
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई तिहाई बहुमतको सरकारले हालै संसद सचिवालयमा दर्ता गरेको गुठी सम्वन्धी बिधेयक यतिबेला निल्नु न ओकल्नु भएको छ । गुठीलाई व्यवस्थित गर्ने नाममा संस्थानलाई प्राधिकरण बनाउँदै नीजि गुठीलाई समेत सार्वजनिक गुठीमा परिणत गर्ने उदेश्यले आएको विधेयकको बिरोधमा काठमाडौ उपत्यकावासी आन्दोलित बनेका छन् ।
सरकारले ल्याएको गुठी सम्बन्धी विधेयकले संविधानको मर्म, भावना, प्रावधान र व्यवस्था प्रतिकूल धर्म, संस्कृति र परम्परामाथि प्रहार गरेको भन्दै धार्मिक र सांस्कृतिक संगठनहरुले पनि विरोध जनाएका छन् । नेपालको संविधानले सनातनदेखि चल्दै आएको धर्म, संस्कृतिको संरक्षणप्रति प्रतिबद्धता जनाएको र परम्परादेखि धर्म, संस्कृति, संरक्षण, सम्वद्र्धनका लागि गुठीको माध्यमबाट महत्वपूर्ण कार्यहरु हुँदै आएको अवस्थामा विधेयक ल्याइएको नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
कांग्रेस संसदीय दलले गुठी विधेयक फिर्ता गराउन गुठीयारहरु र यससँग सरोकार राख्ने सम्बन्धित सबै पक्षबाट भइरहेको आन्दोलनलाई दृढ समर्थन गर्दै संसदमा अझ शसक्त दवाव श्रृजना गर्ने निष्कर्ष निकालेको छ । शनिबार साँझ दलले संसदीय दलको कार्यालय सिहंदरबारमा गुठीसँग सम्बन्धित विज्ञहरु, गुठियार प्रतिनिधि तथा सरोकारवालासँग गरेको छलफलपछि कांग्रेसले यस्तो निष्कर्ष निकालेको हो ।
सरकारद्वारा प्रस्तुत गुठी सम्बन्धि कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकले नेपालको परम्परा, धर्म, संस्कृति र सभ्यता माथि प्रहार गरेको भन्दै सत्तारुढ दलका सांसद र नेताहरुले सार्वजनिक रुपमा अभिब्यक्ति दिएपछि सत्तारुढ दल भित्र पनि किचलो शुरु भएको । नेकपाकै सांसदहरुले समेत सरोकारवालासँग छलफल नगरी ल्यायएको बिधेयक फिर्ताको माग गर्न थालेका हुन् ।
स्थापित गुठी र गुठीको स्वामित्वलाई समाप्त गर्न सरकारले ल्याएको विधेयकको विरुद्धमा शान्तिपूर्ण रुपमा भेला भई विरोध प्रदर्शन गरेका विभिन्न गुठीका गुठीयार र आमनागरिकमाथि गत साता सरकारले वर्वरतापूर्वक आक्रमण, धरपकड गर्ने र अन्धाधुन्ध बल प्रयोग गरेपछि उपत्यकाका नेवार समुदाय क्रुद्ध बनेका छन् ।
गत साता माइतीघरमा प्रहरीले शान्तिपूर्ण रुपमा धर्ना दिएका गुठीयारमाथि गरेको दमनको घटनाले शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारमाथि ठाडो हस्तक्षेप गरेको भन्दै विरोध हुन थालेको हो । प्रमुख प्रतिपक्षी दल कांग्रेसका काठमाडौ जिल्लाबाट निर्वाचित सांसद तथा नेताहरु प्रकाशमान सिंह, भिमसेनदास प्रधान र राजन केसीले गुठी विधेयक फिर्ता गर्न सदन र सडकमा आवाज उठाएका छन् ।
सांसदहरु प्रधान र केसीले विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने र काठमाडौंवासीले सरकारलाई घुँडा टेकाउने चेतानी दिएका छन् । सांसद प्रधानले विधेयक फिर्ता नभए काठमाण्डौ जुरुक्क उठ्ने र त्यसलाई कसैले पनि रोक्न नसक्ने चेतावनी दिए ।
गुठी विधेयककै कारण संघीयतासमेत धरापमा परेको भन्दै प्रधानले प्रधानमन्त्री केपी ओली नै संघीयताविरोधीको रुपमा देखा परेको जिकिर गरे । २०६२–६३ को आन्दोलनका बेला घरमा बसेर बयलगाढा चढेर अमेरिका पुगिदैन भन्ने ओली अहिले धर्म संस्कृति मास्न लागिपरेको आरोप लगाएका छन् ।
ओलीले होली वाइन खाएको आरोप लगाउँदै प्रधानले नेपाली मौलिक संस्कृति मास्न खोजेको दावी समेत गरेका छन् । “गुठी विधेयक फिर्ता गर्नुपर्छ । फिर्ता भएन भने कुनै पनि हालतमा संसद चल्न दिँदैनौँ । ४ गतेपछि के हुन्छ हेर्दै जानुस्” प्रधानले भने ।
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...
कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...