नियामकको स्वीकृतिभन्दा फरक इन्टरनेट प्याकेज बेच्ने १४ सेवा प्रदायकलाई जरिवाना – Naya Bikalpa
October 13, 2026, Tuesday      Epaper

नियामकको स्वीकृतिभन्दा फरक इन्टरनेट प्याकेज बेच्ने १४ सेवा प्रदायकलाई जरिवाना

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई रु ५० हजारका दरले जरिवाना गरेको छ ।

प्राधिकरणले जारी गरेको अनुमतिपत्रका सर्तविपरीत काम गरेको निरीक्षण तथा जाँचबुझ प्रतिवेदनबाट पुष्टि भएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम ती सेवा प्रदायकलाई जरिवाना गर्ने निर्णय गरिएको प्राधिकराणद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार स्वीकृत प्याकेजअनुसार इन्टरनेट सेवा उपलब्ध नगराएको, तोकिएकोभन्दा बढी शुल्क लिएको, स्वीकृत प्याकेजभन्दा फरक प्याकेज बनाएर बिक्री गरेको तथा त्यस्ता प्याकेजबारे सेवाग्राहीलाई तोकिएको समयमा जानकारी नदिएको लगायतका विषयमा कारबाही गरिएको हो ।

प्राधिकरणले स्वीकृत गरेको इन्टरनेटको गति र प्याकेजअनुसार सेवा उपलब्ध नगराउने तथा स्वीकृत दरभन्दा बढी शुल्क लिने कार्य उपभोक्ताको हितविपरीत भएको जनाउँदै त्यस्ता गतिविधि नियन्त्रण गर्न कारबाही गरिएको प्रवक्ता अर्यालले बताए ।

प्राधिकरणका अनुसार सेवा प्रदायकले शुल्क निर्धारणसम्बन्धी निर्देशिकाबमोजिम प्रस्तावित दर र लागू हुने मितिसमेत उल्लेख गरी कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि पेस गर्नुपर्ने व्यवस्था छ । तर, केही सेवा प्रदायकले उक्त व्यवस्थाको पालना नगरेको पाइएको छ ।

जरिवानामा पर्ने सेवा प्रदायकमा ब्रोडलिङ्क नेटवर्क एन्ड कम्युनिकेसन प्रालि, क्लासिक टेक प्रालि, वेब सर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालि, फाइबरवल्र्ड कम्युनिकेसन प्रालि, भायानेट कम्युनिकेसन्स लिमिटेड, एरोनेट प्रालि, डिस मिडिया नेटवर्क लिमिटेड, वाइफाइ नेपाल प्रालि, सिजी कम्युनिकेसन लिमिटेड, वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड, फर्स्ट लिंक कम्युनिकेसन प्रालि, पोखरा इन्टरनेट प्रालि, टेकमाइन्ड्स नेटवर्क लिमिटेड र सुबिसु लिमिटेड रहेका छन् ।

प्राधिकरणले स्वीकृति नलिई सञ्चालन गरिएका इन्टरनेट सेवा प्याकेज तथा शुल्क तत्काल बन्द गरी त्यसबारे जानकारी गराउन सम्बन्धित सेवा प्रदायकलाई निर्देशनसमेत दिएको छ । त्यस्ता गतिविधिका कारण कुनै ग्राहकलाई हानिनोक्सानी भएको भए ग्राहकको मागका आधारमा क्षतिपूर्ति वा हानिनोक्सानीको बिगो भराउन पनि निर्देशन दिइएको छ ।

प्राधिकरणले अनुमतिपत्र प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकलाई कुनै पनि सेवा प्याकेज वा महसुल दर लागू गर्नुअघि अनिवार्य रूपमा स्वीकृति लिन र स्वीकृतिबिना कुनै पनि प्याकेज सञ्चालन नगर्न सचेत गराएको छ । प्रचलित ऐन, नियम तथा अनुमतिपत्रका सर्त पूर्ण रूपमा पालना गर्न पनि निर्देशन दिइएको छ ।

यसअघि प्राधिकरणले यही असोज २४ गते इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्का पर्नेगरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको थियो ।

सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र प्राधिकरणले पनि शुल्क वृद्धि गर्न स्वीकृति नदिएको जनाउँदै प्राधिकरणले स्वीकृत शुल्क दर सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको थियो ।

स्वीकृत दरभन्दा बढी शुल्क लिएको वा गैरकानुनी रूपमा सेवा सञ्चालन गरी उपभोक्ताको हकहितविपरीत काम गरेको पाइएमा प्राधिकरणमा उजुरी गर्नसमेत सेवाग्राहीलाई आग्रह गरिएको छ । उपभोक्ताको हकहित संरक्षण, स्वच्छ प्रतिस्पर्धाको प्रवर्द्धन तथा इन्टरनेट सेवालाई व्यवस्थित बनाउन प्रचलित कानुनअनुसार सेवा सञ्चालन गर्नुपर्ने प्रावधान रहेको प्राधिकरणले स्पष्ट गरेको छ ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन मतगणना जारी, २५ समूह बनाएर गणना गरिँदै
कांग्रेस महाधिवेशन मतगणना जारी, २५ समूह बनाएर गणना गरिँदै
  • २०८३ आश्विन २७, १३: १७

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । कांग्रेस १५औं महाधिवेशन...

रास्वपाले खगेन्द्र सुनारमाथि छानबिन गर्ने, सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक
रास्वपाले खगेन्द्र सुनारमाथि छानबिन गर्ने, सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक
  • २०८३ आश्विन २७, १३: १७

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ ।...

दसैं मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा उपत्यकाबाट ५६ हजारभन्दा बढी बाहिरिए
दसैं मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा उपत्यकाबाट ५६ हजारभन्दा बढी बाहिरिए
  • २०८३ आश्विन २७, १३: १७

काठमाडौं : बडादसैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ । दसैं मनाउन अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका...