
नयाँ विकल्प,
बुटबल – प्रदेस सभाले पारित गरेकाे नाम लुम्बिनी भन्दा फरक ढङगले राप्ती शब्दसहित राजपत्र प्रकाशित गरिएको भन्दै लुम्बिनी प्रदेशको राजधानीबारे फेरि विवाद उब्जिएको छ ।
प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको प्रस्तावमा लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालाई समेटेर राप्ती नदी किनारको मैदानी भाग राप्ती उपत्यका किटान गरेकाे थियो ।
उक्त प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पास भएको थियो । तर प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरले प्रकाशित गरेको राजपत्रमा दाङको राप्ती उपत्यका (देउखुरी) मात्र स्थायी राजधानी उल्लेख भएपछि विरोध र आलोचना शुरु भएको छ ।
सामाजिक सञ्जालमा मुख्यमन्त्री शंकर पोखरेल र सभामुख पूर्णबहादुर घर्तीको योजनावद्ध डिजाइनमा प्रदेश सभाले गरेको निर्णयभन्दा फरक हुने गरी राजपत्र प्रकाशित भएको पाइएकाे छ ।
अर्घाखाँचीवासीले सामाजिक सञ्जालमा लेख्दै अर्घाखाँचीमाथि धोका भएको बताएका छन् भने गढवा र राप्ती गाउँपालिकाका बासिन्दाले राजधानी लमही लैजाने प्रयास हुनसक्ने आशंका गरेका छन् ।राजपत्रमा प्रकाशित सूचना प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि त्यसले कानूनी मान्यता पाउँछ ।
अर्घाखाँचीका सांसद रामजीप्रसाद घिमिरेले राजपत्रमा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा उल्लेख नगर्नु आपत्तीजनक भएको प्रतिक्रिया दिए ।
‘चलखेल गर्नु हन्थेन, सार्वभौम संसदले पास गरेअनुसार जस्ताको तस्तै निकाल्नुपर्छ,’ सांसद घिमिरेले भने, ‘यसरी राजपत्र आउनु आपत्तिजनक छ, सरकार र राजपत्र प्रकाशन गर्ने कर्मचारीसँग आज छलफल गर्दैछु ।’ शितगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले सरकारको प्रस्तावमा उल्लेख भएको कुराले उत्साहित बनाए पनि राजपत्रमा उल्लेख नगर्दा निरुत्साहित बनाएको बताए ।
‘सरकारको प्रस्ताव आउँदा शीतगंगाका वडा नंं. ८ र ९ पनि राजधानीमा पर्ने भनेर प्रस्ताव आएको हो, त्यसले उत्साहित बनाएकै हो, तर राजपत्रमा किन छुटाइयो बुझ्न सकिएन,’ उनले भने, ‘डीपीआर बनाउँदा पनि छुटाइयो भनेचाहिँ धोका र बेइमानी नै पुष्टि हुनेछ, नेतृत्वको इमान्दारिता हेर्न बाँकी नै छ ।’
गढवा गाउँपालिका अध्यक्ष सहजराम अहिरले राजपत्रमा प्रकाशित सूचनाबारे आफूलाई थाहा नभएको र आफ्नो क्षेत्रका सांसद इन्द्रजीत थारुसँग बुझ्ने प्रतिक्रिया दिए । सांसद थारुले पटकपटक सम्पर्क गर्दा पनि फोन रिसिभ गरेनन् ।
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले राप्ती उपत्यका भनेपछि शीतगंगाका दुई वटा वडा पनि पर्ने भएकाले राजपत्रमा उल्लेख नहुँदैमा शंका गर्न नपर्ने बताए । प्रदेशसभामा प्रस्ताव पेश गर्दा आन्तरिक मामिला तथा कानुन मन्त्री कूलप्रसाद केसीले स्पष्ट भाषामा र मुख्यमन्त्रीले स्थायी राजधानीका विषयमा बोल्दा पनि राप्ती गाउँपालिका पूरै, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शितगङ्गा नगरपालिकाका ८ र ९ नम्बर वडाले चर्चेको जमिन भन्ने शब्द प्रयोग गरेका थिए ।
मुख्यमन्त्री पोखरेलले विशेष समय लिएर बोल्दा पनि सबै स्थानलाई नछुटाई प्युठान जिल्लाको बाङ्गेसालसम्मको क्षेत्रलाई स्थायी राजधानीका रुपमा ब्याख्या गरेका थिए ।
वातावरणविदहरुले प्रदेश राजधानी तोकिएको स्थान जैविक विविधताका दृष्टिले प्रतिबन्धित क्षेत्र भएकाले सरकार र प्रदेश सभाले चलाखीपूर्वक ती स्थानको नाम हटाएर देउखुरीमात्रै राखेको स्रोतको दाबी छ । अनलाइन खबरबाट
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...