था र हिन्दु अधिराज्य पुनर्स्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन समितिले आइतबार मात्रै काठमाडौंमा बैठक गरी जेठ १५ देखि सुरु हुने आन्दोलनको तयारी र कार्यक्रम तय गरेको छ। समितिले जनजागरण यात्रा, स्वयमसेवक भेला, प्रवुद्ध व्यक्तिको भेला लगायतका विभिन्न चरणीय गतिविधिको घोषणा गरिसकेको छ।
प्रचण्डको यो चेतावनीपछि राजनीतिक तापक्रम अझ चर्कने संकेत देखिएको छ, विशेषतः गणतन्त्र समर्थक र राजतन्त्र पक्षधरबीचको ध्रुवीकरणलाई लिएर।
काठमाडौं : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो...
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...