मन्त्री र सचिवको कार्यशैलीप्रति प्रधानमन्त्री आजित – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

मन्त्री र सचिवको कार्यशैलीप्रति प्रधानमन्त्री आजित

अविश्वासको भूमरीमा रुमलिँदै सरकार

काठमाडौं । दुई तिहाई बढी बहुमत पाएको नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार मन्त्री—मन्त्रीबीचको अविश्वास, सचिव, सचिवबीचको नजिक हुने होडबाजी तथा मन्त्री र सचिवबीचको समन्वय हुन नसक्दा अविश्वासको भूमिरीमा रुमलिएको छ । समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सफल बनाउन प्रधानमन्त्री ओलीले जस्तो सपना, कल्पना र योजना बनाएका छन, सोही बमोजिम उच्च प्रशासनिक र नीतिगत तहमा रहेकाहरुले काम नगर्दा सरकार नै अन्योलमा परेको हो ।

दुई तिहाई बढी बहुमतको सरकारका मन्त्रीहरुको स्पस्ट दृष्टिकोण, योजना र कार्यक्षमता नहुँदा सरकारप्रतिको जनमत घट्दै गएको छ । कतिपय राष्ट्रिय मुद्धामा प्रधानमन्त्री ओलीले बलियो उपस्थिति देखाउन दिन, रात र साँझ बिहान नभनी क्रियाशिल देखिए पनि मन्त्रीहरुको कार्यशैली भने उद्घाटन, भ्रमण, गोष्ठी र भेटघाटमै बित्ने गरेको छ ।

क्षमतावान र राम्रो क्षवि बनाएका कतिपय मन्त्रीहरुको कार्यशैली र व्यवहार कमजोर देखिए पछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि निरास बन्दै गएका छन् । मन्त्री र सचिवहरुको कार्यक्षमता र कार्यकुसलता प्रभावकारी नहुने भन्ने आशंका र सोच प्रधानमन्त्री ओलीलाई सरकारको नेतृत्व लिँदै गर्दा देखि नै नपलाएको भने होइन ।

सत्ताको बागडोर सम्हाल्ना साथ ओलीले गृह मन्त्रालय मातहतको राष्ट्रिय अनुसन्धान विभाग, अर्थ मन्त्रालय मातहतको राजश्व अनुसन्धान विभागलाई र महिला, बालवालिका तथा समाजकल्याण मन्त्रालय मातहतको अन्तराष्ट्रिय सामाजिक संस्था आइएनजीओको अनुगमन, नियन्त्रण र अद्याबधिक गर्ने अधिकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखेका थिए ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालय मातहतमा धेरै महत्वपूर्ण कार्यालयहरु राखेर शक्ति आफूमा केन्द्रीत बन्न खोजेको आरोप उनीमाथि लाग्दै आएको थियो । यस्ता आरोपका बाबजुद पनि ओलीले यी र यस्ता निकायलाई किन आफू मातहत राखे ? प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमा किन कूल बजेटको १२ प्रतिशत बजेट र अर्बौं बजेट भैपरी आउने शिर्षकमा राखे ? भनेर आलोचित नभएका होइनन् । जतिसुकै नजिकका पार्टी नेता वा क्षमतावान बिद्धानलाई मन्त्रालयको जिम्मेवारी दिए पनि काम फत्ते गर्न सक्ने ल्याकत राख्ने बिश्वास प्रधानमन्त्री ओलीमा देखिँदैनन् ।

त्यसैले उनले प्रधानमन्त्रीे भएको दुई साता भित्रै सबै मन्त्री र मन्त्रालयका सचिवलाई एकै ठाउँमा राखेर, प्रशिक्षणात्मक शैलीमा उपदेश र निर्देशन दिए । तर उनको उपदेश र निर्देशन बमोजिम कुनै मन्त्रीले सिन्को भाँचे पनि सृजनात्मक र जनतालाई आहा भन्ने काम गर्न सकेनन् । उनले मन्त्री र सचिवहरुलाई यो सरकार अरु सरकार जस्तो कमजोर नभएको, राम्रा काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्ने र काम गर्न नसक्नेहरु घर गए हुन्छ भन्ने सम्मको चेतावनी दिए ।

प्रधानमन्त्री ओलीको निर्देशनबाट मन्त्रीहरु केही हल्लिएको देखिए पनि सचिवहरु टसको मस भएका छैनन् । सबै मन्त्री र सचिवलाई १५ दिन भित्र कार्ययोजना पेश गर्न निर्देशन दिए । प्रत्येक एक महिनामा कार्ययोजनाको प्रगति विवरण पेश गर्न आदेश पनि दिए । आखिर “टाइँ टाइँ फिस” भने जस्तै हात लाग्यो । हालसम्म कुनै पनि मन्त्रीले जनताको अघि देखाउन लायक परिणाममूखि काम गर्न सकेका छैनन् ।

प्रधानमन्त्री समक्ष मन्त्रीले पेश गरेका कार्ययोजनाको समिक्षा बैठकमा प्रधानमन्त्रीले के के प्रगति भयो भन्ने विवरण माग्दा समेत एक मन्त्रीले अर्कोलाई दोषारोपण गरेको पाईएको छ । हरेक मन्त्रीले एकले अर्कालाई दोष दिने गरेका छन् । मन्त्री मन्त्री बीच र मन्त्री र सचिवबीचको अविश्वास र कमजोरी थोपर्ने संस्कार र व्यवहारबाट प्रधानमन्त्री ओली आजित भएको बालुवाटार स्रोत बताउँछ ।
प्रधानमन्त्री कार्यालयले हरेक मन्त्रालय र निकायले गर्ने कामको अनुगमन गरिरहेको छ ।

सो अनुगमन समितिको अनुगमन गर्न समेत प्रधानमन्त्री ओलीले आफ्ना विश्वास पात्र विष्णु रिमाललाई प्रशासनिक र संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङलाई नीतिगत र राजनीतिक क्षेत्रको अनुगमनको जिम्मेवारी दिएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलको क्रियाकलापबाट ओली असन्तुष्ट छन् । उनले शान्ति सुरक्षाभन्दा बढी ठेकेदारलाई धम्क्याएर प्रभावमा पार्ने, यातायात व्यवसायीलाई तर्साउने, चिकित्सकलाई गृह मन्त्रालयमै ल्याएर केरकार पार्ने व्यवहारबाट ओली निरास र असन्तुष्ट बनेका हुन् ।

अर्का भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठले समेत ठेकेदारलाई धरपकड गरेर विकास निर्माणको बातावरण नै गृह मन्त्रीले विगारेको आरोप लगाउने गरेका छन् । संविधान, कानुन र विधि विपरित कानुनी सल्लाह दिएर सरकारलाई कमजोर र असफल बनाएको आरोप खेपिरहेका शेरबहादुर तामाङले काुनन मन्त्रीबाट हात धोइ सकेका छन् भने लालबाबु पण्डितको कमजोर प्रस्तुतीबाट ओली निरास भएका छन् ।

संघीयता कार्यान्वयन गर्न प्रधानमन्त्री ओली तयार छैनन् भनेर चौतर्फी आक्षेप लागिरहँदा संघीय मामिला मन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहमा कर्मचारीलाई व्यवस्थापन गर्न नसकेको र कर्मचारी ऐच्छिक अवकास ऐन कार्यान्वयन गर्न नसक्दा पण्डितको व्यहारले ओली निरास भएका हुन् ।

उता पर्यटन मन्त्री रविन्द्र अधिकारीले ६० करोड कार्यकर्तालाई वाँडेको र फेवाताल किनारको सार्वजनिक जग्गा कब्जा गर्ने दोषीलाई नै ताल संरक्षण समितिमा राखेको भनी सार्वजनिक रुपमा उनको आलोचना भइराखेको छ ।

आफूलाई यथेष्ठ अधिकार नदिएको भन्दै उर्जा मन्त्री बर्षमान पुन वाउँठिएका छन् । पचास मेगावाट बढी क्षमताका जलबिद्युत आयोजनामा बैदेशीक लगानी भएमा विद्युत बिकास बोर्डले नहेरी प्रधानमन्त्री कार्यालय मातहतको बैदेशिक लगानी वोर्ड मातहत राखेपछि पुनः ओलीसँग चिढिएका हुन् । चीन सरकारसँग सम्झौता गरी झापा जिल्लाका मात्र ९ वटा नदी नियन्त्रणको लागि लगानी ल्याएकोमा पनि पुनः रुष्ट भएका हुन् ।

उता गृह मन्त्रीको कार्यशैलीबाट असन्तुष्ट बनेको प्रधानमन्त्री ओलीले सचिव प्रेम राईमार्फत आफ्नो योजना र निर्देशन कार्यान्वयन गराउने गर्छन् । सञ्चारमन्त्री गोकुल बाँस्कोटा र भौतिकपूर्वाधार मन्त्री रघुबीर महासेठलाई भने ओलीका विश्वास पात्र मानिन्छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवली ओली सरकारको किचन क्याविनेटकै सदस्य हुन् । उनले नै अन्य मन्त्रीको रिपोर्टिङ समेत गर्ने गरेका सूत्रको दावी छ ।

चिकित्सा शिक्षा बिधेयक तोडमोड गरी ल्याएर तीन हप्तासम्म हड्ताल, आन्दोलन र अस्थिरता निम्त्याएर सरकारलाई असफल बनाउने वाटोमा लागेको भन्दै प्रधानमन्त्री ओलीले शिक्षा मन्त्रीलाई समेत विश्वास गर्न छोडेका छन् । यसको ज्वलन्त उदाहरणको रुपमा ओलीले डा. गोविन्द केसीका प्रतिनिधि केदारभक्त माथेमा र चिकित्सक अभिशेक प्रसाद सिंहसँग आफै एक्लै र आफ्ना सहयोग राजेश बज्राचार्य र निजी चिकित्सक महिलालाई वार्ता गर्न लगाएबाट पुष्टी हुन्छ ।

शिक्षा मन्त्री पोखरेललाई विश्वास नगरेका कारण ओलीले माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठ र संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङलाई केसीका प्रतिनिधिसँग वार्ता गराएर निकास दिएका थिए ।

सिण्डिकेटको अन्त्य भयो भनेर गरेको घोषणा कार्यान्वनय नहुनु, निर्धारित समयमा सडक वा भौतिक पूर्वाधार निर्माणको काम नगर्ने ठेकेदारलाई काराबाही गर्ने र सुन तस्करी रोकी ३३ केजी सुन काण्ड र सनम शाक्य हत्या प्रकरणको छानबिनबाट एक सय बढीलाई प्रतिबादी बनाई मुद्धा अघि सारेर पनि अन्तिम किनारा नलागेको घटनाबाट प्रधानमन्त्री ओली निरासा भएका हुन् ।

सो सुनकाण्डको छानबिन गर्ने टोलीका संयोजकलाई नै प्रधानमन्त्री ओलीले अध्यागमनमा सरुवा गर्न बाध्य हुनुबाट मन्त्री र सचिव तथा उनीहरु मातहतको जनशक्तिको क्रियाकलापबाट ओली निरासा मात्र होइन, विश्वास गुमाएका छन् । माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्री र आफ्नै पुरानो दल एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरु इश्वर पोखरेल लगायतका माधव नेपाल गुटका मन्त्रीबाट असयोग भएको आशंका प्रधानमन्त्री ओलीले गरेका छन् ।

सम्बन्धित समाचार

बागमती सफाइ अभियान जारी
बागमती सफाइ अभियान जारी
  • २०७५ श्रावण १४, ०७: ५२

काठमाडौं : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो...

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०७५ श्रावण १४, ०७: ५२

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७५ श्रावण १४, ०७: ५२

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...