आन्तरिक कलहबाट छुटकारा पाएन कांग्रेसले – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

आन्तरिक कलहबाट छुटकारा पाएन कांग्रेसले

एकातिर जागरण अभियान संचालन गरिरहेको कांग्रेसले अर्कोतिर पार्टी भित्रको आन्तरिक विवाद, कललह र विवाद पनि वाहिर आएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई वर्षअघि स्थानीय तहको निर्वाचनमा पराजित वडाध्यक्षले समेत आफूलाई गाली गर्न थालेको भन्दै चुनाव हारेको दोष आफूलाई मात्र दिन नहुने भन्दै रोष प्रकट गर्न थालेका छन् ।

उनले महासमिति बैठकमा आफूले जिल्ला सभापतिका माग पुरा गर्छु भनेर प्रतिवद्धता व्यक्त गरेपनि केन्द्रीय सदस्यहरुले नमानेका कारण सम्भव नभएको बताउँछन् ।

तर यि दुवै बिषयमा असन्तुष्ट नेताहरुले भने सभापति देउवाकै कमजोरी भएको र बढी जिम्मेवारी र दोष सभापतिलेनै लिनुपर्ने बताउँछन् । आफूलाई आलोचना गरेको सहन नसकेका सभापति देउवाले आफूलाई गालि गर्नु र आलोचना गर्नुभन्दा ओली सरकारको लोकतन्त्रविरोधी क्रियाकलापबिरुद्ध बोल्न आग्रह गर्छन् ।

प्रजातान्त्रिक विचार समाजको ११औं राष्ट्रिय महाधिवेशनको शुक्रबार राजधानीमा उद्घाटन गर्ने क्रममा देउवाले स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनमा पार्टी पराजित हुनुमा आफू जत्तिकै दोषी उम्मेदवारनै भएको ठोकुवा गरे ।

उनले पार्टीभित्र बृहत एकता कायम गरेर सरकारले गरेका गलत क्रियाकलापको खबरदारी गर्ने मूल उद्देश्य लिएर देशव्यापी राष्ट्रिय जागरण अभियानमा कांग्रेस होमिएका बेला पुरानो कुरा नझिक्न आग्रह गरिरहेका छन् । उनले यस्तो अवस्थामा नेताहरुबीच बोलचालनै हुन छाडेको दुखेसो गरे ।

‘अहिले पार्टीभित्र बोलचालनै हुन छाड्यो, दुश्मनी हुन थालिसक्यो,’ सभापति देउवाले भने, ‘आफू चुनाव जित्न नसक्ने अनि मलाई गाली गर्ने ?’ आफूलाई गाली गर्न खर्चने समय ओली नेतृत्वको सरकारले गरेका गतल क्रियाकलापको विरोध गर्नमा लगाए पार्टीलाई राम्रो हुने सुझाव उनले दिए ।

देउवाले हरेकजसो कार्यक्रममा पूर्वसभापति गिरिजाप्रसाद कोइराला र शुसील कोइरालाको विरोध गर्न नसक्ने र चुइक्क बोल्न नसक्नेहरुले यतिवेला आफूलाई गाली गरेर आन्तरिक लोकतन्त्रको अभ्यास गर्न पाएको तर्क गरिरहेका छन् । पूर्वसभापति गिरिजाप्रसादले नेतृत्व गरेको सरकारको समय दुई पार्टी मिल्दा पनि चुनाव हारेको उदाहरण दिँदै दुई कम्युनिस्ट मिल्दा अहिले कांग्रेस हार्नु स्वभाविक भएको दाबी गरे । देउवा अनुशासनको कारबाही नगर्दा किन कारबावाही नगरेको भन्ने र अनुशासनको कारबाही गर्छु भन्दा पनि विरोध गर्ने नेताहरुले आफ्नो विरोध मात्र गरेको बताउँदै आएका छन् ।

सभापति देउवाले अनुशासन समितिको संयोजक बनाइएका भिष्मराज आङदम्वेले जागरण अभियानका क्रममा कुनै नेताले शीर्ष नेताको मानमर्दन हुने गरी आलोचना गरेमा विरोध गरेमा त्यसको जानकारी दिन र अनुगमन गर्न डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष योगेन्द्र बहादुर अधिकारीलाई पत्राचार गरेको घटनालाई कांग्रेसका अधिकांश नेताले निको मानेका छैनन् । उनीहरुले पार्टी नेताहरुले गरेको गलत क्रियाकलापको आलोचना गर्ननै नपाउने भन्ने समितिको पत्राचारप्रति आपत्ति जनाएका छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला, नेता डा. शेखर कोइराला, प्रदीप पौडेल लगायतले मुलुक संघीय संरचनामा गएपनि पार्टी नेतृत्वले केन्द्रीय कार्य समिति र जिल्ला कार्य समितिभन्दा अरु संरचना क्रियाशील नभएको गुनासो गर्दै आएको छन् । मुलुक संघीय संरचनामा गएर प्रदेशसभा र प्रदेश सरकार भएपनि कांग्रेसको प्रदेश स्तरमा कुनै समिति छैन । पार्टी नेतृत्वले संगठनलाई केन्द्रीकृत गर्दै लगिरहेको भन्दै उनीहरुले एकताको आधार सिद्धान्त, नीति र कार्यक्रम हुने बताउँदै आएका छन् ।

नेता डा. शेखर कोइरालाले पार्टीको सांगठानिक संरचनानै अपूर्ण भएकोले राष्ट्रिय जागरण अभियान कहाँ चलाउने भन्ने अन्योलन भएको बताउँछन् । उनले पार्टीको सांगठानिक संरचनानै नभएकोले कहाँ, कसलाई भनेर कसका लागि जागरण अभियान चलाउने ? भनी प्रश्न गरे । पार्टी नेतृत्वप्रति निकै रुष्ट बनेको डा. कोइरालाले स्थानीय गाउँपालिका र नगरपालिका, क्षेत्रिय समिति र प्रदेश कार्य समिति नभएको अवस्थामा अहिले चलाएको जागरण अभियान कार्यकर्ताको लागि भन्दा नेताको लागि उपयोगी भएको बताए ।

बुद्धिजीविलाई पढ्न लेख्न छाड्नुस भनेर दिएको अर्तिले बौद्धिक बर्गमा निरासा छाएको भन्दै कोइरालाले पार्टीमा आफू जस्ता नेताले गुट चलाएर खासै फरक नपरे पनि सभापतिले नै गुट चलाउनु दुर्भाग्य भएको बताउँछन् । पार्टीको चितवन काठमार्डौ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमा कोइरालाले सभापतिले पार्टी भित्र गुट चलाउनु र अनुशासन समितिले डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्षलाई पत्राचार गरेर नेता र नेतृत्वको आलोचना कसैले गरेमा खबर गर्न लगाउनु पार्टीको लागि दुर्भाग्य भएको बताए ।

जागरण अभियानमा पार्टीका नेताहरुको आलोचना कार्यकर्ताले गर्न नपाउने भन्नेले पारदर्शीता र प्रेस स्वतन्त्रताको कुरा गर्न नमिल्ने बताए । पार्टीलाई तदर्थबादमा नेतृत्वले चलाउन खोजेर महाधिवेशन नगरे पार्टी झन धरासयी हुने कोइरालाको आशंका छ । उनले बीपीको अनुयायी हुँ भन्नेहरुले बीपीबाट राजनीतिक संस्कार र नैतिकताको अनुशरण गर्न नसकेको जिकिर गरे ।

कोइरालाले बीपी कोइराला प्रधानमन्त्री भएपछि मेरा कमजोरीको बारेमा बिरोध र आलोचना गर भनेर पत्रिका चलाउन पैशा दिनु हुन्थ्यो तर अहिलेको नेतृत्वको बिरोधमा लेख्न त के बोल्यो भने पनि कारबाही गर्छु भनेर कार्यकर्तालाई थर्काउने गरेको गुनासो गरे । असन्तुष्ट जिल्ला सभापतिहरुले प्रधानमन्त्री ओलीले सत्ता कब्जा गर्दै गर्दा कांग्रेस सभापति र बरिष्ठ नेता रामचन्द्र पौडेल भने नेविसंघ र तरुण दल कब्जा गर्ने कसरतमा रहेको आरोप लगाउँदै आएका छन् ।

झापा, काठमाडौं, चितवन, सिन्धुपाल्चोक, ताप्लेजुंग, कालिकोट, धादिङका जिल्ला सभापतिहरुले महासमिति बैठकको निर्णय कार्यान्वयन गर्न देउवा र वरिष्ठ नेता पौडेलले भूमिका नखेलेको भन्दै आलोचना गरिरहेका छन् ।

सम्बन्धित समाचार

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७६ जेष्ठ ७, ०९: ०७

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७६ जेष्ठ ७, ०९: ०७

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७६ जेष्ठ ७, ०९: ०७

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...