काभ्रेमा कांग्रेसको जरा अभियानले लियो तीव्रता – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

काभ्रेमा कांग्रेसको जरा अभियानले लियो तीव्रता

काभ्रे : काभ्रे जिल्लामा नेपाली कांग्रेसले सञ्चालन गरिरहेको ‘जरा अभियान’ पछिल्लो समय तीव्र रूपमा अघि बढाइएको छ । पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै सदस्यता नवीकरण, क्रियाशील सदस्यता अध्यावधिक तथा संगठन सुदृढीकरणका गतिविधि जिल्लाभर विस्तार गरिएको जनाइएको छ ।

पाक्षिक प्रतिवेदनअनुसार वैशाख १ देखि १५ गतेसम्म जिल्लामा विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् । अभियानअन्तर्गत २०८१ फागुन २१ गते सम्पन्न संघीय निर्वाचनपछिको राजनीतिक अवस्था, स्थानीय नेता–कार्यकर्ता र उम्मेदवारबीच समन्वय तथा समीक्षा गर्ने उद्देश्यसमेत राखिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले तोकेको कार्यादेशअनुसार काभ्रेमा खटिएका केन्द्रीय प्रतिनिधिहरूले जिल्ला नेतृत्वसँग समन्वय गरी अभियानलाई सक्रिय बनाएका हुन् । प्रतिनिधिहरूले जिल्ला सभापति तीर्थ लामा, वरिष्ठ नेता राजेन्द्र खरेललगायत नेताहरूसँग भेटघाट तथा छलफल गरी अभियानबारे जानकारी गराएका थिए । अन्य नेताहरूसँग पनि टेलिफोनमार्फत समन्वय गरिएको उल्लेख छ ।

वैशाख २ गते बसेको जिल्ला कार्यसमितिको नियमित बैठकमा जरा अभियानबारे जानकारी गराइएको थियो । बैठकमा जिल्ला सभापति तीर्थ लामा, क्षेत्र नं. १ का प्रत्याशी गुणराज मोक्तानलगायत नेताहरू सहभागी थिए । बैठकले वडा तहसम्म प्रतिनिधि परिचालन गर्ने विषयमा छलफल गरेको जनाइएको छ ।

त्यसैगरी वैशाख ७ गते बागमती प्रदेश कार्यसमितिले आयोजना गरेको चुनावी समीक्षा तथा महामन्त्री प्रदीप पौडेलको जरा अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा समेत काभ्रेका प्रतिनिधिहरू सहभागी भएका थिए ।

वैशाख ११ गते पार्टीको डिजिटल अध्यावधिक प्रणालीबारे छलफल कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विनोद तिमल्सिना, नगेन्द्र अधिकारी, विद्यासागर लामा, पारस कायस्थ र आशिष वाग्लेलगायत सहभागी थिए । उनीहरूबीच डिजिटल माध्यमबाट सदस्यता अध्यावधिक गर्ने प्रक्रियाबारे प्राविधिक छलफल गरिएको थियो ।

वैशाख १२ गते क्षेत्र नं. १ को क्षेत्रीय भेलामा क्षेत्रीय सभापति दिनेश लामा, जिल्ला सभापति तीर्थ लामा, क्षेत्र नं. १ का प्रत्याशी गुणराज मोक्तानसहित २ सय ८१ जनाको सहभागिता रहेको प्रतिवेदनमा उल्लेख छ । भेलामा वडा तथा पालिका सभापतिहरूलाई जरा अभियानबारे अभिमुखीकरण गरिनुका साथै डिजिटल अध्यावधिकसम्बन्धी जानकारी दिइएको थियो ।

यस्तै, क्षेत्र नं. २ मा आयोजित भेलामा क्षेत्रीय सभापति महेश खरेल, केन्द्रीय सदस्यहरू तथा क्षेत्र नं. २ का प्रत्याशी मधु आचार्यसहित करिब १ सय २० जना सहभागी भएका थिए। कार्यक्रममा डिजिटल सदस्यता व्यवस्थापन र कार्ड अध्यावधिकबारे पालिका सभापतिहरूलाई प्राविधिक जानकारी दिइएको जनाइएको छ ।

प्रतिवेदनमा अभियानका क्रममा केही चुनौतीसमेत औँल्याइएको छ । सदस्यता नवीकरण र अध्यावधिक प्रक्रियाबारे भ्रम, संगठनात्मक कमजोरी, गुटगत प्रवृत्ति तथा केही कार्यक्रममा केन्द्रीय र प्रदेश नेताहरूको न्यून उपस्थितिलाई समस्याका रूपमा उल्लेख गरिएको छ । यद्यपि, कार्यकर्ताको सहभागिता र उत्साह भने सकारात्मक रहेको प्रतिवेदनमा जनाइएको छ ।

काभ्रेमा सञ्चालित जरा अभियानको समन्वय तथा सहजीकरणमा केन्द्रीय प्रतिनिधि गीता सत्याल र अर्जुनप्रसाद उप्रेती सक्रिय रहेका छन् ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८३ बैशाख २७, १८: ४५

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०८३ बैशाख २७, १८: ४५

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०८३ बैशाख २७, १८: ४५

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...