काठमाडौ । तीन पार्टीमा विभाजित भएका राप्रपा, राप्रपा प्रजातान्त्रिक र राप्रपा एकीकृतबीच आइतबार हुने भनिएको एकीकरण अचानक रोकिएको छ । एकीकरणको खाका बोकेर अन्तिम वार्ता गर्न राप्रपा प्रजातान्त्रिक कार्यालय पुगेका राप्रपा अध्यक्ष कमल थापा अध्याँरो मुख लगाएर धुम्बाराही फर्केका छन् ।
तीन अध्यक्षहरु कमल थापा, पशुपति शम्सेर राणा र डा.प्रकाशचन्द्र लोहनीबीच पटकपटक छलफल भएर एकीकरणको खाका तयार भएपछि आइतबार नै एकीकरणको मिति टुंगो लगाउने तयारी थियो । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्सेर राणासँग पार्टी एकताको निर्णायक वार्ता गर्न थापा आइतबार दिउँसो प्रजातान्त्रिक कार्यालय चाबहिल पुगेका थिए ।
राणाले एकीकरणका लागि थप दुई साताको समय मागेपछि उनी निराश भएर धुम्बाराही फर्केका हुन् । थापा धुम्बाराहीस्थित पार्टी कार्यालयमा चलिरहेको बैठक छोडेर राणालाई भेट्न गएका थिए । राणालाई भेट्न जाँदा उत्साही देखिएका अध्यक्ष फर्किदा थापाको मलिन मुद्रा देखिएको राप्रपाका एक नेताले बताए ।
ती नेताका अनुुसार लोहनी पनि एकीकरण सार्ने पक्षमा देखिएका छन् । राणाले तत्काल पार्टी एकीकरण गर्ने पक्षमा त्यति इच्छा नदेखाएको हो कि भन्दै बैठकमा थापाले ब्रिफिङ गरेका थिए । त्यसपछि कुनै निर्णय नगरी बैठक सकिएको थियो । स्रोतका अनुसार एकीकृत राप्रपाको चुनाव चिन्ह गाई कि हलो राख्ने भन्ने बिषयमा समेत विवाद भएको छ । सबैभन्दा चूरो बिबाद राजसंस्थाको एजेण्डामा देखिएको छ ।
राणा वर्तमान परिवर्तनलाई स्वीकार्ने पक्षमा भएपनि लोहनीले संवैधानिक राजसंस्था हुनुपर्ने पक्षमा अडान लिएका थिए । थापा भने राजसंस्थाको बिषयमा मध्यमार्गी भूमिकामा रहेको बुझिएको छ । राणा हिन्दु राष्ट्रको पक्षमा खुलेर लागेपनि राजसंस्थाका पक्षमा भने उभिइसकेका छैनन् । उनी धर्म निरपेक्षताको बिरोधीको रुपमा देखिएका छन् ।
पार्टी एकीकरणको घोषणा गर्न लागि राप्रपाले आइतबार दिउँसो केन्द्रीय समितिको बैठक बोलाएको थियो । बैठकले एकीकरणको मिति घोषणा गर्ने बताइएको थियो । २०७३ साल फागुनमा सो पार्टीको महाधिवेशन भएको थियो । महाधिवेशनमा असन्तुष्टि जनाउँदै सो पार्टीका नेता डा.प्रकाशचन्द्र लोहनीले राप्रपा छोडेर एकीकृत राप्रपा गठन गरेका थिए । त्यसको केही समयपछि अर्का नेता पशुपति शम्सेर राणाले राप्रपा प्रजातान्त्रिक गठन गर्दै निर्वाचन आयोगमा दल दर्ता गरेका थिए । तीन पार्टीका नेताहरुबीच पटक पटक छलफल भएर एकीकरणको खाका तयार भएपछि एकीकरणको मिति घोषणा गर्न आइतबार निर्णायक बैठक आयोजना गरिएको थियो ।
पार्टी एकीकरणपछि नेतृत्व र नीति तथा कार्यक्रममा सहमति भएको भएपनि राप्रपा प्रजातान्त्रि भित्र चुनाव चिन्हलाई लिएर विवाद भएपछि एकीकरण पर सरेको एक नेताले बताए । एकीकृत पार्टीमा तीन अध्यक्ष रहने र नेता लोकेन्द्र बहादुर चन्दलाई पार्टीको संरक्षक नेता बनाईने समेत सहमति भएको थियो । तीन पार्टीमा बिभाजित भएका नेताहरुलाई ७१ सालमा महाधिवेशनपछि दिएको जिम्मेवारीमा यथावत फर्काइने समेत समति भएको थियो । पार्र्टी विधान बमोजिम केन्दीय समितिमा थापाले ५० प्रतिशत, र राणाले ५० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्न पाउने र लोहनी तर्फका नेतालाई पनि उचित स्थान दिईने सहमति भइसकेको थियो ।
काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...
काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...