के कांग्रेसले प्रवासी नेपालीकाे भावना समेट्न सक्ला त ? – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

के कांग्रेसले प्रवासी नेपालीकाे भावना समेट्न सक्ला त ?

काठमाडाैं ,

१. के निर्वाचन नै हो त प्रजातन्त्रको प्राण वायु ? अहिले नेपालमा भएका बेथिती र भ्रष्टाचारका पछिल्तिरको मुख्य कारण निर्वाचन प्रणालीमा देखिएको कमी नै हो त ? नेपालको प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले शुभकामना दिएर र आफ्नो प्रमुख आतिथ्यमा शुभारम्भ गर्नुभएको भर्चुअल वेबिनारमा यससम्बन्धमा व्यापक कुराहरु मन्थन गरिए । स्वयं डाक्टर यादवले निर्वाचन धाँधलीरहित र स्वच्छ हुनसके अहिलेका धेरै समस्याहरु आफै समाप्त हुने धारणा राख्नु भएको थियो ।

उहाँले सो कुरा व्यक्त गर्नु भएको हो अमेरिकामा नै दर्ता भएको नेपालीहरुले सञ्चालन गरेको संस्था यु एस–नेपाल पोलिसी रिसर्च सेन्टरले गरेको कार्यक्रममा ।


२.नेपालीहरु जहाँ भए पनि नेपालका वारेमा सोच्छन् भन्ने कुराको एउटा पछिल्लो उदाहरण पनि बनेको छ अमेरिका —नेपाल नीति अनुसन्धान केन्द्र, वा यु एस— नेपाल पोलिसी रिसर्च सेन्टर,अमेरिकाले नेपालको निर्वाचनका वारेमा गरेको अन्तरक्रिया ।

२०२० सेप्टेम्बर १२ अर्थात् २०७७भदौको २७ गते साँझ । छलफलको विषय थियो—राजनीतिक संस्थाहरु र निर्वाचन सुधारमा देखिएको सङ्कट अर्थात् क्राइसिस इन पोलिटिकल इन्स्टिच्युसन एन्ड एलोक्टोर रिफर्म इन नेपाल ।

हुन त त्यो केन्द्रको पाँचौ शृङ्खलाको अन्तरक्रिया थियो तर सहभागीहरु विद्युतीय सञ्चार माध्यममार्फत् जुटेकाचाहिँ अधिकांश नेपालमा रहेका महानुभावहरु नै हुनुहुन्थ्यो । अझ भनौँ नेपाली कांग्रेससँग सम्बन्धितहरुको नै बाक्लो जमघट थियो । १५०भन्दा बढी सहभागी रहेको अन्तरक्रिया कार्यक्रम वास्तवमा केन्द्रको पाँचौ वार्षिक समारोह पनि थियो जस्तो लाग्यो, यसको औपचारिकतालाई नियाल्दा ।


३. केन्द्रका अध्यक्ष डाक्टर राजन पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वरिष्ठ पत्रकार भगीरथ योगीले गरिरहनु भएको थियो भने सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्दै हुनुहुन्थ्यो केन्द्रकी सदस्य जगदम्बा अधिकारीले ।

उद्देश्य र कार्यक्रममा वारेमा अध्यक्ष पन्त र सदस्य सचिव डाक्टर सुमन पराजुलीले स्पष्ट पार्नु भएको थियो । उहाँहरुको धारणा स्पष्ट थियो—हामीले प्रवासमा बसेर पनि आफे मातृभूमिका वारेमा केही गर्न सकिन्छ कि भनेर यो केन्द्रमार्फत् छलफल चलाउँदै छौँ र यो त्यो शृङखलाको पाँचौ कडी हो ।

खासगरी अध्यक्ष पन्तले आफूहरुले कुनै स्वार्थभन्दा माथि उठेर नेपालमा केही सुधार गर्न सकिन्छ कि भनेर यस्ता कार्यक्रम गर्न सुरु गरेका हाँै र हामीले गर्न सक्ने कुरामा हामी तन मन र धनले सहयोग गर्न तत्पर छौँ ।


४. कार्यक्रम निर्वाचन सुधार र राजनीतिक संस्थाहरुको सुदृढीकरणमा केन्द्रित थियो । निर्वाचन सुधारका वारेमा पहिलो संविधान सभाको निर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोगका प्रमुख आयुक्त भोजराज पोखरेलको कार्यपत्र थियो भने राजनीतिक संस्थाहरुको क्षयीकरणलाई जोगाउनका लागि डाक्टर सुरेन्द्र देवकोटाको निर्मम विश्लेषणसहितको धारणा थियो ।


५. पूर्व प्रमुख आयुक्त पोखरेलको विश्लेषणमा यदि बेलैमा निर्वाचनमा सुधार गरिएन र जनताका विभिन्न समुदाय र सीमान्तीकृत वर्गको राष्ट्रिय निर्णयमा पहुँच पु¥याउन सकिएन भने, मुलुकको राज्य प्रणालीमा अपनत्व जगाउन सकिएन भने गृह युद्धको समेत खतरा औँल्याउनु भएको थियो ।

यसका लागि पूर्ण समानुपातिक निर्वाचन र उमेदवारको छनोटमा दलहरुको विवेकपूर्ण निर्णय नै मुख्य सुधारको पाटो रहेको बताउनु भएको थियो । उहाँले आफ्ना अनुभवसहित र निर्वाचनमा देखिएका विकृतिको राम्रो र वस्तुगत विश्लेषण गर्दै निर्वाचन सुधारका प्रक्रियाहरु तुरुन्त सुरु नगरे आगामी दिनमा मुलुक अरु सङ्कटतर्फ हेलिनेका कुरामा सतर्क गराउनु भएको थियो । उहाँको कार्यपत्रमाथि वरिष्ठ पत्रकार युवरा घिमिरेले टिप्पणी गर्नु भएको थियो ।


६.राजनीतिक संस्थाहरुमा देखिएको प्रजातन्त्रीकरणको क्षयीकरणका वारेमा निर्मम तरिकाले विश्लेषण गर्नुहुने डाक्टर सुरेन्द्र देवकोटा प्रायशः नेपाली कांग्रसका कमी कमजोरी र त्यसको भावी सुदृढीकरणमा केन्द्रित हुनुहुन्थ्यो ।

नेपाली कांग्रेसका आदर्शका रुपमा रहेका व्यक्तिगत स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, वाक स्वतन्त्रता र संगठन स्वतन्त्रताका वरिपरि रहेर प्रजातान्त्रिक संस्थाहरुको विकासलाई भावी दिशा कस्तो हुनुपर्ने भन्नेमा देवकोटाको जोड थियो । मूलतः नेपाली कांग्रेसका उप सभापति, केन्द्रीय सदस्यहरु, सांसदहरु र प्रजातन्त्रवादी विद्वानहरुको सहभागिता रहेकाले पनि देवकोटाले नेपाली कांग्रेसको भावी क्रियाकलापमा नेपालको प्रजातन्त्रको बाटो कस्तो रहने भन्ने निर्धारित हुने कुरामा बढी जोड दिनु भएको थियो ।

उहाको कार्यपत्रमाथि टिप्पणी गर्ने भनिएका पनि राष्ट्रिय मानव अधिकार आयेगकी सदस्य माननीय मोहना अन्सारीले नेपाली कांग्रेसको संगठन र विश्लेषणप्रति कुनै टिप्पणी नगरी पोखरेलको कार्यपत्रमाथि टिप्पणी गर्नुभयो र थप्नुभयो—संसदमा पारित हुने विधेयकहरुमा सरोकारवालाहरुको राय लिइँदैन र एकैदिनमा तिसौँ विधेयकहरु पारित गरिन्छ जसले गर्दा जनताको आफ्ना विधेयकहरुका वारेमा, कानुनका वारेमा जान्न पाउने मानव अधिकारको हनन भएको छ ।

यसमा यदि निर्वाचनमा सुधार भयो भने र संसदमा कानुनका वारेमा छलफल हुने वातावरण बनाउन सांसदहरु लागिपरे भनेमात्र निर्वाचनबाट वा समानुपातिकबाट आउने सांसदहरुको महत्व बढ्ने छ ।


७. राजनीतिक विश्लेषक तथा वरिष्ठ राजनीतिक शास्त्री प्राध्यापक कृष्ण खनालले पनि अहिलेको अवस्थामा राजनीतिक संस्थाहरुका देखिएको क्षयीकरण र अनिर्णयको वन्दी हुने चलनप्रति दुःख व्यक्त गर्दै निर्वाचनमा सुधार नगर्ने हो भने र राजनीतिक संस्थाहरुको सुदृढीकरण नगर्ने हो भने जनतामा प्रजातन्त्रप्रति नै निराशा उत्पन्न हुनेछ भन्नुभयो ।

८. कार्यक्रम लामो थियो । पोलिसी रिसर्च सेन्टरको यो प्रयासलाई , पोखरेलको भावी सुधारका वारेमा मनन गर्न सके र देवकोटाको राजनीतिक सुधारका वारेमा दिएको सुझावलाई मनन गर्न सके पक्कै पनि अहिले देखिएको संकटमा समाधान गर्नका लागि केही उपाय हुने थियो ।

९. यसरी नेपाल बाहिर बसेर पनि नेपालका समस्याहरु प्रति चासो राखेर कार्यक्रम गर्नु र त्यसको सम्पूर्ण लक्ष्य नेपालको भावी विकासको पक्षमा केन्द्रित हुनुलाई राम्रो मान्नुपर्छ र कार्यक्रम आयोजकहरुलाई साधुवाद दिनुपर्छ ।


१०. र अन्त्यमा, सहभागी हुने नेपाली कांग्रेसका नेताहरुले यसबाट बाहिरको चिन्ता र आफ्ना कमी कमजोरीहरुलाई कति मनन गरे, त्यो त भावी दिनमा देखिने छ ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ भाद्र ३१, १२: ४४

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ भाद्र ३१, १२: ४४

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ भाद्र ३१, १२: ४४

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...