जाइकाको अनुदानमा बीपी राजमार्गको पिप्ले–बर्खेखोला सडक दुई लेनमा निर्माण हुने – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

जाइकाको अनुदानमा बीपी राजमार्गको पिप्ले–बर्खेखोला सडक दुई लेनमा निर्माण हुने

काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्मको बाँकी सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा दुई लेनमा निर्माण गरिने भएको छ ।करीब २ अर्ब ६० करोड रुपैयाँको अनुदानमा निर्माण हुन लागेको ३.२ किलोमिटर सडक खण्डको ठेक्का जापानी कम्पनी शिमिजु कर्पोरेसनले पाएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए । उक्त सडकको एक कार्यक्रमबीच शिलान्याससमेत गरिएको छ ।

वि.सं. २०८१ असोजमा आएको बाढीले भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको बीपी राजमार्गको ३०.५ किलोमिटर सडक खण्डमा ठूलो क्षति पुर्‍याएको थियो । क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि २७.३ किलोमिटर क्षेत्रमा विभिन्न प्याकेजमा ठेक्का प्रक्रिया अघि बढाइएको हो ।

काभ्रेतर्फ तीन र सिन्धुलीतर्फ एक गरी विभिन्न प्याकेजमा निर्माण सम्झौता गरिएको जनाइएको छ । सिन्धुलीतर्फ बर्खेखोलादेखि गजुलीदहसम्मको ५ किलोमिटर सडक खण्ड खरिढुंगा घिसिङ–क्षितिज जेभीले भ्याटबाहेक ५५ करोड रुपैयाँमा निर्माण गरिरहेको सिन्धुली सडक डिभिजन कार्यालय खाल्टेका प्रमुख पारसमणिले बताए ।यस्तै, काभ्रेतर्फ भकुण्डेबेँसीदेखि चारसयबेँसीसम्मको ११ किलोमिटर सडक खण्ड लामा–नवकान्तिपुर जेभीले १ अर्ब १४ करोड रुपैयाँमा निर्माण गरिरहेको छ ।

चारसयबेँसीदेखि डाला बेँसीसम्मको ९ किलोमिटर सडक खण्ड खानी–कमल जित–एवान जेभीले भ्याटबाहेक १ अर्ब २२ करोड रुपैयाँमा निर्माण गर्ने गरी २०८२ असारमा सम्झौता गरेको थियो ।

त्यसैगरी डाला बेँसीदेखि पिप्लेसम्मको २.३ किलोमिटर सडक खण्ड उमा एन्ड कम्पनी–भण्डारी–अमर ज्योति जेभीले ६८ करोड ८० लाख रुपैयाँमा २०८२ कात्तिकमा ठेक्का सम्झौता गरेको जनाइएको छ ।जाइकामार्फत निर्माण हुने सडक खण्डको शिलान्यास पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल र नेपालका लागि जापानका राजदूत मायदा तोरुले संयुक्त रूपमा सिन्धुली–काभ्रे सीमा क्षेत्र बर्खेखोलामा गरेका हुन् ।

कार्यक्रममा जाइका नेपालका मुख्य प्रतिनिधि मात्सुजाकी मिजुरी, सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहरा दाहाल, उपाध्यक्ष कपिलकुमार कोइराला, रोशी गाउँपालिका अध्यक्ष दिनेश लगायत जनप्रतिनिधि, निर्माण कम्पनीका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।स्थानीयवासीले नेपाल सरकारमार्फत निर्माण भइरहेका सडक र जापान सरकारको अनुदानमा बन्न लागेको सडकको गुणस्तर, प्रविधि तथा सौन्दर्यमा ठूलो अन्तर देखिने बताएका छन् । उनीहरूले सडक निर्माणमा प्रभावकारी अनुगमन आवश्यक रहेकोमा जोड दिएका छन् । निर्माण हुने सडक खण्डको काम वर्षा सकिएपछि तीव्र रूपमा अघि बढाइने जनाइएको छ ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०८३ जेष्ठ १४, १०: ५४

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०८३ जेष्ठ १४, १०: ५४

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०८३ जेष्ठ १४, १०: ५४

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...