नेकपा विवाद नाटकको पटाक्षेप ! – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

नेकपा विवाद नाटकको पटाक्षेप !


हरिविनोद अधिकारी,


काठमाडाैं-

१- नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेर संसदीय परम्पराअनुसार अहिले संसदको सबैभन्दा ठुलो दलको रुपमा सरकारमा छ र प्रादेशिक सरकारमा पनि त्यही स्वरुपमा ६ प्रदेशमा छ ।

जरासन्धीय स्वरुपमा एकभएका ती दलहरु आपसमा मिलेर बस्न पनि सकेका छैनन् र छुट्टिएर जान पनि सकेका छैनन् । अनि वारम्बार विवाद आउँछ । यसपटकको विवादले उग्ररुप लिएको देखिन्छ ।

त्यसैले दुईओटा अध्यक्षको छायामा बसेर छायायुद्ध खेलिएको देखियो र आपसमा विवाद समाधान गर्न भनेर शक्तिशाली कार्यदल पनि गठन भयो पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा । त्यसले प्रतिवेदन पनि बुझाएको छ ।


२. एउटा हँस्यौली छ— एकपटक विवाहित जोडीहरुका बिचमा सम्बन्ध विच्छेद बढ्दै गएकोमा चिन्तित भएर सरकारले एउटा आयोग बनाएछ , किन सम्बन्ध विच्छेद यसरी बढ्दै गएको होला ? यसवारेमा प्रतिवेदन दिन र आगामी दिनमा अपनाउनु पर्ने सतर्कताका वारेमा सुझाव दिनसमेत भनिएको रहेछ ।

बडो मिहिनेत गरेर, लाखौँ जोडी र बुद्धिजीवी तथा समाजका सामाजिक सुधारका अभियन्तासँग अन्तर्वार्ता लिएर र सम्बन्ध विच्छेद भएका विच्छेदीहरुसँग सोधेर प्रतिवेदन तयार गरिएछ र निचोड रहेछ—विवाह भएकाले सम्बन्ध विच्छेद हुँदारहेछ । अब विवाह नै नहुने हो भने सम्बन्ध विच्छेद कहिल्यै नहुने देखिन्छ ।


३. सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का दुई अध्यक्षका बिचमा देखिएको भनिएको विवादको समायोजन गरी विवाद मिलाउन बनेको कार्यदलले पनि बडो मिहिनेतका साथ प्रतिवेदन दिएको देखिन्छ र निचोड निकालेको पाइन्छ—अबदेखि दुईओटै अध्यक्ष रहनेछन् , प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री र अध्यक्ष दुवै हुनेछन्,।

महाधिवेशन चैतसम्ममा हुनुपर्नेछ र अर्का अध्यक्ष प्रचण्डले अध्यक्षकै रुपमा काम गर्नेछन् । अवदेखि मन्त्री राख्दा, परिवर्तन गर्दा र संवैधानिक अंगहरुमा मानिसहरु भर्ना गर्दा सोधेर गर्ने परिपाटी अपनाउनु पर्नेछ आदि आदि ।


४.भन्थे राजनीतिक विश्लेषकहरु कि नेकपाको यो विवाद या त जानी जानी जनतालाई रनभुल्ल गराउन रचिएको हो , होइन भने जे भइरहेको छ, त्यसका केही परिवर्तन हुँदैन अनि जस्ताको तस्तै गरी सरकार र पार्टीको नेतृत्व केपी शर्मा ओलीले गरिरहनेछन् । कुनै हँस्यौलीमा भने जस्तै —श्रीमानले तातो पानीले नुहाउनका लागि श्रीमतीलाई पानी तताउन भनेछन् रे , अनि श्रीमती पनि के कम , बडो रिसाएर भनिछन् रे, म पानी तताउँदिन पनि र दिन्न पनि । अनि श्रीमानले बडो फुर्तीसाथ भनेछ रे—नत्र म केके गर्छु है । झन श्रीमती सुरिएर भनिछन् —म कुनै पनि हालतमा पानी तताउँदिन , अब के गर्ने मलाई? अनि श्रीमानले भनेछ रे—त्यसो भए चिसो पानीले नै नुहाउने । सायद यही नियतिको अनुमान राजनीतिक विश्लेषकहरुले गरिसकेका थिए र भन्थे—अब प्रचण्ड र माधव नेपाल, झलनाथ, नारायणकाजीहरुले चिसै पानीले नुहाउने छन् । नभन्दै प्रतिवेदनको सारले त्यही देखाएको छ । अब अर्को नाटक के हुनेछ भने यो प्रतिवेदनलाई सचिवालयले, स्थायी समितिले र केन्द्रीय समितिले अनुमोदन गरेर जे भइरहेको छ सबै काम पार्टीको नियम बमोजिम प्रजातान्त्रिक तरिकाले भइरहेको छ ।

५.हुन त कुनचाहिँ दलमा विवाद छैन र ? कुनचाहिँ दलको संस्थापन पक्षले अर्को आन्तरिक विपक्षीहरुसँग सद्भावपूर्ण व्यवहार भएको छ र ? यही मेसोमा कुनै दलहरु एक भएर पनि धेरै दलमा विभाजित देखिन्छन् र कुनै धेरै दलमा विभक्त हुने क्रममा छन् ।

राप्रपाको एउटा चोइटो जसले आफूलाई सूर्यवहादुर थापाको विरासत ठान्नेगर्छ, नेपाली काँग्रेसमा समाहित भएको छ जसरी कि मधेसी फोरम लोकतान्त्रिकको मुख्य भाग नेपाली काँग्रेसमा समाहित भइसकेको थियो ।

राप्रपा एक भएको छ तीन दलबाट एउटामा तर तीनओटा टाउको भएको सर्पझैँ मडारिँदै छ । नेकपामा दुईओटा टाउको भएको भाण्डारक समुद्री चरोझैँ दुईओटा मुखमध्ये एउटा मुखले अमृतफल खाइरहेको छ र अर्कोले कुनै पनि बेला विषफल खान सक्छ ।


६. यदि नेकपामा साँच्चै समस्या परेर नै कार्यदल बनाइएको हो भने तर नेकपामा देखिएको मूल समस्यालाई सम्बोधन नगरी प्रतिवेदन आएको छ । बादसाहको नयाँ लुगाको सोखमा निःशर्त जुलाहाहरुले लुगा बनाएका छन् ।

त्यहाँ अब कुनै बालकको आवश्यकता छ जसले सत्यकुरा समाजलाई भनोस् । यसकारणले नेकपाको विवादमा जनचासो भएको हो कि अहिले त्यो दल सत्तामा छ र उनीहरुको कृत्रिमरुपमा नै देखिएको होला, तर समयलाई बेकारमा बर्बाद गर्दै सरकार र समाजको ध्यान त्यतातिर खिचिएको छ कोरोनाको महामारी र त्यसबापतको भ्रष्टाचारका वारेमा कुरा हुनुभन्दा ।


७.यदि समस्या नै परेर , दुईओटा अध्यक्षको कामकार्बाहीमा समस्या परेर नै कार्यदल बनाइएको हो भने यो भुसमाथिको लिउन हुनेछ । लिउन लाउन नपाउँदै उप्किने छ ।

प्रधानमन्त्री ओलीले अब झन यो नगदी प्रतिवेदनलाई आधार बनाएर कसैलाई टेर्ने छैनन् जसरी कि २०७६ साल मंसिर ४गतेको उधारो सहमतिमा टेकेर प्रचण्डलाई आधा समय प्रधानमन्त्री गराउने वाचालाई पन्छाएका थिए ।

साँच्चै समस्या परेर कार्यदल बनाइएको हो भने र आएको प्रतिवेदनले स्थायी समितिमा कुनै पहुँच पाउने छैन , त्यसैले अब लामो समयसम्मका लागि स्थायी समिति नै बस्नेछैन । होइन, विवाद नै थिएन, दुनियाँलाई देखाउन मात्र विवादको फन्डा देखाइएको हो भने यसले नेकपाको विश्वसनीयतामा नयाँ ह्रास देखिने छ र जनतामा देखिने अविश्वनीयता विस्तारै मापन हुन थाल्नेछ ।


८. प्रतिवेदनका वारेमा पहिले नै अनुमान गरिएको थियो , यस्तै आउने छ जसले प्रधानमन्त्री ओलीको कुनै पनि कदममा रोक लगाउन सक्नेछैन । वामदेव थेरापीको परिणाम यस्तै हुने अनुमान थियो , भयो । तर आगामी दिनमा कसरी नेकपाको जहाज नेपाली समाजरुपी समुद्रमा तैरिने छ, त्यसले आगामी दिनका वारेमा निर्णय गर्नेछ ।

नेपाली राजनीतिका आगामी दिनहरु त्यति सहज देखिएका छैनन् । विस्तारै त्यसको पटाक्षेप पनि हुनेछ । आखिर नाटकले पटाक्षेप हुनु नै पर्छ ।


९. र अन्त्यमा, राष्ट्रकवि माधव प्रसाद घिमिरेप्रति श्रद्धाञ्जलि । उहाँको यही भदौ २ गते १०१ वर्षको उमेरमा काठमाडौँमा, उहाँकै निवासमा निधन भएको छ । एउटा बास्नादार फूलको थुंगा वाग्मतीमा बगेर गएको छ । नेपालीको ज्योतिको पंखाले अमरत्व प्राप्त गर्दै नेपाली माटोमा लाखाँै वर्षसम्म माटोको सुवासको कथा भनिरहने छ ।

वहुआयामिक तर मूलतः कविताले नै जीवन बोल्न सक्ने कविको अवतरण १९७६साल असोज ७ गते पुस्तुन गाउँमा भएको थियो भने २०७७साल भदौ २ गते राष्ट्रकविको रुप लिएर झल्झलाकार भई नेपाली आकाशमा एउटा ग्रहको रुपमा रहनु भएको छ । उहाँप्रति शब्दश्रद्धा तथा परिवारप्रति समवेदना ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ भाद्र ११, १५: ५५

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ भाद्र ११, १५: ५५

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ भाद्र ११, १५: ५५

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...