रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा – Naya Bikalpa
November 9, 2026, Monday      Epaper

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा आएसँगै यातायातमार्फत जिल्लासँग अन्य जिल्ला जोडिएको हो ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले बेत्रावतीस्थित विदुर नगरपालिका–१० र उत्तरगया गाउँपालिका–५ बेत्रावती जोड्ने दुई पक्की पुल बगाएसँगै रसुवा र नुवाकोटबीचको सम्पर्क टुटेको थियो ।

पुल सञ्चालनमा आएसँगै नुवाकोट र रसुवा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न र बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा सहज हुने नेपाली सेनाको उपरथी अनुपजङ्ग थापाले बताए । उनका अनुसार बेत्रावतीस्थित फलाखु खोलाको पुल नेपाली सेनाले पाँच दिनमा तयार गरेको हो ।

“बाढीले सडकको पहुँच मार्ग बगाएसँगै बेत्रावतीसम्म पुग्नका लागि पहुँच मार्गसमेत थिएन”, उपरथी थापाले भने, “सडक विभागसँगको समन्वयमा करिब ३०० मिटर दूरीको आगिङ्टार–बेत्रावतीको कठिन चट्टान हटाई पहुँच मार्ग विस्तार गरेर बेत्रावतीसम्मको सडक सञ्जाल र फलाखु खोलामा बेलिब्रिज जडान गरेर रसुवालाई बाहिर जिल्लासँग जोडिएको हो ।”

पुल सञ्चालनमा आएसँगै उपरथी थापाले पुल निर्माणसम्बन्धी प्राविधिक जानकारीसहितको प्रतिवेदन गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाको कार्यालयका प्रमुख कृष्णनाथ ओझालाई प्रदान गरे ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सञ्चालनमा आएको बेलिब्रिज ४० टन भार बहन क्षमताको रहेको छ । ७३ दशमलव दुई मिटर लम्बाइ र ५ दशमलव ५ मिटर चौडाइको छ । नुवाकोटको विदुरबाट सिधैँ बेत्रावती पुग्न सकिने गरेर सडक सञ्जालको निर्माण र पुलबाट रसुवाको धुञ्चे पुग्न सहज भएको छ । बेत्रावतीको पुल तरेर पासाङल्हामु सडक मार्ग हुँदै रसुवाको धुञ्चे भएर स्याफ्रुबेँसीस्थित त्रिशूली वारीसम्म सवारीसाधनमा पुग्न सकिने भएसँगै रसुवाको बाढी प्रभावित क्षेत्रमा खाद्यसामाग्रीसहित अत्यावश्यक सामग्री लैजान सहज भएको छ ।

गल्छी–रसुवागढी सडकअन्तर्गत स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडक सञ्चालनका लागि पनि बेत्रावतीमा निर्माण भएको बेलिब्रिजले सहज बनेको छ । बाढी प्रभावित क्षेत्रमा नेपाली सेनामार्फत खोज तथा उद्धारसहित राहत एवं अत्यावश्यक सामग्री उपलब्ध गराउँदै आइरहेको छ ।

भोटेकोशी बाढीले क्षति पुर्‍याएको देवीघाटस्थित तादी खोलामा नेपाली सेनाले बेलिब्रिज जडान गरेर नुवाकोट र धादिङलाई यातायातको सिधा सम्पर्कमा जोडेको थियो । बाढीले क्षति पुर्‍याएका बाँकी स्थानका पुलसहितको सडक सञ्जाल सञ्चालन गराउन नेपाली सेनामार्फत आवश्यक सहजिकरण भइरहेको उल्लेख छ ।

सम्बन्धित समाचार

संस्कृतिमाथि हमला भइरहेको छ, नेपालीहरू सजग हुनुपर्छ : केपी ओली
संस्कृतिमाथि हमला भइरहेको छ, नेपालीहरू सजग हुनुपर्छ : केपी ओली
  • २०८३ आश्विन २५, १५: ४०

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग...

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग
भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग
  • २०८३ आश्विन २५, १५: ४०

रसुवा : भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका-१...

पटका पट्काउने क्रममा छर्रा लागेर आठ वर्षीय बालकको मृत्यु
पटका पट्काउने क्रममा छर्रा लागेर आठ वर्षीय बालकको मृत्यु
  • २०८३ आश्विन २५, १५: ४०

काठमाडौं । पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पट्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय...