सहमति र घोषित योजना कार्यान्वयन हुने आशा
काठमाडौं । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपालको दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । भ्रमणको क्रममा मोदीले दिएका अभिव्यक्ति, क्रियाकलाप र विगतका सहमतिलाई सरकारले सकारात्मक र आशाबादी भएर हेरेको छ । भ्रमणका क्रममा मोदीले बोलेका, घोषणा गरेका र गरेका क्रियाकलापलाई व्यवहारमा उतार्न सके मात्र भ्रमणको सफलता मान्न सकिन्छ । त्यसैले उनको भ्रमण कति सफल वा उपलब्धिमुलक छ भनेर बुझ्न नेपाली जनताले कार्यान्वयनकै प्रतिक्षा गर्नु पर्ने छ ।
मोदीको ३० घण्टे नेपाल भ्रमणको पहिलो दिन जनकपुरमा बिहान पौने १० बजेदेखि शुरु भएको थियो । निर्धारित समयभन्दा करिव एक घण्टा ढिला आएका मोदीको दिनभरको कार्यतालिकामा केही ढिला भएको थियो । उनलाई जनकपुरको विमानस्थलमा अवतरण हुँदा रक्षामन्त्री ईश्वर पोखरेल स्वागत गर्न पुगेका थिए । करिब ४ किलोमिटर दूरीमा रहेको रामजानकी मन्दिरमा उनी भारतबाट ल्याइएको बुलेट प्रुफ गाडिमा गए । उनलाई जानकी मन्दिरमा स्वागत गर्न प्रधानमन्त्री ओली पुगेका थिए ।
जानकी मन्दिरमा भाषण गर्ने क्रममा मोदीले ओलीलाई दुई पटकसम्म कोली भनेर सम्बोधन गरे । नेपालले आफूलाई गरेको स्वागतप्रति खुसी रहेको बताउने क्रममा ओलीलाई कोली सम्बोधन गरेका थिए । उनले भने,‘ स्वागतका लागि यस्तो राम्रो प्रबन्ध मिलाइदिनु भएकोमा नेपालका आदरर्णीय प्रधानमन्त्री मेरा भाइसाब कोलीजीलाई धन्यवाद ।’
काठमाडौंको यात्रा नेपालको राजधानी काठमाडौं नआइ सिधै अन्य ठाउँमा पुग्ने सम्भवत पहिलो नेपालका विशिष्ठ पाहुना भए मोदी । हालसम्म नेपालमा निमन्त्रणा गरिएका विशिष्ठ पाहुनाहरू काठमाडौं नआई सिधै देशको अन्य ठाउँमा गएका थिएनन् । उनले जनकपुरमा करिब चार घण्टा बिताएर जनकी मन्दिरमा विशेष पूजा गर्नुका साथै नागरिक अभिनन्दन ग्रहण गर्नसमेत भ्याए ।
त्यसपछि ओली काठमाडौं आए । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोदीलाई स्वागत गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पुगेका थिए । काठमाडौं आएर मोदीले केही समय आराम गरे । त्यसपछि उनी ‘गार्ड अफ अनर’ ग्रहण गर्न टुँडिखेल पुगे । त्यसपछि मोदीले प्रधानमन्त्री ओलीसँग एक्लै वार्ता गरे । ओलीसँग वार्ता गरेपछि उनले पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरे ।
उक्त समारोहको अवसरमा मोदीले उद्देश्य विकास भएको उल्लेख गर्दै आपसमा हुने भ्रमणले एकअर्काको विकासबारे जानकारी हुने भएकाले प्रदेश र स्थानीय सरकारस्तरका भ्रमण पनि हुनु पर्ने बताए । ‘नेपाल–भारतबीच राजनीतिक भ्रमणको आदान–प्रदान एकदमै महत्वपूर्ण छ,’ मोदीलाई उद्धृत गर्दै एक नेताले भने, ‘तपाईँहरूले सातै प्रदेशमा सरकार बनाउनु भएको छ, स्थानीय तहमा पनि सरकार छन् ।
उहाँहरूले पनि भारत भ्रमण गरे हुन्छ । दिल्ली र बनारसमात्र होइन अन्य ठाउँमा पनि आउनुस, भारतले कसरी विकास गरेको रहेछ भन्ने हेर्न पाइन्छ ।’ शुक्रबार नै मोदी र ओलीले अरुण तेस्रोको स्वीच थिचेर शिलान्यास पनि गरे । त्यसपछि संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
भ्रमणको दोस्रो दिन दुई दिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथ पुगेका थिए । उनी भारतीय सेनाको हेलिकोप्टरमार्फत बिहानै मुक्तिनाथ पुगेर करिब साढे एक घण्टा त्यहाँ बिताए । त्यसपछि काठमाडौं फर्किएका मोदी दिनभर निक्कै व्यस्थ रहे । उनी विशेष पूजाका लागि भन्दै पशुपति पुगे र करिब आधा घण्टा पूजाआजा गरे । पूजापछि फर्किएर त्यसपछि उनले केही नेताहरूसँग भेटघाट गरे । उनलाई भेट्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत अन्य नेताहरू होटल ह्यात पुगेका थिए । त्यसपछि उनी काठमाडौं महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा पुगे । त्यहाँ करिब एक घण्टा बिताएपछि उनी भारततर्फ प्रस्थान गरेका थिए ।
काठमाडौं : गृहमन्त्री सुधन गुरुङसहित संघीय सरकारका ६ मन्त्रीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन् । हालै...
काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...
जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...