बागलुङमा भुकम्पले भत्केका साढे एक हजार निजी आवास सम्पन्न – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

बागलुङमा भुकम्पले भत्केका साढे एक हजार निजी आवास सम्पन्न

नयाँ विकल्प

बाग्लुङ- भूकम्प गएको पाँच वर्ष बित्नै लाग्दा बागलुङ जिल्लामा एक हजार ५२९ निजी आवास पुनःनिर्माण भएका छन् ।

विसं २०७२ को भूकम्पले क्षतिग्रस्त जिल्लाका दुई हजार २४२ घरमध्ये हालसम्म एक हजार ५२९ घरको पुनःनिर्माण सम्पन्न भएको छ । बागलुङमा हालसम्म पुनःनिर्माणको भौतिक प्रगति ६६ प्रतिशत छ । भूकम्पले क्षति पुर्याएका निजी आवास निर्माण गर्न बनेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले पछिल्लो समय पुनःनिर्माणले गति लिएको जनाएको छ ।

पछिल्लो पटक नेपाल सरकारले निजी आवास पुनःनिर्माणमा लाभग्राहीले निर्माण गरेका घरलाई समेत रकम दिने निर्णय गरेपछि पुनःनिर्माणको प्रगति बढेको हो । जिल्लामा पुनःनिर्माणतर्फका दुई हजार ४८२ लाभग्राहीको घर पुनःनिर्माण र १७१ घर प्रबलीकरण गर्ने सूचीमा रहे पनि जम्मा दुई हजार ३१७ लाभग्राहीले पुनःनिर्माणका लागि र १२५ लाभग्राहीले प्रबलीकरणका लागि सम्झौता गरेकोमा हालसम्म एक हजार ५२९ घर पुनःनिर्माण र जम्मा दुई घर प्रबलीकरण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बगालुङका प्रमुख रेणुकाकुमारी पण्डेयले जानकारी दिइन ।

“निजी आवासमा ६६ प्रतिशत घर पुनःनिर्माण सम्पन्न भएका छन्”, पाण्डेले भनिन, “सम्झौता गरेका लाभग्राहीमध्ये दुई हजार ३९८ घरले पहिलो, एक हजार ७६६ घरले दोस्रो र एक हजार ५२९ घरले तेस्रो किस्ता बुझेका छन् ।” तीमध्ये उनीहरुले ६६ प्रतिशत घर निर्माण सम्पन्नपश्चात्को अन्तिम किस्ता लिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बगालुङले जनाएको छ ।

सम्र्पकमा छैनन् २११ लाभग्राही निजी आवास पुनःनिर्माण लाभग्राहीको सूचीमा समावेश भएका २११ लाभग्राही सम्झौता नै गर्न नआएको पुनःनिर्माण प्राधिकरण बागलुङले जनाएको छ । तीमध्ये पुनःनिर्माणतर्फका १६५ र ४६ प्रबलीकरणतर्फका लाभग्राही सम्झौता गर्न नआएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बगालुङका प्रमुख पाण्डे बताउँछिन् ।

उनका अनुसार २११ जनालाई सम्झौता गर्नका लागि यही मङ्सिर मसान्तसम्म अन्तिम समयसीमा दिइए पनि हालसम्म कोही लाभग्राही सम्र्पकमा आएका छैनन् । लाभग्राहीको सूचीमा रहेका लाभग्राहीले मङ्सिर मसान्तभित्र कार्यालयमा आई सम्झौता गर्न सक्नेछन् । हरेक स्थानीय तहको वडासम्म छुटेका लाभग्राहीलाई सम्झौता गर्नका लागि आह्वान गरिएको छ ।

प्रबलीकरणमा देखाएनन् लाभग्राहीले चासो भूकम्पले चर्काएको घर प्रबलीकरण गरेर नयाँजस्तै घर निर्माण गर्ने सूचीमा परेका बागलुङका १७१ लाभग्राहीमध्ये जम्मा दुई जनाले मात्रै घर प्रबलीकरण गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बागलुङका अनुसार १७१ लाभग्राहीमध्ये १२५ जनाले प्रथम किस्ताबापतको रु ५० हजार लगे पनि दोस्रो किस्ता लिन जम्मा दुई जना प्रबलीकरणतर्फका लाभग्राही आएका छन् ।

एक सय २३ प्रबलीकरणका लाभग्राहीले घर प्रबलीकरण गर्न चासो नदेखाएको एकाइ प्रमुख पाण्डेको भनाइ छ । अलि महँगो र प्राविधिकरूपमा झञ्झट भएकाले प्रबलीकरणमा चासो नदेखाएको लाभग्राही बताउँछन् । प्रबलीकरण गर्न आवश्यक रहेको घर भत्काएर पुनःनिर्माण गर्न खोजेमा पुनःनिर्माणतर्फ रु तीन लाख अनुदान दिइने व्यवस्था भए पनि लाभग्राही नआएको एकाइ कार्यालयको भनाइ छ ।

प्रबलीकरणका लाभग्राहीले पाउने अनुदानले घरलाई बलियो बनाउन नपुग्ने भएका कारण पनि लाभग्राही आकर्षित नभएको हुनसक्ने एकाइको अनुमान छ । घर पुनःनिर्माण गर्नका लागि तीन किस्तामा रु तीन लाख र प्रबलीकरण गर्न दुई किस्तामा रु एक लाख अनुदान रकम दिइँदै आएको छ ।

जिल्लामा अन्य संरचना पनि पुनःनिर्माण पुनःनिर्माण प्राधिकरणले निजी आवाससँगै एकीकृत बस्ती निर्माण, सडक मोटरेबल पुल तथा मन्दिर निर्माण गरिरहेको छ । प्राधिकरणले रु १७ करोड लागतमा बुर्तिवाङ–तमानखोला सडकको १० किलोमिटर सडक ग्राभेल गरेको छ । उक्त सडकमा पर्ने लुकुरबन र भालुबाङ खोलामा दुई मोटरेबल पुल निर्माण गरिरहेको प्राधिकरण कार्यालयले जनाएको छ ।

बागलुङ नगरपालिका–११ स्थित रायडाँडामा गुम्बा निर्माण गर्नसमेत पुनःनिर्माण प्राधिकरणले काम अगाडि बढाएको छ । झण्डै रु ६३ लाखको लागतमा निर्माण थालिएको ८०० वर्गमिटरको गुम्बा दुई तलाको हुनेछ । जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँ काउलेका १० परिवारका लागि एकीकृत बस्ती निर्माण गर्न जग्गा खरिद भए पनि घर निर्माण अगाडि बढेको छैन । रासस

सम्बन्धित समाचार

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०७७ मंसिर २५, १२: ०४

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०७७ मंसिर २५, १२: ०४

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
  • २०७७ मंसिर २५, १२: ०४

काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...