सार्क मुलुकका परराष्ट्रमन्त्रीहरुको भर्जुअल बैठकः सुध्रेला त छिमेकी बिचकाे सम्बन्ध ? – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

सार्क मुलुकका परराष्ट्रमन्त्रीहरुको भर्जुअल बैठकः सुध्रेला त छिमेकी बिचकाे सम्बन्ध ?


नयाँ विकल्प
काठमाडाैं – दक्षिण एसियाली सहयोग संगठन (सार्क) मुलुकका परराष्ट्रमन्त्रीहरुको भर्जुअल बैठक बिहीबार सम्पन्न भएको छ । सार्कको वर्तमान अध्यक्ष नेपालको पहलमा आयोजना गरिएको सो बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गरेका थिए ।

भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण दक्षिण एसियका मुलुकलाइ जाेडने फाेरम सार्क अस्तित्वकाे संकटमा छ । हरेक वर्ष संयुक्त राष्ट्रसंघको महासभा बैठकको साइडलाइनमा सार्क मुलुकका परराष्ट्रमन्त्रीहरुबीच अनौपचारिक बैठक गर्ने परम्परा छ ।

सार्क स्थापना भएको ३५ वर्ष पुगेको छ तर यसले अपेक्षाकृत गति भने लिन सकेको छैन । यस पछाडिको एउटा मुख्य कारण भारत–पाकिस्तान तनाब हो । यसपटक महासभाको बैठक नै भर्जुअल भएका कारण परराष्ट्रमन्त्रीहरुको साइडलाइन बैठक पनि भर्जुअल नै गरिएको हो ।

सार्कको वर्तमान अध्यक्षको हैसियतले नेपालले चार वर्षयता सार्क सम्मेलन आयोजना गर्नका लागि निरन्तर पहल गरिरहेको छ । नेपालले सन् २०१७, २०१८ र सन् २०१९ मा न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभा बैठकमा सहभागी हुन गएका सार्क मुलुकका परराष्ट्रमन्त्रीहरुको अनौपचारिक बैठक आयोजना गरेको थियो ।

बिहीबारको भर्चुअल बैठक त्यसैको निरन्तरता हो । प्रत्येक बैठकमा नेपालले सबै सदस्य मुलुकलाई सार्क सम्मेलनको वातावरण बनाउन आग्रह गरिरहेको छ । बैठकमा आठै देशका परराष्ट्र मन्त्रीहरुले सहभागिता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकलाई सम्वोधन गदै मन्त्री ज्ञवालीले १९ औं सार्क सम्मेलन सकेसम्म छिटो गर्नका लागि सम्भावित सबै विकल्पहरु पहिल्याउनको सार्कका समकक्षीहरुलाई आग्रह गरेका थिए । ज्ञवालीले सार्कलाई नयाँ गति दिन आवश्यक रहेको बताए ।

उनले भने, ‘हामीले सार्कलाई नतिजामुखी र प्रभावकारी क्षेत्रिय संस्था बनाउन आवश्यक छ, जसले यस क्षेत्रमा जनताको जीवनमा स्पष्ट देखिने परिवर्तन ल्याउन सकोस् ।’बैठकलाई सम्वोधन गर्दै भारतीय विदेशमन्त्री एस. जयशंकरले भारतको ‘छिमेक पहिलो’ नीतिलाई पुनः जोड दिएका थिए ।

उनले भने, ‘भारत कनेक्टेड, एकीकृत, सुरक्षित र समृद्ध दक्षिण एसिया निर्माणका लागि प्रतिवद्ध रहेको छ ।’ बैठकमा पनि भारतीय विदेशमन्त्री जयशंकरले पाकिस्तानप्रति लक्षित गर्दै सीमापार आतंकवाद, कनेक्टिभिटी परियोजनाहरु अबरुद्ध गर्ने प्रवृत्ति र ब्यापार अवरोध सार्कका मुख्य तीन चुनौती भएको र त्यसलाई पराजित गर्न आवश्यक रहेको बताएका थिए ।

तर, नेपालले आयोजना गर्ने बैठकहरुमा भारत र पाकिस्तानका परराष्ट्रमन्त्रीहरुको सहभागिता भने समस्याग्रस्त हुने गरेको छ । एक मुलुकको परराष्ट्रमन्त्रीले बोल्दा अर्काे मुलुकको परराष्ट्र मन्त्री बाहिरिने अथवा एक पक्ष समयमा नै बैठकमा सहभागी नहुने परिपाटी देखिएको छ ।

बिहीबारको भर्जुअल बैठक बहिष्कार नै भएन, यद्यपि सामान्य आरोप प्रत्यारोप भने भयो ।बैठकलाई सम्वोधन गर्दै पाकिस्तानका परराष्ट्रमन्त्री शाह मोहमद कुरैसीले सार्कको १९ औं शिखर सम्मेलन आयोजना गर्न पाकिस्तान आतुर रहेको बताएका थिए ।

अघिल्लो वर्ष भारतले कश्मीरलाई समेटेर जारी गरेको नयाँ नक्साप्रति संकेत गर्दै उनले विवादित भूमिमा लिइने एकतर्फी निर्णयले क्षेत्रिय शान्ति र स्थायित्वलाई असर गर्ने बताए । उनले सार्कलाई सफल बनाउन पाकिस्तानले सधैं महत्वपूर्ण भूमिका खेल्नेसमेत बताए ।

सन् २०१६ को सेप्टेम्बर तेस्रो साता कश्मीरको उरीमा रहेको भारतीय सैन्य क्याम्पमा आतंकवादी हमला भएपछि सो वर्षको नोभेम्बर ९ र १० मा इस्लामावादमा तय भएको १९ औं सार्क सम्मेलनमा भारतले आफू सहभागी नहुने बताएपछि सम्मेलन अनिश्चितकालका लागि स्थगित भएको थियो ।

भारतले सो आक्रमणमा पाकिस्तानले आश्रय दिएका आतंकवादीको सहभागिता भएको आरोप लगाएको थियो तर पाकिस्तानले यसलाई खण्डन गर्दै आएको छ ।त्यसपछि विगत चार वर्षमा सार्क सम्मेलनको स्थल इस्लामावादबाट अन्य ठाउँमा सार्ने विषयमा समेत छलफल नभएको भने होइन तर पाकिस्तान र अन्य मुलुक त्यसलाई मान्न तयार छैनन् ।

पछिल्ला वर्षहरुमा भारत र पाकिस्तानबीच विभिन्न कारणले सम्वन्ध झन् तिक्ततातर्फ अगाडि बढीरहेको छ जसको प्रत्यक्ष असर सार्कमा परेको छ । सार्कका अन्य सदस्य राष्ट्रहरु शिखर सम्मेलनका लागि तयार भए पनि भारतले भने त्यसका लागि ‘क्षेत्रीय वातावरण अनुकूल नरहेको’ बताउँदै आएको छ ।

विशेषत उसले भारत विरोधी गतिविधि गर्ने आतंकवादी समूहलाई पाकिस्तानले सहयोग गर्ने गरेको आरोप लगाउने गरेको छ, जुन आरोपलाई पाकिस्तानले खारेज गर्ने गरेको छ । यद्यपि पछिल्लो समयमा केही सकारात्मक संकेतहरु देखिएका छन् ।

गत मार्च महिनामा भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले कोभिड–१९ का कारण सिर्जित समस्या समाधान गर्न सार्क मुलुकहरुको बीचमा समन्वयको आवश्यकता औल्याउँदै राज्य र सरकार प्रमुखहरुको भर्चुअल बैठक आयोजना गरेका थिए ।

तर सो बैठकमा पाकिस्तानी प्रधानमन्त्री सहभागी भएनन्, उनले राज्यमन्त्री सरहका आफ्ना सहयोगीलाई बैठकमा पठाए ।सो बैठकले कोभिड–१९ लाई सामना गर्नका लागि सहकार्य गर्ने भनिए पनि त्यो खासै अगाडि बढेन । भारत र पाकिस्तान द्वन्द्वसँगै अब कोभिड–१९ को संकट पनि थपिएका कारण सार्कको शिखर सम्मेलन अझै अनिश्चित नै छ ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : नागार्जुनको तेस्रो नगर अधिवेशन सुरु
कांग्रेसको १५औं महाधिवेशन : नागार्जुनको तेस्रो नगर अधिवेशन सुरु
  • २०७७ आश्विन ९, ०८: ५४

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। यसैक्रममा काठमाडौंको...

नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
  • २०७७ आश्विन ९, ०८: ५४

काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
  • २०७७ आश्विन ९, ०८: ५४

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल–अमेरिका...