महासमिति बैठकले काँग्रेसको आन्तरिक व्यवस्थापनमा ब्रेकथ्रु – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

महासमिति बैठकले काँग्रेसको आन्तरिक व्यवस्थापनमा ब्रेकथ्रु

कुन रसायनले जोड्यो देउवा र पौडेललाई ?

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक १० दिन लामो छलफल, विवाद, असन्तुष्टी र अन्तिममा नेताहरुको गणितिय व्यवस्थापनमा गएर टुंगिएको छ । महासमिति बैठकको उद्घाटन समारोहको दिनसम्म सभापति देउवा र संस्थापनपक्षको कट्टर विरोधीको रुपमा देखिएका बरिष्ठ नेता रामचन्द्र पौडेल यतिवेला उनै सभापति देउवाको सारथि बनेर यतिवेला डिनरमा रमाएका छन् ।

महासमिति बैठकले पारित गरेको पार्टीको राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, वृहत आर्थिक नीति र विधान संशोधन मस्यौदा प्रतिवेदनको विशेषता र उपलब्धीलाई नजरअन्दाज गर्दै कांग्रेसका दुई बयोवृद्ध नेता यतिवेला निकै नजिकिएका देखिन्छन् ।

उद्घाटन समारोहमा समेत सभापति देउवाबिरुद्ध तितो ओकलेको पौडेलले भाषणकै क्रममा पार्टी भित्र न्याय नपाएको र मुल्याङ्कनको पद्धति नवसाएको भन्दै नेतृत्वमाथि प्रहार गरेका थिए । कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले दुवै नेतालाई हात उठाएर एकताको सन्देश दिनुस भन्दा समेत पौडेल अर्कोतिर फर्किएका थिए ।

देउवाले हात समाएर उठाउन खोज्दा समेत नमानेका पौडेलको हिमिचिम एक्कासी देउवासँग बढ्नुलाई कांग्रेसका आम कार्यकर्ताले खुसी र उत्साहको रुपमा लिएका छन् । देउवाको पौडेललाई गर्ने व्यवहारमा समेत आमुल परिवर्तन महासमिति बैठकले नै ल्याएको छ ।

उद्घाटन समारोहमा नेता पौडेलको नाम लिँदै देउवाले आफ्नो विरोध जत्ति पनि गर्न पाएको भन्दै आफूलाई गरेजति गाली सत्तारुढ नेकपा र त्यसका अध्यक्ष केपी ओलीलाई गरेको भए हुन्थ्यो नि भनेर झर्किएका थिए । तर, उनै देउवाले महासमिति बैठक समापन समारोहमा रामचन्द्र पौडेलसँग आफ्नो डिप लभ परेको भन्दै खुसीले गद गद हुँदै पोडियममै लामो हाँसो प्रदर्शन गरेका थिए ।

महासमिति बैठकमा विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन एक साता ढिलो भएपछि धेरै ९० प्रतिशत वढी महासमिति सदस्यले प्रतिक्रिया, सुझाव वा आफ्नो विचार प्रकट गर्न पाएनन् । विधानको सैद्धान्तिक, सांगठानिक वा पद्धतिको बिषयमा नभएर पदाधिकारीहरुको संख्या र उनीहरुको निर्वाचन पद्धतिको बिषयलाई लिएर शीर्ष नेताहरुले बिबाद खडा गरेका थिए ।

महासमिति सदस्यहरुको खास चासो नै नभएको पदाधिकारीको सख्या त्यसमा पनि सहमहामन्त्रीको सख्या थपेर केन्द्रीय कार्य समितिका सदस्यलाई खुसी तुल्याउने उदेश्यले विधान संशोधन गरिएको थियो । यो संशोधित विधान महासमिति बैठकको अन्तिम दुई दिन पुस ७ र ८ गते करिव तीन सय महासमिति सदस्यको उपस्थितिमा पारित गरिएको थियो ।

पारित विधानलाई कार्यान्वयन गर्नको लागि महासमिति सदस्यहरुले बैठकमा दिएको सुझावको आधारमा सबै प्रतिवेदनमा सामान्य परिमार्जन गर्नु पर्ने हुन्छ । सोही बमोजिम सभापति देउवाले महासमिति सदस्यहरुले दिएको सुझाव बमोजिम सबै प्रतिवेदनमा संशोधन गर्न पार्टी केन्द्रीय कार्य समिति बैठक बस्ने आश्वासन दिएका थिए ।

तर महासमिति बैठक सकिएको एक साता वितिसक्दा पनि सभपाति देउवाले केन्द्रीय काय समिति बैठक बोलाउनु त परै जाओस भएका केन्द्रीय सदस्यहरुलाई समेत पुसको कठ्याँग्रिने जाडोमा केन्द्रीय प्रतिनिधि भन्दै जिल्लामा खाटाएका छन् । उनले केन्द्रीय सदस्यहरुलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा जिल्ला पठाएको भनिए पनि उनको मकसद भने केन्द्रीय कार्यसमिति बैठकलाई पर सार्ने रणनीति तय भएको बुझिन्छ ।

यसरी उमेर सात दशक कटिसकेका दुई बृद्ध नेता देउवा र पौडेलबीच के कारणले वा के रसायनले एकतामा बाँध्ने काम गर्यो भनेर कांग्रेसका नेतादेखि कार्यकर्तासम्म खुल्दुली मच्चिएको छ । दुई नेताबीचको एकतालाई कांग्रेसका केन्द्रीय तहका नेताहरुले आ आफ्नै तरिकाले बुझ्ने गरेका छन् । ७५ बर्ष उमेर काटेका पौडेल देउवाइत्तरको समूहको सर्वसम्मत नेता छाँट छैन ।

देउवाइत्तरको समूहका नेताहरु डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले आफूहरु नै सभापतिको दाबेदार भएको कुरा सार्वजनिक रुपमै बोल्न थालेपछि पौडेल रणभुल्लमा परेका थिए । आफैले नेतृत्व गरेको गुटमा अल्पमतमा पारिएको महसुस गरेका पौडेलले देउवाको शरणमा जानु आफ्नो चाहना नभएर वाध्यता भएको बताउँदै हिँडेका छन् । तर कतिपय नेताले पोडेलले देउवासँग गरेको एकता आवरणात्मक र कस्मेटिक मात्र रहको बताउँछन् ।

स्रोतका अनुसार सभापति देउवाले पौडेललाई आगामी १४ औं महाधिवेशन सभापतिमा सघाउने, चार बर्षपछि हुने आमनिर्वाचनमा प्रधानमन्त्रीको रुपमा अघि सार्ने वा राष्ट्रप्रमुखको रुपमा अघि सार्ने आश्वासन दिएका छन् । तर कतिपयले पौडेललाई देउवाले अहिले नै सभापति नदिने तर १५ महाधिवेशनमा भने सहयोग गर्ने सहमति भएको दाबी गरेका छन् ।

पौडेलले मात्र आफूलाई गुटमा कमजोर महसुस गरेका होइनन् । देउवाले समेत आफूले उत्तराधिकारीको रुपमा अघि सारेका दुई नेता विमलेन्द्र निधि र विजयकुमार गच्छदारलाई आफूले सहयोग गरेर पनि सरकार वा पार्टीको नेतृत्वमा जान नसक्ने आंकलन गरेका छन् ।

ताक परे तिवारी नत्र गोतामे भने झैं कुनै बेला २०६३ सालमा प्रतिनिधिसभा पुनस्र्थापना हुँदा नेपाली कांग्रेस प्रजातान्त्रिकको नेताको रुपमा स्थापित भएका गच्छेदारले संसदीय दलमा देउवालाई टक्कर दिएका थिए ।

दुई बर्षअघि गृह मन्त्री बनाइएका निधिले पनि आईजीपी नियुक्ति प्रकरणमा असहयोग गरेको घटनालाई स्मृतिमा राख्दै देउवाले पौडेललाई अघि सारेका हुन् । गच्छदार र निधि जसलाई आफूले अघि सारे पनि सफलता नपाउने देखेपछि देउवाले पौडेलकै काँधमा बन्दुक पड्काउन सजिलो हुन्छ भन्दै आफ्नो सारथि र सहयोगीको रुपमा पौडेललाई उपयोग गर्न खोजेको बुझिएको छ ।

कांग्रेसको संसदमा न्युन उपस्थिति हुँदा सत्तारुढ नेकपा भित्र विवाद र कलह चर्किदा पनि केह ीगर्न नसकेको र राज्यका हरेक निकायमा हस्तक्षेप गरेकाले त्यसका बिरुद्ध लड्न पनि एकता भएको देखाउनु पौडेलको बाध्यता भएको उनी निकटका नेताहरु बताउँछन् ।

पौडेल देउवाको शरणमा पुगेपछि पौडेललाई नेता मान्दै आएका र देउवाको कोपभाजनमा परेका स्थानीय नेताहरुको भविश्यको सुरक्षा कसले लिन्छ भनेर कांग्रेसमा अन्योलता पनि देखिएका छ । महासमिति बैठक सकिएपछि दिन दिनै सभापति देउवा र पौडेल दिवा र रात्री भोजको आयोजना गरिरहेका छन् ।

उनीहरुले विधानमा पारित भए बमोजिम पार्टीका हरेक संरचना निर्माण र गठन गर्न ठोस निर्णय गर्न सकेको छैन् । सभापति देउवाले विधान बमोजिम प्रदेश सभा, प्रदेश कार्य समिति, प्रदेशसभा निर्वाचन क्षेत्रिय सभा र क्षेत्रिय कार्य समिति तथा सीमा परिवर्तन भएका गाउँ, नगर, उपमहानगर, महानगर, वार्ड कार्य समितिको निर्वाचनको मिति तोक्ने बारेमा केन्द्रीय कार्य समितिबाट निर्णय गराउनु पर्ने हुन्छ ।

त्यस्तै नयाँ विधान बमोजिम टोल कार्य समिति गठन स्थानीय तहको गाउँ वा नगर वडाकार्य समिति गठन भएको दुई महिना भित्र गठन गर्नु पर्ने व्यवस्था छ । तर,त्यस सम्वन्धनमा पार्टीले केन्द्रीय कार्य समितिमार्फत निर्णय गराउनु पर्ने हुन्छ । नयाँ विधान अनुसारका २८ विभाग, अन्य समिति गठनमा समेत सभापति देउवाले कुनै चासो देखाएका छैनन् ।

सम्बन्धित समाचार

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०७५ पुष १६, ०८: ०६

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७५ पुष १६, ०८: ०६

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७५ पुष १६, ०८: ०६

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...