‘मन्त्रीले घिसार् भन्दा कुर्सी फोडियो-बाध्यताले ह्वीप तोडियो’ – Naya Bikalpa
September 14, 2026, Monday      Epaper
लुम्विनी कांग्रेसको निष्कर्षः

‘मन्त्रीले घिसार् भन्दा कुर्सी फोडियो-बाध्यताले ह्वीप तोडियो’



काठमाडौं – संघीय लोकतान्त्रिक गणतन्त्र, संसदीय सर्वोच्चता र विधिको शाषनको पक्षपाति र हिमायति राजनीतिक दलको रुपमा कांग्रेसको पहिचान रहेको छ । तर, कार्यकर्तामा अनुशासन पालना गर्न र गराउन नेतृत्वको उदासिनताले कांग्रेसको यो आदर्शमा प्रश्न उठ्ने गर्छ ।

राजनीतिक आदर्श र नीति वमोजिम पार्टी संगठन र नेता तथा कार्यकर्तालाई हिँडाउन नेतृत्वले नसक्दा लोकतन्त्रलाई आदर्श मान्ने कांग्रेस ६ वटा प्रदेश र संघीय संसदमा प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहे पनि प्रदेश ५ को राजधानी र नाम तोक्ने प्रकरणमा भने आफूलाई कमजोर सावित गरेको छ ।

पार्टीका सामान्य कार्यकर्ता नभएर प्रदेश सभाका माननीय सदस्य भएका व्यक्तिले आफ्नो दायित्व, कर्तव्य र पार्टीको निर्देशनलाई उल्लंघन गर्दा समेत प्रमुख प्रतिपक्षी दल कांग्रेस निरिह मात्र भएको छैन, भद्रगोल संस्कृति र संस्कारको अनुयायी हो कि भन्ने प्रश्न उठेको छ ।

प्रदेश ५ को प्रदेश सभाकक्षका कुर्सी तोडफोड गर्ने कार्यको नेपाली कांग्रेसका केही नेताहरुले व्यक्तिगत रुपमा गलत कार्य भनी टिप्पणी गरेका छन् । तर पार्टीले आधिकारिक रुपमा सो कार्य ठीक थियो वा थिएन भनेर भन्ने आँट र हिम्मत नगर्नु अनुशासनप्रति कांग्रेस कठोर छैन भन्ने देखाउँछ ।

‘आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले विरोध जनाउँदै सभामुखको ‘वेल’ घेरा हाल्न पुगेका कांग्रेस सांसदलाई घिसारेर निकाली हाल् भन्दै मर्यादा पालकलाई निर्देशन दिएपछि हाम्रा सांसदलाई उत्तेजित पार्दा कुर्सी फोडिएको हो’, नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले भने ।

प्रदेश सभा संचालनको कार्यविधि र परम्परालाई सभामुखलाई अनुसरण गरे वा नगरेको विषयमा सव्य र शिष्ट ढंगले विरोध र असहमति राख्न कांग्रेसका सभासद्ले सक्दथे । तर, कांग्रेसका सभासद्ले सभाकक्षका कुर्सी र टेबल तोड्ने कार्य गरे ।

संसदीय दलका नेता कनौडियाले मन्त्री केसीले त्यस्तो अपमानपूर्ण शब्द प्रयोग नगरेको भए प्रदेश सभामा त्यस्तो घटना नहुने दाबी गरे । कनौडियाले भने, ‘हामीले हाम्रा साथिहरुलाई शीष्ट, सभ्य र मर्यादीत रुपमा प्रस्तुत हुन भनेका थियौं, तर मन्त्रीबो बोलीले दुर्भाग्यपूर्ण घटना भयो ।’

प्रदेश ५ मा नेपाली कांग्रेसका १९ सभासद् छन् । तिमध्ये केहीले सोमबार सभाकक्षका कुर्सी फोडे भने त्यसको भोली पल्ट मंगलबार (असोज २० गते) ५ सांसदले संसदीय दलको ह्वीप नै उल्लंघन गरे । ह्वीप उल्लंघन गर्ने सांसदहरुको मनसाय नभएर बाध्यता रहेको कांग्रेसको ठहर छ ।

संसदीय दलका नेता कनौडियाले भने, ‘राप्ती नदी पश्चिमका साथिहरुको भौगोलिक रुपमा राजनीति गर्नु पर्ने संवेदनशीलतालाई बुझेका छौं, त्यो उहाँहरुको बाध्यता हो । उहाँहरुलाई दाङ राजधानी राख्ने प्रस्तावको विपक्षमा मत हालेमा आफ्नो क्षेत्र प्रवेश गर्न गाह्रो थियो ।’

संसदको सभाकक्षमा कुर्सी, टेबल फोड्ने, माइक तोड्ने र संसदीय दलको निर्णय अनुसार जारी भएको ह्वीप उल्लंघन गरी अनुशासन नमान्ने ५ सांसदलाई समेत कारबाही नगर्ने भएको छ ।

कनौडियाले भने, ‘कुर्सी फोड्ने र ह्वीप उल्लंघन गर्नेलाई अब आईन्दा यस्तो नगर्नुस भनेर संसदीय दलले सचेत गराउँछ । सामान्य कारबाहीभन्दा बढी किन गर्ने ? उहाँहरुको बाध्यता हेर्नु पर्छ । राप्ती पारीका सांसदले दाङ राजधानी राख्ने प्रस्तावको विपक्षमा मत हालेको भए कार्यकर्ताले कालो मोसो दल्नेवाला थिए ।’

पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङदम्वेले प्रदेश ५ को प्रदेश सभामा भएको गतिविधि र संसदीय दलको ह्वीपको विषय संसदीय दलको क्षेत्राधिकार भित्र पर्ने बताए । उनले भने ‘कुर्सी भाँच्ने र ह्वीप नमान्ने दुवै घटना पार्टीको नीति, संस्कृति र प्रबृत्ति बिरुद्ध छ ।’

संसदीय दलको नेताले प्रदेश ५ को संसदीय दल कार्यसमिति बैठकमार्फ निर्णय र सिफारिस गरेर पठाएको निष्कर्षको आधारमा पार्टी केन्द्रीय कार्यसमितिले अनुशासनको कारबाही गर्ने अनुशासन विभागका संयोजक आङदम्वेले बताए ।

प्रदेश ५ को प्रदेश सरकारले प्रदेश ५ को राजधानी दाङको देउखुरी र नाम लुम्विनी राख्ने प्रस्ताव प्रदेश सभा समक्ष कानून तथा आन्तरिक मन्त्री कुलप्रसाद केसीले पेश गरेपछि कांग्रेसका सभासदहरु अष्टभुजा पाठक, वशिउद्धिन खाँ, फकरुद्धिन खाँ लगायतले कुर्सी र टेबुल तोडफोड गरेका थिए ।

त्यस्तै, संसदीय दलको निर्णय अनुसार प्रदेश सरकारले स्थायी राजधानी दाङको देउखुरी उपत्यकामा राख्ने प्रस्तवको विपक्षमा मत हाल्न ह्वीप जारी गरे पनि दाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासद्हरु अर्जुनकुमार श्रेष्ठ, शंकर गिरी र डिल्लीबहादुर चौधरी, बाँकेका मोहम्मद याकुव अन्सारी र भुवनेश्वर चौधरीले पक्षमा मत हालेका थिए ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ आश्विन २१, १२: ३३

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ आश्विन २१, १२: ३३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ आश्विन २१, १२: ३३

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...