उपत्यकाका सडक छेउका पेट्राेल पम्प हटाइने, ट्राफिक महाशाखाले तयार पार्याे अल्पकालिन र दीर्घकालीन योजना – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

उपत्यकाका सडक छेउका पेट्राेल पम्प हटाइने, ट्राफिक महाशाखाले तयार पार्याे अल्पकालिन र दीर्घकालीन योजना

नयाँ विकल्प

काठमाडौँ- उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन नहुँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ ।

सवारी साधान दैनिक थपिने तर भएका सडक विस्तार, व्यवस्थापन र नयाँ सडक निर्माणको गतिमा आएको ढिलाइले अवस्था झन् कमजोर बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजनाले औँल्याएको छ ।

कार्ययोजना निर्माण कार्यदलका संयोजक महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल करिडोर क्षेत्रका सडक र अन्य सडक निर्माणको ढिलासुस्ती, सडक छेउमा मापदण्डविपरीत रहेका ग्यारेज, पेट्रोलपम्प, वर्कशप, उचित पार्किङस्थलको अभाव, सचेतनाको अभाव, प्रविधिको प्रयोग हुन नसक्नुलगायत कारणले समस्या बल्झिरहेको बताउँछन् ।

उहाँका अनुसार समयसापेक्ष कानूनको सुधार हुन नसक्नु, दक्ष चालकको अभाव, सम्बद्ध निकायबीच प्रभावकारी समन्वय र सहकार्यको अभाव हुनुलगायत कारणले पनि उपत्यकाको ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै आएको अध्ययनमा पाइएको छ ।

पछिल्लो समयमा ट्रफिक प्रहरीकै प्रयासमा भइरहेका संरचनामा आवश्यक व्यवस्थापन र प्रविधिमैत्री बनाउँदै लगेको समेत उहाँले जानकारी दिनुभयो । पछिल्ला केही वर्षमा उपत्यकाको ट्राफिक व्यवस्थापनमा सकारात्मक काम नभएका होइनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न योजना बनाई कार्यान्वयन गरेकाले सकारात्मक सुधार भएको छ । खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीकै निर्देशन चाहिने अवस्थाबाट माथि उठेर अहिले एकाधबाहेक त्यस्ता समस्या छैन ।

धुलाम्मे हुने काठमाडौँका सडक केही निश्चित ठाउँमा बाहेक अहिले धुलो देखिँदैन । हाल व्यवस्थापन भएको सडकका मुख्य सडक क्षेत्र चिल्ला र सडक सङ्केतयुक्त पाइन्छ तर यतिले मात्रै उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बन्ने अवस्था छैन । सवारीको अत्याधिक चाप, साँघुरा सडक, चोकगल्लीको उचित व्यवस्थापन नहुँदा सवारी आवागमनमा अवरोध सिर्जना भइरहेकै छ । यातायातमा जोरबिजोर प्रणाली लागू हुँदा पनि सवारी जाम नरोकिँदा त्यसको उचित व्यवस्थापनको टड्कारो आवश्यकता ठानी गृह मन्त्रालयले एकीकृत कार्यायोजना बनाएर लागू गर्ने प्रक्रिया अघि बढाएको हो ।

त्यही सिलसिलामा प्रवउ ढकालको संयोजकत्वमा गत साउनमा गठन भएको छ सदस्यीय कार्यदलले ‘उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजना २०७७’ बनाई गृह मन्त्रालयमा बुझाएको छ । कार्ययोजनाले तत्कालीन र दीर्घकालीन गर्नुपर्ने कामलाई बुँदागतरूपमा औँल्याएको छ । उक्त कार्ययोजना उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महत्वपूर्ण भएकाले उच्च प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने गृहमन्त्री रामबहादुर थापा बताउँछन् ।

कार्यान्वयनमा लैजानका लागि गृहको प्रयास मात्रैले पुग्दैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्थानीय तहका साथै सम्बद्ध निकायको समन्वय आवश्यक छ । उक्त कार्ययोजना सबै निकायसँगको सहकार्यमा बनेकाले अबको प्रयास एकीकृतरूपमै जाने विश्वास मन्त्रालयको छ । गृहसचिव महेश्वर न्यौपानेले केही अपुग भएका विषय समेटेर कार्ययोजना लागू गर्नुको विकल्प नभएको बताउनुभयो ।

सडक विस्तार सडक विस्तारको प्रक्रियामा रहेका सबै सडकलाई तत्कालै विस्तार गर्नुपर्ने कार्ययोजनाले प्राथमिकताका साथ उठाएको छ । गौरीघाटको प्रहरी विटको पर्खाल भत्काइ सडक फराकिलो गर्नुपर्ने, जडीबुटी र राधेराधे पुलको बाँकी काम सम्पन्न गरी सर्भिस लेन खोल्नुपर्ने तत्कालीन योजनामा राखिएको छ ।

साँघुरा सडक र सवारी चाप हुने चोकको अध्ययन गरी विस्तार गर्नुपर्ने, चक्रपथ सडकको बाँकी खण्ड विस्तारको काम सम्पन्न गर्नुपर्ने, बाहिरी चक्रपथको अवधारणालाई अघि बढाउनुपर्ने, नागढुङ्गा र टोखाको सुरुङ योजनालाई अघि बढाउनुपर्ने दीर्घकालीन योजनामा उल्लेख गरिएको छ । सडक कालोपत्र उपत्यकाको सम्पूर्ण सडकको नियमित अनुगमन गरी समयमै खाल्डाखुल्डी पुर्ने र कालोपत्र गर्नुपर्ने, पेट्रोलपम्पसम्बन्धी मापदण्ड लागू गराई सडकमा परेका पम्प हटाएर सडक विस्तार गर्नुपर्ने तत्कालीन कार्ययोजना समावेश छ ।

यस्तै मापदण्डविपरीतका कारखाना वर्कशपलगायतका संरचना हटाई व्यवस्थापन गर्नुपर्ने ‘अटोजोन’ निर्माणसम्बन्धी अवधारणा र कारखाना सञ्चालन निर्देशिक कार्यान्वयन गराउनुपर्ने दीर्घकालीन योजनामा समावेश गरिएको छ ।

पार्किङ व्यवस्थापन सडकमा हुने अनधिकृत हटाई सशुल्क र निःशुल्क पार्किङको पुनरावलोकन गरी कार्यान्वयन गर्नुपर्ने, करिडोर क्षेत्रमा पनि उचित स्थानमा पार्किङको व्यवस्थापनका साथै सडक छेउका खाली जमिनमा स्मार्ट पार्किङको व्यवस्थापन गर्नुपर्ने तत्कालीन कार्ययोजनामा उल्लेख छ । यस्तै दीर्घकालीन कार्यायोजनाअनुसार स्मार्ट पार्किङको अवधारणालाई अध्ययन गरी पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने जनाइएको छ ।

बाहिरबाट आएका सवारी पार्किङका लागि नाका क्षेत्रमा बसपार्क निर्माण गर्नुपर्ने, सबै व्यापारिक क्षेत्र, होटललाई पार्किङको व्यवस्थापन गर्न लगाउनुपर्नेलगायत विषय समावेश गरिएको छ । अण्डर पास र फ्लाइओभर उक्त एकीकृत कार्ययोजनाले तीनकुने, जडीबुटी, कोटेश्वर, बबरमहल, सिंहदरबार क्षेत्रमा आवश्यकतानुसार अण्डरपास र ‘फ्लाइओभर’ सडक निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।

उता पशुपति क्याम्पस, मित्रपार्क, रातोपुल, गौशालालगायत क्षेत्रमा पनि अध्ययन गरी सडक व्यवस्थापन गर्न सुल्झाइएको छ । वाग्मती, धोवीखोला, मनोहरा, हनुमन्ते करिडोरका पुलपुलेसा, सडक व्यवस्थापनमा जोड दिइएको छ । छाडा चौपायका लागि काञ्जी हाउसको व्यवस्थापन गर्नुपर्ने कार्ययोजनाले समेटेको छ ।

समयसापेक्षरूपमा सडकसम्बन्धीका कानून संशोधन गरी लागू गर्नुपर्ने, नियमित अनुगमन गरी सडकको अवस्थालाई चुस्त राख्नुपर्ने, सडक प्रयोगकर्तालाई सचेतना दिँदै स्कूलमा ट्राफिक शिक्षालाई प्राथमिकता दिनुपर्ने विषयलाई प्राथमिकता दिइएको छ । कार्ययोजनामा ट्राफिक चिल्ड्रेन पार्क, नमूना सडक निर्माण, ट्राफिक ग्राम निर्माण, रुट इजाजत वितरण प्रणालीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिइएको छ । प्रविधिमैत्री ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने औँल्याइएको संयोजक ढकालले बताए ।

यस्तै सडक बत्ती गाडी धुने केन्द्र, जिपिएससहितको सवारी साधान ट्रयाकिङ प्रणालीलगायतका प्रणाली प्रयोगलाई प्राथमिकता दिनुपर्ने एकीकृत कार्ययोजनामा उल्लेख छ ।

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ कार्तिक १९, १३: ३८

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ कार्तिक १९, १३: ३८

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
  • २०७७ कार्तिक १९, १३: ३८

काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...