चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा मन्त्री खनालले जेठ ३१ देखि असार ३ गतेसम्म चीनको भ्रमण गरेका हुन्।

भ्रमणका क्रममा बेइजिङमा चीनका विदेशमन्त्री वाङ्ग यीसँग भएको द्विपक्षीय भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षबारे विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुवै पक्षले आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

भेटका क्रममा नेपालले ‘एक चीन’ नीतिप्रतिको आफ्नो अडान पुनः दोहोर्‍याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारेको थियो। चिनियाँ पक्षले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति समर्थन जनाउँदै सुशासन र आर्थिक विकासका प्राथमिकतामा सहयोग निरन्तर रहने विश्वास दिलाएको मन्त्रालयले जनाएको छ।

दुवै देशबीच पूर्वाधार विकास, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि, डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल तथा पेट्रोलियम र प्राकृतिक ग्यास अन्वेषणलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो। साथै विगतमा भएका सहमतिहरूको कार्यान्वयनलाई तीव्रता दिने र क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्य बढाउने समझदारी बनेको छ।

भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइसिङ र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का अध्यक्ष वाङ्ग हुनिङसँग पनि भेटवार्ता गरेका थिए। भेटमा नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको बताइएको छ।

बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित ‘इनभेष्टमेन्ट कन्फरेन्स’ मा सहभागी हुँदै मन्त्री खनालले चिनियाँ व्यवसायी तथा लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका थिए। उनले नेपाल सरकार लगानी तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै साझा समृद्धिका लागि साझेदारी बढाउन आग्रह गरेका थिए।

त्यसैगरी उनले चीनस्थित नेपाली समुदायसँग अन्तरक्रिया गर्दै सुशासन, आर्थिक विकास र समृद्धिलाई सरकारको प्रमुख प्राथमिकता रहेको जानकारी गराएका थिए। उनले बेइजिङस्थित नेपाली दूतावासको कामकारबाहीबारे जानकारी लिँदै नेपाल–चीन सम्बन्ध सुदृढीकरण, आर्थिक कूटनीति प्रवर्द्धन तथा चीनमा रहेका नेपालीको हित संरक्षणमा सक्रिय हुन दूतावासका अधिकारीहरूलाई निर्देशन दिएका छन्।

भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङस्थित नेपाली कलाकार तथा वास्तुविद् अरनिकोद्वारा डिजाइन गरिएको ऐतिहासिक श्वेत स्तूप (डागोबा) को अवलोकन गरेका थिए। साथै चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको इन्स्टिच्युट अफ टिबेटन प्लेटो रिसर्च र झोङ्गगुआनछुन साइन्स पार्कको भ्रमण गरी विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा चीनले हासिल गरेको प्रगतिबारे जानकारी लिएका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाट तथा अन्तरक्रियाले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा विकास कूटनीतिलाई प्रवर्द्धन गर्ने सरकारको उद्देश्यमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। मन्त्री खनालले भ्रमण सफल बनाउन सहयोग पुर्‍याएकोमा चीन सरकार तथा सम्बन्धित सबै पक्षलाई धन्यवाद व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८३ असार ४, ०७: २१

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८३ असार ४, ०७: २१

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८३ असार ४, ०७: २१

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...