सभापतिमा शेखरको चाहनाप्रति शशांक लचिलो, सुजाताको असहमति: कारण सिटौला फ्याक्टर – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
कोइरालात्रयको पत्रकार सम्मेलन किन भएन?

सभापतिमा शेखरको चाहनाप्रति शशांक लचिलो, सुजाताको असहमति: कारण सिटौला फ्याक्टर



काठमाडौं । देशको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसमा संस्थापक नेता बीपी कोइराला र उनका सन्तान र नातागोताको प्रभाव बलियो र दर्विलो छ । राणा शासनबिरुद्ध बिद्रोह गरेका कृष्णप्रसाद कोइरालाका पुत्रत्रय मातृकाप्रसाद, बीपी र गिजिाप्रसाद तथा उनकै नातेदार शुशिल कोइराला कांग्रेसको सभापति मात्र होइन, मुलुकको प्रधानमन्त्री नै बने।


शुशिल कोइरालाको अवसानपछि भने कांग्रेसमा कोइराला परिवारको बिरासत धान्ने सर्बसम्मत नेता हुन नसक्दा नै विगत ६ वर्षदेखि पार्टी सभापति भएका डडेलधुराको रुवाखोलाका शेरबहादुर देउवा यही अवधीमा दुई पटक प्रधानमन्त्री पनि बन्न सफल भएका छन्।


कोइराला परिवारको उत्तराधिकारीको रुपमा बीपी पुत्र डा. शशांक, केशव र नोना पुत्र डा. शेखर र गिरिजाप्रसाद पुत्री सुजाता कोइरालाले पार्टी भित्र दाबी गरिरहेका छन्। तीन नेताहरु बेला बेला ‘हामी कोइराला परिवारका सदस्य एकै ठाउँमा छौं, हामीबीच बिबाद छैन, मिलेर पार्टीको नेतृत्व लिन्छौं’ भनीरहेका छन्। उनीहरुको एकताको प्रयास ग्लुस्टिकले टाँसेको र केही समयको अन्तरालमा उप्किए जस्तै छ ।

तीनै जनालाई संघारमै आईसकेको पार्टीको १४औं महाधिवेशनमा पार्टी नेतृत्व लिएर बिरासत धान्ने चाहना मात्र होइन, रहर पनि छ। तीनै जनाले बेला बखत भन्छन,‘शेरबहादुरलाई महाधिवेशनमा पराजित गर्न गिरिजाबाबु र शुशिलदाले भरोसा गरेको नेता कृष्ण सिटौलालाई विस्वासमा लिनै पर्छ।’ तथापी १३औं महाधिवेशनमा शशांकसँग सिटौलाको दोष्ती दूर भयो। शेखर र सुजाताले सिटौलालाई ढाडस दिए तर साथ दिएनन्।

सभापतिको दाबेबादारी गरिरहेका डा. शशांक भने सार्वजनिक मञ्जमै ‘सिटौलाजीलाई टिमममा ल्याईयो भने देउवालाई हराउन सजिलो हुन्छ’ भन्छन् तर पौडेल समूहको बैठकमा त्यस्तो विषय प्रवेश गराउन हिच्किचाउँछन्।

डा. शेखर सार्वजनिक मञ्जमा सिटौलाको नाम लिन चाहँदैनन तर आफू निकटका नेतासँगको छलफलमा ‘सिटौलाजीलाइ भूमिका र स्पेस दिनु पर्छ, उहाँ र उहाँ निकटका सबै नेतासँग हाम्रो बिचार मिल्छ’ मात्र भन्छन् । सुजाता भने पार्टीको संकट र देशको संकटपूर्ण अवस्थामा सिटौलाजीको भूमिका र योगदानको कहिले प्रसंशा गर्छिन भने कहिले जुनियर भएको, गिरिजाबाबुले गर्दा अवसर पाएको, माओबादीलाई संक्रमणकालमा बढी स्पेस दिएको’ भन्दै टिप्पणी पनि गर्छिन।

देश दौडाहामा लागेका पार्टी महामन्त्री डा. शशांक कोइरालाले सर्लाहीको हरिऔनमा सोमबार आयोजित पार्टी कार्यकर्ता भेलामा पार्टी भित्रकै गुटगत कुरा खुलासा गरे । उनले कोइराला परिवारका सदस्यबाट आफूले सभापतिमा दाबी पेश गरे पनि शेखर (काकाको छोरा)ले अन्य संस्थापनइत्तरका नेतालाई कन्भिन्स गरे बाधक नहुने बताए।

शशांकले विगत केही समयदेखि दिँदै आएको मन्तव्यभन्दा यो अभिव्यक्तिमा केही फरक देख्न सकिन्छ । उनले विगतमा देउवालाई हराउन आफू मात्रै सक्षम रहेको बताउँदै आएकोमा सोमबार सिटौलालाई आफूहरुको टिममा ल्याए मात्र सभापतिमा देउवालाई हराउन सजिलो हुने बताए।

महामन्त्री डा. कोइरालालाई देउवा नेतृत्वको कांग्रेसको करिव ६ वर्षे कार्यकालमा मौन समर्थन, घुमाउरो समर्थन र प्रत्यक्ष सहयोग गरेको आरोप लाग्दै आएको छ। तर उनले पार्टीको वडा र गाउँ नगर तहको अधिबेशन सबैजसो जिल्लामा सकिन लागेकै बेला डा. शेखरप्रति लचिलो बनेको संकेत गरेका छन् ।

डा. शशांकप्रति सुजाता कोइरालाको सम्वन्ध पछिल्ला वर्षदेखि चिसिँदै आएको छ। दुई महिना यता त उनी शशांकको बिरोधमै बोल्दै आएकी छन् । देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको चाहना राख्दै आएकी सुजातालाई संस्थापनइत्तरका नेता रामचन्द्र पौडेल र शशांकले मन्त्रिपरिषद्मा लैजान अडान नलिएको भन्दै अाक्राेसित बनेकी हुन्। उनले आफ्ना पीता गिरिजाप्रसाद विगत तीन दशकदेखिको राजनीतिक बिरासत बोकेको मोरङ्ग क्षेत्र नं एकबाट निर्वाचित नेता डा. मिनेन्द्र रिजाललाई मन्त्री बनाएकोमा रुष्ट छिन्।

कांग्रेस भित्रको राजनीतिमा र व्यक्तिगत जीवनमा समस्या आउँदा सिटौलासँग सल्लाह र सुझाव लिँदै आएकी सुजाताले यो पटक भने आफ्नै दाजुभाईलाई चक्मा दिएकी छन् । पार्टीको महाधिवेशनको लागि क्षेत्रिय अधिवेशन नभइसक्दा महाधिवेशन प्रतिनिधि नै नछानिएको अवस्थामा पत्रकार सम्मेलन गरी कोइराला परिवारका तीन नेता एकै ठाउँमा छौं भनी सन्देश दिने योजनाप्रति असहमति जनाएकी छन् ।

पार्टीको संघीय निर्वाचन क्षेत्रिय अधिवेशन २१ जिल्लाबाहेक मंसिर ६ गते तोकिएको छ । तर बुधबार बिहान महामन्त्री डा.शशांकको निवास महाराजगञ्जमा गरिने भनेको पत्रकार सम्मेलन एकाएक स्थगित हुन पुग्यो । त्यसको खास कारण थियो, सुजाताको असहमति । आफूसँग सल्लाह नै नगरी पत्रकार सम्मेलन गर्न खोजेकोमा उनको असहमति थियो ।


यता डा. शशांकले शेखरसँग आफ्नो सभापतिमा प्रतिष्पर्धा नहुने र दुई मध्ये एक जना नै सभापतिकाे उम्मेदवार बन्ने छौं भनेर शेखरप्रति लचिलो बनेको संकेत दिन खोजेको घटनाप्रति सिटौला र सुजाताले गम्भीर आशंका गरेका छन्। सभापतिमा कोइराला परिवारका शेखर र शशांकमध्ये एकलाई सघाउन तयार भएकी सुजाताले आफूलाई अवमुल्यन गर्न खोजको भन्दै महाधिवेशनमा वा महाधिवेशन पछि आफ्नो स्पेस कहाँ हुने भनेर प्रश्न गरेकी छन् । बुधबार पत्रकार सम्मेलन गर्न खाेजेपछि सुजाता पाेखरा तिर कार्यकर्ता भेटघाटमा लागेका छन् ।

पार्टी राजनीतिमा सँधै आफूलाई केन्द्रबिन्दुमा राखेर गुट र समूहलाई समर्थन र सहयोग गर्दै आएका शशांकले हतारमा शेखरलाई समर्थन गर्छू भनेर सन्देश दिन खोजेको प्रति सिटौला र सुजाताले आशंका गरेका हुन् ।२०७४ सालको आमनिर्वाचनमा प्रतिनिधिसभामा जम्मा ६३ सदस्य भएर पनि चित्त बुझाएको कांग्रेस नेतृत्वप्रति शशांकको कहिल्यै टिप्पणी आएन।

संघीय संसदको संसदीय दलको निर्वाचनमा शशांकले शेरबहादुर देउवासँग प्रतिष्पर्धा गर्न नै मानेनन् । उनले आफूलाई सर्बसम्मत संसदीय दलको नेता बनाए मात्र स्वीकार्ने वताएका थिए । पार्टीको संस्थापनइर पक्षम पदाधिकारी समेत भएका डा. शशांकले देउवासँग संसदीय दलको नेतामा टक्कर दिन नचाहेपछि पार्टीका पूर्वउपसभापति प्रकाशमान सिंहले प्रतिष्पर्धा गरेका थिए। तर सिंहलाई उनै शशांकसहित ४ जना संस्थापनइत्तर (पौडेल समूह)का सांसदले भोट हालेनन् । त्यो घटनालाई अहिले प्रकाशमानले आफू निकटका नेतासँग सम्झने र सम्झाउने गरेका छन् ।

डा. शशांकले पार्टीको महामन्त्री र उपसभापति भए पनि सिंहको जनाधार राजधानी काठमाडौं उपत्यकाबाहिर त्यति नरहेको आराेप लगाएका छन् । चार वर्षअघि सिंहलाई मत नदिएका चार नेता यतिवेला चार तिरै पुगेका छन् । डा. नारायण खड्का देउवाको रोजाईमा परराष्ट्र मन्त्री बने भने डा. मिनेन्द्र रिजाल पौडेल र शशांकको सिफारिसमा रक्षा मन्त्री बनेका छन् ।


डा. शशांकले शेखरलाई बिनासर्त एक्कासी सहयोग गर्छु भन्नुको पछि कतै सभापति देउवाको इन्ट्रेष्ट त छैन भनेर आशंका व्यक्त गरेकी छन् । सभापति देउवा निकटका नेताहरुले देउवालाई महाधिवेशनमा बलियो बनाउन संस्थापनइत्तरका प्रभावशाली नेता तथा बीपी पुत्र शशांकलाई आफ्नो समूहमा आउन वा नआएमा सघाउन प्रस्ताव गरिरहेका छन्। तर शशांक भने देउवा पक्षबाट भएकाे प्रस्तावलाइ अश्वीकार गर्दै अाएका छन्।


कांग्रेसको राजनीतिक बृत्तमा सभापति देउवाले अर्का नेता पौडेललाई सभापतिमा प्रतिष्पर्धा नगरे भावि राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव समेत गरेका छन् । देउवाले आफूलाई महाधिवेशनको पहिलो चरण वा दोश्रो चरणमा प्रवेश गर्दा समर्थन गर्ने सभापतिकाे उम्मेदवारलाइ सम्मानित पद दिने बताउँदै आएका छन्। बालुवाटार स्रोतअनुसार नेता व्यवस्थापनको लागि उपसभापतिको संख्या थप्नेदेखि सहसभापतिको पद सृजना गर्ने बारेमा पनि छलफल भएको छ। तर, यी सबै विषयमा मंसिर ७ गतेपछि मात्र छलफल हुन सक्ने स्रोतले बतायो ।


पौडेल समूहका नेताहरुले भने सिटौलालाई आफ्नो पक्षमा नल्याए फेरि १३ महाधिवेशनको जस्तै देउवालाई समर्थन गर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । कोइराला परिवारका सदस्यमध्ये सभापतिमा कसले चाहना राख्छ सोही बमोजिम रणनीति बनाउने पक्षमा सिटौला लागेका छन् ।


सिटौलाले संघीय निर्वाचन क्षेत्रको चुनावपछि प्रतिनिधिको अनुहार हेरेर महाधिवेशनमा कस्तो प्यानल कसरी घोषणा गर्ने भन्ने रणनीतिमा लागेका छन् । सिटौला समूहको बुझाईमा शशांकभन्दा शेखर सभापतिमा कमजोर उम्मेदवार बन्न सक्छन् । शेखर बलियो भन्ने स्थिति आएमा सिटौला समूहले प्रकाशमान सिंह र विमलेन्द्र निधीसँग पहिलो चरणमै गठबन्धन गर्न सक्छन्। यसअघि निधी, शशांक र सिंहबीच बारम्बार भएकाे लन्च मिटिङले प्रतिफल दिन सकेकाे छैन्।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०७८ मंसिर १, १६: १०

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ मंसिर १, १६: १०

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ मंसिर १, १६: १०

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...