
१. मैले यी हरफहरु कोर्न थाल्दा यसपटकको दसैँ सुरु भएको छ । २०७७सालको दसैँ कात्तिक १गतेबाट सुरु भएको हो र कात्तिक १०गते विजया दशमीको टीका लगाउने साइत छ भनिएको छ ।
२.यसपटक अधिकमास असोज महिनाको पहिलो दिनबाट सुरु भएकाले दसैँ पर्व एक महिना पर धकलिएको हो ।
नेपालमा दसैँ लामो पर्व हो । हुन त यो पर्व यसो हेर्दा हिन्दू धर्मावलम्बी , त्यो पनि पहाडमा बस्नेहरुको मात्र हो जस्तो लाग्छ तर दसैँ अहिले सम्पूर्ण नेपालीको साझा चाडको रुपमा विश्वभर छरिएर बसेका नेपालीहरुले मनाउन थालेका छन् । एकप्रकारले दसैँ नेपालीको परिचयसँगै जोडिन थालेको छ ।
३. दसैँ धार्मिक चाड भन्दा साँस्कृतिक परम्पराको रुपमा नेपालीहरुले धानेका छन् । कुरो त नवदुर्गाको पूजा आराधना हो ।
शिव र शक्तिमध्ये, प्रकृति र पुरुषमध्ये शक्ति र प्रकृतिकी विम्वको रुपमा मानिने मातृशक्तिको पूजा नै यस चाड वा पर्वको विशेषता हो । त्यसैले दसैँ अहिले हिन्दू, बौद्ध , किराँतहरुको साझा पर्व बनेको छ ।
नेपालका इस्लामहरुले पनि धार्मिक सहिष्णुताका लागि दसैँमा सबैसँग मिलेर दसैँ मनाउन थालेका छन् जसरी कि हिन्दूहरु पनि ईद मनाउँछन् । नेपाली इसाइहरु त झन नेपाली परिवारकै बढी हुनाले उनीहरुको नाम र थरले पनि गैर नेपाली देखाउँदैन र परम्परागत मनाउने दसैँलाई धार्मिक चाडभन्दा पनि खानपिनको चाडको रुपमा मनाउँदै आएका पाइन्छन् ।
अर्थात् दसैँ सम्पूर्ण नेपालीहरुको एउटा साझा चाडको रुपमा मानिएको छ । यसमा लामो विदा पनि दिइन्छ जसमा धार्मिकरुपले विदा लिने र दिनेमा कुनै विभेद गरिँदैन ।
४. प्रत्येक अढाइ वर्षमा तिथिहरुका थपघटका आधारमा अधिकमासको परिकल्पना गरिएको छ ज्योतिष शास्त्रमा । नेपालमा दुवै तिथिहरुलाई सँगै मानिन्छ । हाम्रो देशमा सौर्य मास र चान्द्र मास दुवैलाई दैनिकीमा समानान्तररुपमा प्रयोग गरिएको पाइन्छ ।
अधिक मास , जसलाई पुरुषोत्तम मास पनि भन्दछन् र जन जिब्रोमा मलमास पनि भन्दछन् । अढाइ वर्षभरिका विभिन्न तिथिहरुको गणनापछि मिलान गर्न अधिकमासको व्यवहारमा ल्याइएको छ । त्यसैले पनि होला, सामान्यतया शरद ऋतुको सुरुमै आउने दसैँ यसपटक ढिलो सुरु भएको छ । प्रत्येक तीन वर्षमा यस्तै हुन्छ ।
५. कारोना कहरसँग दसैँ आएको छ । लामो अवधिसम्म कोरोनाको कहर रहला भन्ने सोचिएकै थिएन । हुन त प्लेगले पनि ३वर्षसम्म कहर कटाएको इतिहासमा पाइन्छ र करोडौँ मानिसहरु त्यो रोगले मारिएको बुझ्न सकिन्छ । त्यो बेलामा पनि फेस मास्क लगाउन अनिवार्य गरिएको र नलगाउनेलाई जेलमा समेत पठाउने कडा कानुन रहेको बुझिन्छ ।
६. एकातिर परिवारका सदस्यहरु जम्मा भएर र अरु परिवारसँग पनि भेटेर आपसी सम्बन्ध सुधार्ने दसैँको विशेषता हो भने यसपटकको चाडको कुरा अरुसँग भेटघाट नगर्ने गरी दूरी कायम गर्ने रहेको छ । बाँचौँ र बचाऔँको सिद्धान्तले भन्छ—रोग सर्ने वा सार्ने गरी कुनै त्यस्तो व्यवहार नअपनाऔँ ।
७. नोबेल कोरोनाको कुनै ओखती छैन । मात्र के थाहा छ भने त्यो विषाणुबाट सर्छ । विषाणु देखिँदैन । कसलाई भएको छ भनेर थाहा पनि हुँदैन । रोगको लक्षण पनि विभिन्न स्वरुपमा देखिएको छ ।
यतिमात्र थाहा छ, रोग लाग्दैमा सबै नमर्न पनि सक्छन् अनि रोगले सबै बाँच्छन् भन्ने पनि छैन । सतर्कताले पनि रोग सर्न छोडेको छैन र सरेको रोगमो कारण पनि खासै थाहा हुन सकेको छैन । र पनि कोरोन कहरलाई कोभिड—१९ नाम दिइएको छ र अहिले पनि संसारमा फैलिरहेको छ । नेपालमा पनि फैलिने क्रम झन तीब्र गतिमा छ ।
८. मैले यो समीक्षा लेखिरहेको बेलामा युरोपमा कारोना महामारी दोहोरिएर सुरु भएको छ र भयावह स्वरुपमा देखिन थालेको छ । फ्रान्समा लकडाउन , कर्फ्यु लगाइँदैछ धेरै सहरमा । अमेरिका आक्रान्त छ, भारतमा अनियन्त्रणमा छ, ब्राजिल, मेक्सिको जस्ता देशहरुमा कसरी नियन्त्रणमा ल्याउने भन्ने ठुलो समस्या देखिएको छ ।
९. नेपालमा धेरै भनियो, केही भएन । अब अस्पतालमा बेड छैन, आइ सि यु को व्यवस्था हुन नसक्ने अवस्था छ , भेन्टिलेटरको झन कुरै भएन । श्वास प्रश्वासमा देखिने असहजताका लागि अक्सिजनको मात्रा बेलैमा दिन सक्ने अवस्था सरकारसँग देखिएन ।
यसमा जनताको के भूमिका हुने भयो र ? सबै कुराको जिम्मा दिएको सरकार बेसार पानी खाएर बिसेक हुन्छ भनेर बसेकोले आजको यो भयावह स्थिति आएको हो भनेर भन्दा कुनै गल्ती हुँदैन ।
१०. जनताको बाँच्न पाउने हक पूरा गरिदिन अरु कसलाई गुहार्ने र ? निर्लज्ज तरिकाले अब आफ्नो नियन्त्रणभन्दा बाहिर गएको कुरा सरकारका प्रवक्ता भन्न थालेका छन् । हाम्रो प्रश्न एउटै मात्र हो , चार चार महिना लकडाउन गरेर सम्पूर्ण मुलुकलाई ठप्प पार्दा किन तयारी गरिएन ? तीन करोड मानिसहरु बस्छन् ।
नेपाल बाहिर गएका करिब ५०लाख पनि आउन सक्नेछन् भनेर अनुमान लगाउन स्वतन्त्र प्रेसले भन्दा प्रेसमाथि अंकुश लगाउने काम हुन लागेको थियो तर नागरिक समाज र प्रेसले विरोध गरेपछि धन्न स्वास्थ्य समस्याको भ्रष्टाचार र अक्षमता बाहिर आउन सकेको हो ।
११. आखिर कोभिड १९ले जति गाँजे पनि जीवन त बचाउनै पर्छ । फेरि पनि जीवन त चाहिन्छ । रोगसँग कसरी लड्ने भन्ने बानी जति परे पनि जब गाँज्छ, स्वास्थ सेवाको न्यूनतम आवश्यकता पर्छ । यही बेलामा धेरै कुरामा व्यवस्थापन हुन सके पनि मानवीय समस्याको वारेमा अझै संवेदनशीलता देखिन सकेको छैन ।
१२. अहिले सबैतिर यसरी कोरोना कहर फैलिएको छ कि जसलाई देख्दा पनि संक्रमित जस्तो लाग्छ र आफू पनि संक्रमित भइसकिएको हो कि भन्ने डर लाग्न थालेको छ । यही मौकामा नेपालीहरुको मौलिक चाड दसैँ पनि घरमा प्रवेश गरेको छ ।
१३. र अन्त्यमा, दसैँ सादगीपूर्ण तरिकाले मनाऔँ । भीडभाड गरेर मनाउन त अर्को साल पनि त छ बाँँच्दाखेरि । ज्येष्ठ नागरिकहरुको ख्याल गरौँ । सबै सतर्कता अपनाआँै ।
खानपिन गरौँ, टीकाटालो लगाऔँ र दसैँ मनाऔँ र दुर्गा मातासँग यही आशीर्वाद मागौँ —हे दुर्गा माता, तिम्रा यी संसारका सबै सृष्टिमा यो रोगबाट मुक्ति दिलाऊ र एउटा स्वस्थ संसारमो निर्माणका लागि हामी सबैलाई जागरुक हुने आशीर्वाद देऊ ।
त्यस्तो शक्ति हामीलाई देऊ जसले यो कोरोनासँग लड्ने क्षमता हामीमा आओस् ।संसारको जुनसुकै कुनामा रहेका नेपालीहरु हुन् या मानव जाति जोसुकै हुन् सबैको कल्याणका लागि आशीर्वाद देऊ दुर्गामाता ।
या देवी सर्वभूतेषु शक्तिरुपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...