राजस्व लक्ष्य पूरा गर्न अर्थमन्त्री वाग्लेको निर्देशन : ‘मिसन १६ खर्ब’ सफल बनाउन इमानदारीपूर्वक काम गर्न आग्रह – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

राजस्व लक्ष्य पूरा गर्न अर्थमन्त्री वाग्लेको निर्देशन : ‘मिसन १६ खर्ब’ सफल बनाउन इमानदारीपूर्वक काम गर्न आग्रह

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त नेतृत्वलाई सरकारले निर्धारण गरेको राजस्व संकलन लक्ष्य हासिल गर्न इमानदारी, पारदर्शिता र प्रभावकारिताका साथ काम गर्न निर्देशन दिएका छन्।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित भेटघाट कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भुसाल, आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल तथा भन्सार विभागका उपमहानिर्देशक प्रेमप्रसाद आचार्यलाई कार्यक्षेत्रमा खटिनुअघि निर्देशन दिँदै अर्थमन्त्री वाग्लेले ‘मिसन १६ खर्ब’ सफल बनाउन सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए।

उनले व्यवसायमैत्री वातावरण कायम राख्दै राजस्व संकलनको लक्ष्य पूरा गर्न जोड दिँदै राजस्व चुहावट नियन्त्रण, स्वैच्छिक कर दाखिला वृद्धि तथा करदातालाई कर तिर्न प्रोत्साहित गर्ने वातावरण निर्माण गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

अर्थमन्त्री वाग्लेले भन्सार तथा राजस्व प्रशासनलाई सूचना प्रविधिमा आधारित, पारदर्शी र थप प्रभावकारी बनाउनु आवश्यक रहेको उल्लेख गर्दै प्रविधिको अधिकतम प्रयोगमार्फत राजस्व चुहावट नियन्त्रण र सेवा प्रवाहमा सुधार ल्याउन निर्देशन दिए।

उनले आन्तरिक आय वृद्धि गर्न सके मुलुकको बाह्य ऋणमाथिको निर्भरता घट्ने र आफ्नै स्रोतबाट विकास निर्माणका कार्यक्रमलाई गति दिन सकिने बताए। सक्षम र अनुभवी प्रशासनिक नेतृत्वलाई राजस्वसँग सम्बन्धित महत्वपूर्ण निकायमा जिम्मेवारी दिइएको उल्लेख गर्दै आगामी ६ देखि ८ महिनाभित्र सकारात्मक परिणाम देखिने विश्वास पनि व्यक्त गरे।

गत असार १८ गतेको मन्त्रिपरिषद् बैठकले सहसचिव यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्यलाई अर्थ मन्त्रालयमा सरुवा गरेको थियो। त्यसपछि असार २२ गते मन्त्रालयमा हाजिर भएका उनीहरूलाई क्रमशः भन्सार विभागको महानिर्देशक, आन्तरिक राजस्व विभागको महानिर्देशक तथा भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको हो।

नयाँ जिम्मेवारी सम्हालेका तीनै अधिकारीले अर्थमन्त्रीको निर्देशनलाई इमानदारीपूर्वक कार्यान्वयन गर्दै राजस्व संकलन सुधार, चुहावट नियन्त्रण र राजस्व प्रणालीलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित समाचार

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
  • २०८३ असार २४, ०८: १७

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
  • २०८३ असार २४, ०८: १७

काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ असार २४, ०८: १७

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...