
धनगढी : विशेष महाधिवेशनबाट आएको गगन-विश्व नेतृत्वले चुनावी प्रतिज्ञा पत्रमा उल्लेख्य गरेअनुसार आफ्नै नेता कार्यकर्तालाई प्रशिक्षित गर्ने उद्देश्य अनुसार शनिबार धनगढी कैलालीमा गरेको प्रशिक्षण कार्यक्रममा १५ बुँदे संकल्प प्रस्ताव पास गरेको छ ।
कांग्रेसले सुदूरपश्चिम प्रदेशका स्थानीय सरकारहरूलाई नागरिकप्रति थप उत्तरदायी, सुशासनयुक्त र परिणाममुखी बनाउने उद्देश्यले १५ बुँदे ‘सुदूरपश्चिम संकल्प’ सार्वजनिक गरेको हो । नेपाली कांग्रेस, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा वैशाख २६ र २७ गते धनगढीमा भएको प्रदेशस्तरीय विशेष संवादपछि यो संकल्प प्रस्ताव पारित गरिएको हो ।
नेपाली कांग्रेसको नेतृत्व रहेका स्थानीय तहका जनप्रतिनिधि र पार्टी नेतृत्वबीच भएको विस्तृत छलफलपछि तयार पारिएको यस संकल्पमा जनसरोकारका विषयलाई उच्च प्राथमिकता दिइएको छ ।
कांग्रेसले नागरिकको अधिकारलाई सम्मान गर्दै सार्वजनिक सेवा प्रवाहलाई सरलीकृत गर्ने प्रतिबद्धता जनाएको छ । विशेषगरी अपाङ्गता भएका व्यक्ति, अशक्त, ज्येष्ठ नागरिक, गर्भवती र दीर्घ रोगीहरूका लागि ‘घर-आँगनमै सेवा’ र आधारभूत स्वास्थ्य जाँचको व्यवस्थालाई थप व्यवस्थित बनाइने संकल्पमा उल्लेख छ ।
स्थानीय कच्चा पदार्थको प्रयोग र रोजगारी सिर्जना गर्ने उद्योगलाई कर सहुलियत दिने नीति लिइएको छ । महिलाहरूको परम्परागत सीपलाई उद्यममा बदल्न “उद्यमी आमा” जस्ता कार्यक्रम सञ्चालन गरिने र वैदेशिक रोजगारबाट फर्किएकाहरूको सीपलाई स्थानीय विकासमा उपयोग गरिनेछ ।
स्थानीय सरकारले असार १० गतेभित्र अनिवार्य रूपमा बजेट पेश गर्ने र योजना तर्जुमा गर्दा अनिवार्य ७ चरणहरू पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । ‘प्रोजेक्ट बैंक’ मार्फत मात्र योजना छनोट गर्ने, अनुत्पादक क्षेत्रमा लगानी नगर्ने र शून्य बेरुजुको लक्ष्य राख्ने संकल्प गरिएको छ ।
छाउपडी, बालविवाह, बोक्सी प्रथा, जातीय विभेद र छुवाछुत जस्ता सामाजिक कुरीति र अन्धविश्वास नियन्त्रणमा कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने बताएको छ । साथै, लागुपदार्थ दुर्व्यसनी र मद्यपान नियन्त्रणलाई प्राथमिकता दिइनेछ ।
सुदूरपश्चिममा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूको लगत संकलन, प्रमाणीकरण र पूर्जा वितरणका लागि पहलकदमी लिइने संकल्पमा उल्लेख छ । मुक्त हलिया, मुक्त कमैया र वादी समुदायको जीविकोपार्जनका लागि विशेष प्राथमिकताका कार्यक्रम ल्याइनेछ ।
गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा आन्तरिक लगानी बढाउने, स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन “बीमा ब्रान्डिङ” गर्ने र सुदूरपश्चिमका पर्यटकीय स्थलहरूको प्रवर्द्धनमा साझा पहल गर्ने योजना अघि सारिएको छ ।
संविधानको मर्म अनुसार ‘तीन स’ (समन्वय, सहकार्य र सहअस्तित्व) को सिद्धान्तमा आधारित भएर संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय गर्न आग्रह गरिएको छ । संघीयता कार्यान्वयनमा बाधक रहेका कानुन परिमार्जन गर्न र कर्मचारी व्यवस्थापनलाई छिटो छरितो बनाउन संघ सरकारको ध्यानाकर्षण गराइएको छ ।
नेपाली कांग्रेसले यो संकल्पमार्फत सुदूरपश्चिमका स्थानीय सरकारलाई नागरिकको सच्चा भरोसाको केन्द्र बनाउने र समृद्धिको मार्गमा अघि बढ्ने प्रण गरेको छ ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...