
काठमाडौं — बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोटदेखि काभ्रेको भकुण्डेबेँसीसम्मको सडक खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मंगलबार सूचना जारी गर्दै उक्त समयमा पूर्ण रूपमा सवारी आवागमन बन्द गरिएको जनाएको हो। रातिको समयमा यात्रा जोखिमपूर्ण हुने भएकाले यस्तो निर्णय गरिएको प्रशासनले स्पष्ट पारेको छ।
प्रशासनका अनुसार, तोकिएको समय बाहेक पनि वर्षा भएमा रोशी खोला मा आकस्मिक बाढी आउने सम्भावना रहने भएकाले आवश्यकता अनुसार जुनसुकै बेला अल्पकालीन रूपमा यातायात अवरुद्ध गर्न सकिनेछ।
सोमबार राति रोशी खोलामा आएको बाढीका कारण पाँच वटा माइक्रोबसमा सवार ८९ जना यात्रु फसेका थिए। उनीहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी को संयुक्त टोलीले उद्धार गरेको थियो।
यसैबीच, प्रहरीको निर्देशन अवज्ञा गर्दै जोखिमपूर्ण अवस्थामा सवारी चलाएको आरोपमा पाँच जना माइक्रोबस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
बर्सातको समयमा उक्त मार्ग भएर यात्रा गर्दा आवश्यक सूचना लिएर तथा सुरक्षाकर्मीको सुझाव पालना गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।
उल्लेखनीय छ, गत वर्षको बाढीले क्षति पुर्याएको सडक खण्ड अझै पूर्ण रूपमा पुनर्निर्माण नभएकाले हाल खोलाको बाटो हुँदै सवारी सञ्चालन भइरहेको छ। जसका कारण बाढी आउने बित्तिकै सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।
काठमाडौं : नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न गरेको...
वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगन्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला...
काठमाडौँ : परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित ब्रड पिकमा भएको हिम पहिरोमा परेका नेपालीसहितका आरोहीको खोज तथा उद्धारका लागि पाकिस्तान सरकारसँग समन्वय...