
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनको विषयलाई राजनीतिक लोकप्रियता कमाउने माध्यम नबनाउन सरकारलाई चेतावनी दिएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा संविधान संशोधनका लागि सुझाव संकलन गर्न आयोजित कार्यक्रममा बोल्दै उनले संविधान संशोधन आवश्यक विषय भए पनि त्यसलाई हतार, सनक वा राजनीतिक ‘स्टन्ट’का रूपमा अघि बढाउन नहुने बताएका हुन्।
थापाले संविधानलाई प्रत्येक १० वर्षमा पुनरावलोकन गर्ने व्यवस्था रहेको स्मरण गराउँदै संशोधन प्रक्रिया अत्यन्त संवेदनशील र जिम्मेवार ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिए। उनले ‘मैले गर्न खोजेको थिएँ, अरूले गर्न दिएनन्’ भन्ने सन्देश दिनका लागि मात्रै संशोधनको बहस उठाइनु उचित नहुने टिप्पणी गरे।

उनले संविधान संशोधनलाई सहमति र सहकार्यको आधारमा अघि बढाउनुपर्ने धारणा राख्दै राष्ट्रिय सभा र प्रतिनिधि सभाको प्रतिनिधित्व रहने गरी संसद्भित्र सर्वदलीय संयन्त्र गठन गर्न प्रस्ताव गरे। यस्तो संयन्त्रमार्फत साझा धारणा निर्माण गर्न सके राजनीतिक दलहरूबीच विश्वास र सहकार्यको वातावरण बलियो बन्ने उनको भनाइ थियो।
थापाले लोकप्रिय नाराका आधारमा होइन, मुलुक र लोकतन्त्रको दीर्घकालीन हितलाई केन्द्रमा राखेर संविधान संशोधनका विषयमा निर्णय लिनुपर्ने बताए। उनले नेपाली कांग्रेस सत्य र सही पक्षमा उभिने पार्टी भएकाले आलोचना वा समर्थनको हिसाबभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिने स्पष्ट पारे।
उनका अनुसार विगतका राजनीतिक अनुभव र अभ्यासबाट सिकेका विषयलाई थप परिष्कृत र समृद्ध बनाउँदै लैजान कांग्रेस गम्भीर रूपमा लागेको छ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...