
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार धनकुटामा पत्रकार सम्मेलन आयोजना गरी २०७७ सालदेखि हालसम्म उद्योगी, व्यवसायी तथा जिल्लाको समग्र आर्थिक विकासका क्षेत्रमा भएका गतिविधिबारे जानकारी गराएको हो।
सङ्घका अध्यक्ष विजय सन्तोषी राईले कोरोना महामारीलगायत विभिन्न संकटका बीच उद्योगी, व्यवसायी तथा सर्वसाधारणको हितमा काम गरिएको बताए। कोभिड–१९ का कारण करिब अढाई वर्ष प्रभावित बनेको व्यापारिक क्षेत्रलाई सहज बनाउन अत्यावश्यक खाद्यान्न तथा उपभोग्य सामग्रीको आपूर्ति र बिक्री वितरणलाई निरन्तरता दिन समन्वय गरिएको उनले जानकारी दिए।

महामारीका बेला व्यवसायी तथा सर्वसाधारणलाई संक्रमणबाट जोगाउन मास्क, सेनिटाइजर, सिल, पीपीई, थर्मल गनलगायत स्वास्थ्य सामग्री वितरण गरिएको उनले बताए। सञ्चारकर्मी, स्वास्थ्यकर्मी, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीलाई समेत स्वास्थ्य सामग्री उपलब्ध गराइएको थियो।
कोरोनाका कारण व्यवसायीले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेपछि घरभाडा छुटका लागि घरधनीसँग प्रत्यक्ष भेटघाट तथा छलफल गरिएको अध्यक्ष राईले बताए। सङ्घको पहलमा ३२७ जना घरधनीले व्यवसायीलाई घरभाडामा छुट दिएको र उनीहरूलाई सम्मान तथा अभिनन्दन गरिएको उनले जानकारी दिए।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाको किस्ता बुझाउने समय थप गर्न, करमा सहुलियत दिन तथा व्यवसायीलाई राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल र ज्ञापनपत्रमार्फत पहल गरिएको सङ्घले जनाएको छ। उद्योगी तथा व्यवसायीको पीसीआर परीक्षणको व्यवस्था गर्नुका साथै संक्रमित भएकाहरूलाई उपचारमा समेत सहजीकरण गरिएको अध्यक्ष राईले बताए।
महामारीको समयमा जिल्लाका विभिन्न बजार क्षेत्रमा तरकारी, दूध, कुखुराको मासु तथा अन्य दैनिक उपभोग्य सामग्री चोक–चोक र घरघरमा उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले बताए। यसका लागि सङ्घका पदाधिकारी तथा सदस्यहरू सक्रिय रूपमा परिचालित भएका थिए।
अध्यक्ष राईका अनुसार सङ्घले उद्योग, व्यापार, कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रको समग्र विकासका लागि विभिन्न सरोकारवाला निकायसँग सहकार्य र समन्वय गर्दै आएको छ। व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित सरकारी कार्यालय तथा स्थानीय तहसँग नियमित छलफल गरिएको उनले बताए।

सङ्घले करदाता सेवा कार्यालय धनकुटामा सेवा केन्द्र सचिवालयमा हेल्पडेस्क स्थापना गरी उद्योगी, व्यवसायी तथा करदातालाई सेवा प्रदान गर्दै आएको जनाएको छ। हेल्पडेस्कमार्फत व्यवसायीका गुनासा सुन्ने र तत्काल समाधानका लागि पहल गर्ने गरिएको अध्यक्ष राईले बताए।
त्यसैगरी, प्रत्येक वर्ष धनकुटाका विभिन्न बजार केन्द्रमा कर शिक्षा कार्यक्रम सञ्चालन, व्यवसायीका घरदैलोमा नापतौल शिविर आयोजना गरी दर्ता तथा नवीकरण सेवा उपलब्ध गराउने काम गरिएको उनले जानकारी दिए।
धनकुटामा लगानी भित्र्याउन सम्भावित लगानीकर्तासँग छलफल तथा अन्तरक्रिया गरिएको सङ्घले जनाएको छ। व्यवसायीको सुरक्षाका लागि प्रहरी प्रशासनसँगको समन्वयमा जिल्लाका विभिन्न बजार क्षेत्रमा सीसीटीभी क्यामेरालगायत सुरक्षा सामग्री जडानमा समेत सहयोग गरिएको अध्यक्ष राईले बताए।
सल्लेरीस्थित सङ्घको च्याम्बर भवनमा पदाधिकारी तथा कार्यसमिति सदस्यका लागि छुट्टाछुट्टै कार्यकक्ष निर्माण गरी उद्योगी तथा व्यवसायीका कामलाई सहज बनाइएको उनले जानकारी दिए। भवनमा रङरोगन गर्नुका साथै सभाहललाई व्यवस्थित बनाउन सिलिङ फ्यानलगायतका संरचना थप गरिएको छ।
धनकुटामा उत्पादित कृषिजन्य तथा हस्तकलाका सामग्रीसहित स्थानीय उत्पादनको बजार प्रवद्र्धनका लागि धनकुटा महोत्सव, औद्योगिक प्रदर्शनी, बीटुबी कार्यक्रम तथा विभिन्न प्रवद्र्धनात्मक अभियान सञ्चालन गरिएको सङ्घले जनाएको छ।
अध्यक्ष राईले आफ्नो कार्यकालमा उद्योगी तथा व्यवसायीको हकहितका साथै जिल्लाको आर्थिक गतिविधि विस्तारका लागि उल्लेखनीय काम भएको दाबी गरे। व्यवसायीका समस्या समाधान गर्न सबै पक्षसँग सहकार्य र समन्वयलाई प्राथमिकता दिइएको उनको भनाइ थियो।
पत्रकार सम्मेलनमा सङ्घका वरिष्ठ उपाध्यक्ष मनकुमारी तारा तितुङले २०७७ सालदेखि हालसम्मका गतिविधिबारे जानकारी गराएकी थिइन्। कार्यक्रमको सञ्चालन कार्यवाहक महासचिव राम रायमाझीले गरेका थिए।
सो अवसरमा सङ्घले संस्थामा महत्वपूर्ण योगदान पुर्याउने पूर्वअध्यक्षहरू राजेन्द्रबहादुर प्रधान, विनोद प्रधान, नरेन्द्र कार्की, लालचन्द्र गोङ्गवा तामाङ र उमेश घिमिरेलाई सम्मान गरेको थियो।
त्यसैगरी धनकुटामा लगानी गर्ने व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरू पूर्वडीआईजी दिनेश अमात्य, रामनारायण प्रसाद राम, डा. खगेन्द्र कटवाल, युवा व्यवसायी भविषेक कर्मचारी र महिला उद्यमी मनु लिम्बूलाई समेत सम्मान तथा अभिनन्दन गरिएको सङ्घले जनाएको छ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष विदुर खवास, पूर्वअध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ तथा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उपस्थिति थियो। कार्यक्रममा सङ्घका तर्फबाट सञ्चारकर्मीहरूलाई ढाकाटोपी तथा मखमली लगाएर सम्मानसमेत गरिएको थियो।
पत्रकार सम्मेलनमा धनकुटा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष निर्मला श्रेष्ठ कोषाध्यक्ष रुपेश श्रेष्ठ कार्यकारी सदस्यहरू अम्बिका धमला, रिदम श्रेष्ठ नवीन श्रेष्ठ, महेन्द्र थापा, लिजा श्रेष्ठ, देव विश्वकर्मा, उज्ज्वल कर्मचारी लगायत कार्यकारी सदस्यहरूको उपस्थिति रहेको थियो।

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...