बिमानस्थलमा सुवासको एकाधिकार, सुन र मुद्राको धन्दा फस्टाउँदै – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

बिमानस्थलमा सुवासको एकाधिकार, सुन र मुद्राको धन्दा फस्टाउँदै

काठमाडौं । मुलुकलाई सिन्डिकेट मुक्त बनाउने अभियान अन्तर्गत पछिल्लो समय यातायात क्षेत्रमा विद्यमान सिन्डिकेट हटाउन सरकार तदारूकताका साथ लागि परेको छ । सिन्डिकेट हटाउने सरकारको निर्णयलाई चुनौती दिँदै यातायात व्यावसायीले हड्तालको घोषणा गर्दा एक सय २१ नेताहरूले प्रहरी हिरासतमा रात कटाए । सरकारको निर्णय स्वीकार्ने कागज गरेपछि उनीहरू गतसाता रिहा भए ।

मुलुकको अर्थतन्त्र मजबुत बनाउन र सबैलाई करको दायरामा ल्याउन सरकारले कठोर कदम चालिरहँदा देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भने एक व्यक्तिको सिन्डिकेटमा चलिरहेको छ । विवादास्पद ब्यापारी सुवास श्रेष्ठले चलाएको सिन्डिकेटले आन्तरिक तथा वाह्य पर्यटक तथा सेवाग्राहीहरू दिनदहाडै लुटिने गरेका छन् भने श्रेष्ठको होटेल स्वनिगाको नामबाट अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल प्रस्थान कक्षमा संचालित आधा दर्जन पसलमा संकलन हुने विदेशी मुद्रा अवैध तरिकाले मुलुक बाहिर तस्करी हुने गरेको स्रोत बताउँछ ।

रमेशनाथ पाण्डे पर्यटनमन्त्री हुँदादेखि करिब एक दशक अन्तर्राष्ट्रिय विमानस्थल श्रेष्ठले कब्जा गरेका छन । डोमेस्टिक तथा अन्तर्राष्ट्रिय टर्मिनलतर्फको पार्किङदेखि पसल कवल सबै उनले कौडीको भाउमा ठेक्का लिएका छन् । एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री बामदेव गौतम निकट मानिने श्रेष्ठले नेपाल नागरिक उडड्यन प्राधिकरणका महाप्रबन्धक देवानन्द शर्मा, र प्रहरीका उच्च अधिकारीसँगको सेटिङमा विमानस्थल भित्रैबाट डलर र तस्करीको धन्दा चलाउने गरेको स्रोत बताउँछ ।

श्रेष्ठले राजनीतिक संरक्षणको लागि भन्दै विमानस्थल भित्रै एमाले नेता गौतमको लागि एउटा पसल उपलब्ध गराएको चर्चा छ । अन्तर्राष्ट्रिय टर्मिनलको प्रस्थान कक्षमा गौतमको नामबाट एउटा पसल संचालनमा रहेको विमानस्थल स्रोतले बतायो । उक्त पसलमा बामदेमका छोरा हरिश जाने गरेको र कहिलेकाही बामदेव आफंै जाने गरेका छन् । नागरिक उडड्यन प्राधिकरणका उच्च अधिकारीको मिलेमतोमा बिमानस्थलमा व्यापारको नाममा सेवाग्राही लुटिने गरेका छन् ।

विमानस्थलभित्र यति अचाक्ली महँगो छ कि एक कप कालो कफीको मूल्य ३ सय रूपैयाँसम्म बुझाउनुपर्ने बाध्यता छ । डलर तस्करीमा जागिर गुमाएका पूर्व एसएसपी रविराज श्रेष्ठ पनि सुवासका पार्टनर हुन् । पछिल्लो समय चर्चित ३३ किलो सुनकाण्डमा समेत उनको संलग्नता देखिएपछी उनी माथि सुक्ष्म छानबिन भैरहेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

स्रोतका अनुसार डलर र सुन तस्करीमा श्रेष्ठसँगै नेपाल प्रहरीका पूर्वएआइजीहरू नवराज ढकाल, विज्ञानराज शर्मा विजयलाल कायस्थ, विमानस्थलका एसएसपी प्रेम चन्द, सामसुङ मोबाइलको आडमा सुन तस्करीको साम्राज्य चलाई रहेका विवादास्पद ब्यापारी दीपक मल्होत्रा, हुण्डी कारोबारी पवन सरिया लगायत छानबिनमा तानिने निश्चितप्राय छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षतर्फको अध्यागमनभित्र कफी शप, विभिन्न पसल र रेस्टुरेन्टहरू श्रेष्ठ आफैले सञ्चालन गर्दै आएका छन् । त्यहाँको व्यापारबाट संकलन हुने विदेशी मुद्रा जहाज मार्फत सिधै दुबई पठाउने र सोही मुद्राबाट सुन खरिद गर्ने गरिएको स्रोत बताउँछ । विमानबाट आउने फोहोर व्यवस्थापनको समेत जिम्मेवारी लिएका श्रेष्ठले फोहोरमै राखेर सिनामंगलस्थित नेपाल आयल निगमको हवाई इन्धन डिपोको गेटमार्फत सुन पास गराउने गरेको सूचनासमेत विशेष अनुसन्धान टोलीले पाएको छ ।

विमानस्थलबाट हुने डलर तस्करी र हुण्डीको कारोबारमा श्रेष्ठको संलग्नता देखिएपछि उनलाई समेत विशेष निगरानीमा राखिएको उच्च स्रोतको दावी छ ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७५ बैशाख ३१, ०७: ५८

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७५ बैशाख ३१, ०७: ५८

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७५ बैशाख ३१, ०७: ५८

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...