काठमाडौं महानगरद्वारा प्रशोधित पिउने पानीको जारको अनुगमन तीव्र, मापदण्ड विपरीतका २७१ जार नष्ट – Naya Bikalpa
November 25, 2026, Wednesday      Epaper

काठमाडौं महानगरद्वारा प्रशोधित पिउने पानीको जारको अनुगमन तीव्र, मापदण्ड विपरीतका २७१ जार नष्ट

काठमाडौं : काठमाडौं महानगरपालिकाले प्रशोधित पिउने पानीको जारहरूको अनुगमनलाई तीव्रता दिएको छ । बर्खायाममा पानीजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न महानगरले प्रशोधित पिउने पानीको अनुगमनलाई तीव्र बनाएको हो । एक हप्ताको अवधिमा विभिन्न क्षेत्रहरूमा गरिएको अनुगमनका क्रममा मापदण्डविपरीतका २७१ वटा जार बरामद गरी नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइएको छ । यस्तै, महानगरले असार र साउन महिनामा गरी जम्मा १३९ वटा गाडीहरूबाट ४५६ वटा जार बरामद गरी नष्ट गरेको छ ।

साथै, पानीको गुणस्तर सुनिश्चित गर्न भौतिक तथा जैविक परीक्षणका लागि नमुनाहरू प्रयोगशालामा पठाइएको छ । चालु आर्थिक वर्ष सुरु भएपछि महानगरपालिकाले बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु, कोटेश्वर लगायतका स्थानमा अनुगमन गरेको कृषि तथा पशुपक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले बताए । कृषि तथा पशुपन्छी विभाग र महानगर प्रहरी बलको सहकार्यमा विभिन्न स्थानहरूमा चेकपोस्ट राखेर खानेपानी बोक्ने गाडीहरूको अनुगमन गरिएको हो ।

“हामीले बर्खायाममा पानीजन्य रोगहरूको जोखिमलाई मध्यनजर गर्दै प्रशोधित पिउने पानीको गुणस्तरमा विशेष ध्यान दिएका छौं । मापदण्ड विपरीतका जारहरूले नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । त्यसैले हामीले यस्ता जारहरू तत्काल जफत गरी नष्ट गर्ने र कम्पनीहरूलाई कडा निर्देशन दिने काम गरिरहेका छौं,” न्यौपानेले भने । उनका अनुसार जारहरू नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइएको छ ।

विभागले साउन २० गते काठमाडौं महानगरपालिका–१४, बल्खु क्षेत्रमा गरिएको अनुगमनका क्रममा ८ वटा विभिन्न कम्पनीका पानी बोक्ने सवारी साधनहरूको जाँच गरिएको थियो । उक्त अनुगमनमा ५९ वटा जारहरू कुच्चिएको, फुटेको र अपारदर्शी अवस्थामा भेटिएका थिए, जुन मापदण्ड विपरीत थिए ।

त्यसैगरी, साउन २१ गते वडा नम्बर ७, चाबहिल–चुच्चेपाटी क्षेत्रमा १९ वटा सवारी साधनहरूको अनुगमन गरिएको थियो । यस क्रममा ६७ वटा मापदण्ड विपरीतका जारहरू बरामद गरिए । यी जारहरू पनि नष्ट गर्न महानगर प्रहरीलाई हस्तान्तरण गरिएको छ । साथै, ३ वटा २० लिटरका जारहरू भौतिक तथा जैविक परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।

साउन २३ गते वडा नम्बर १६, माछापोखरी–बालाजु क्षेत्रमा २० वटा सवारी साधनहरूको अनुगमन गरियो । यस अनुगमनमा ६८ वटा जारहरू मापदण्ड विपरीत भेटिए, जुन नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइयो ।

साउन १८ गते वडा नम्बर ३२, कोटेश्वर क्षेत्रमा १५ वटा सवारी साधनहरूको अनुगमन गरिएको थियो । यस क्रममा ७७ वटा मापदण्ड विपरीतका जारहरू बरामद गरिए, जुन नष्ट गर्न महानगर प्रहरीलाई हस्तान्तरण गरियो ।

अनुगमनका क्रममा मापदण्ड विपरीतका जारहरू बिक्री–वितरण नगर्न, जारमा स्पष्ट लेबल राख्न, कम्पनीले जारी गरेको बिल–बिजक सवारी साधनमै लिएर हिँड्न र पानीको गुणस्तरमा संवेदनशील हुन पानी उत्पादक कम्पनीहरूलाई निर्देशन दिइएको विभागका प्रमुख न्यौपानेले बताए । नागरिकको स्वास्थ्यप्रति गम्भीर रहँदै पानीजन्य रोगहरूको जोखिम कम गर्न यस्ता अनुगमनलाई निरन्तरता दिने उनको भनाइ छ ।

यस्तै, फुड टेक्नोलोजिस्ट अशोक पराजुलीले पानीको गुणस्तरबारे भने, “प्रशोधित पिउने पानीको जारहरूको भौतिक र जैविक गुणस्तर जाँच्नु अत्यन्त महत्त्वपूर्ण छ । हामीले प्रयोगशालामा पठाइएका नमुनाहरूको परीक्षणबाट पानीको शुद्धता र सुरक्षितता सुनिश्चित गर्नेछौं । नागरिकको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो ।”

आगामी दिनमा पनि पानी उत्पादन, ढुवानी र वितरण प्रणालीको नियमित अनुगमनलाई निरन्तरता दिने पराजुलीले बताए । साथै, समुदायस्तरमा पानीको नमुना परीक्षण र अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्ने तयारी भइरहेको छ । विशेषगरी, बल्खु, कालीमाटी र टंकेश्वर जस्ता क्षेत्रहरूमा विगतमा हैजा रोगका बिरामी भेटिएकोले यस्ता जोखिम कम गर्न महानगरपालिका संवेदनशील बनेको उनको भनाइ छ । महानगरले जरमा राखिएको पानीलाई वर्षा याममा विशेष गरी राम्रोसँग उमालेर मात्र पिउन अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

असन्तुष्ट नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन कांग्रेस महामन्त्री डा. संग्रौलाको आह्वान
असन्तुष्ट नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन कांग्रेस महामन्त्री डा. संग्रौलाको आह्वान
  • २०८२ श्रावण २५, १२: ०८

काठमाडौं : नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले पार्टी एकताका लागि असन्तुष्ट नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन आह्वान गरेकी...

आगलागी पीडित प्रेम राईलाई नेपाली कांग्रेस नगर कार्यसमिति र कांग्रेस ९ नम्बर वार्डको समन्वयमा आर्थिक सहयोग हस्तान्तरण
आगलागी पीडित प्रेम राईलाई नेपाली कांग्रेस नगर कार्यसमिति र कांग्रेस ९ नम्बर वार्डको समन्वयमा आर्थिक सहयोग हस्तान्तरण
  • २०८२ श्रावण २५, १२: ०८

हडिया : उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका–९ हडिया स्थित विष्णुजगमा आगलागीबाट घर तथा धनमाल गुमाएका प्रेम राईको परिवारलाई नेपाली कांग्रेसले आर्थिक...

दानबहादुर कार्कीको पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार
दानबहादुर कार्कीको पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार
  • २०८२ श्रावण २५, १२: ०८

काठमाडौं : सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरिएको रिटमा अन्तरिम आदेश जारी...