महाधिवेशननै नभई २४ जिल्लामा पदाधिकारी – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

महाधिवेशननै नभई २४ जिल्लामा पदाधिकारी

गच्छदारसँगै कांग्रेस आएका ११ लाई केन्द्रीय सदस्य

काठमाडौं । दुई बर्षअघि नेपाली कांग्रेससँग समायोजन भएको विजय कुमार गच्छदार नेतृत्वको तत्कालिन नेपाल लोकतान्त्रिक फोरमले ११ केन्द्रीय सदस्य, छ सय जना महाधिवेशन प्रतिनिधि र २४ जिल्लामा पदाधिकारीसहित कार्यसमिति सदस्य पाउने भएको छ ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मुखमा २०७४ साल असोज ३० गते गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले नेपाली कांग्रेसमा समायोजन हुने निर्णय गरी समायोजन भएको थियो । समायोजन भएको एक बर्षपछि मात्र पार्टी सभापति शेरबहादुर देउवाले समायोजनको लागि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समायोजन समिति कात्तिक २०७५ साल कात्तिक २० गते गठन गरेका थिए ।

एक महिना भित्र समायोजनको खाका तयार गरी प्रतिवेदन बुझाउन जिम्मेवारी दिएको निधि संयोजकत्वको समितिले गत महिना मात्र प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमाथि पदाधिकारी, पूर्वपदाधिकारी र समयोजन समितिका सदस्यहरुबीच भएको सहमतिअनुसार असोज १० गते बसेको कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा पेश गरिएको प्रतिवेदनलाई पारित गरेसँगै गच्छदार नेतृत्वको पार्टी नेपाल लोकतान्त्रिक फोरम समायोजनले पूर्णता पाएको हो ।

समायोजन प्रक्रिया ढिलो हुँदा आफूसँगै आएका केन्द्रीय नेता, पदाधिकारी र कार्यकर्ता निरास भएको भन्दै गच्छदारले केन्द्रीय कार्यसमिति बैठकदेखि सार्वजनिक मञ्चमा अभिव्यक्ति दिँदै आएका थिए । संसदीय दलमा पार्टी सभापति शेबरहादुर देउवा नेतामा निर्वाचित भए लगत्तै गच्छदार संसदीय दलको उपनेतामा मनोनीत भएका थिए । संसदीय दलमा मर्यादाक्रममा दोश्रो बनाइएका गच्छदारलाई पार्टीमा भने वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का उपसभापति निधिभन्दा पछि राखिएको छ ।

सहमति अनुसार गच्छदारले ११ जनालाई केन्द्रीय सदस्यमा सिफारिस गर्ने भएका छन् । ११ जनामध्ये क कसलाई चयन गर्ने भन्ने विषयमा गच्छदारले अझै निर्णय लिईसकेका छैनन् । आँफूसँग आएकामध्ये २५ जनालाई केन्द्रीय सदस्य बनाईनु पर्ने माग राख्दै आएका गच्छदारलाई सभपाति देउवाले अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको दबाबमा भन्दै १३ जनाभन्दा बढीलाई केन्द्रीय सदस्यमा मनोनित गर्न नसक्ने अडान लिएका थिए ।

गच्छदारले आफूसँग २० हजार क्रियाशिल सदस्य भएको दाबी गरे पनि विवरण दिन सकेका थिएनन् । सहमति अनुसार गच्छदारले १३ जनाको नाम तयार गरेका थिए । तर, केन्द्रीय कार्यसमिति बैठकले ११ जनाभन्दा बढीलाई त्यस्तो अवसर दिन नहुने अडान राखेपछि ११ जनामै सहमति भएको थियो । दुई जना क सकलाई केन्द्रीय सदस्यको सिफारिसबाट वाहिर लैजाने भन्ने निर्णय गर्न नसकेका गच्छदारले पार्टी केन्द्रीय कार्यालयमा ११ जनाको नाम दिन सकेका छैनन् ।

स्रोतका अनुसार गच्छदारले आठ जनालाई केन्द्रीय कार्यसमितिमा ल्याउने लगभग पक्का भएको छ तर वाँकी तीन जना क कसलाई ल्याउने भन्ने विषयमा गृहकार्य गरीरहेका छन् । केन्द्रीय सदस्यमा जितेन्द्रनारायण देव पर्ने पक्का छ ।

तत्कालिन फोरम लोकतान्त्रिकका उपाध्यक्ष देव हाल राष्ट्रिय सभाका सांसद हुन् । उनी कम्युनिष्ट पृष्ठभूमिका नेता हुन । पञ्चायत कालमा नेकपा मानन्धरसँग आबद्ध भएका देव नेकपा एमाले, नेकपा माले, फेरि एमाले, फोरम, हुँदै फोरम लोकतान्त्रिकमा आएका थिए ।

२०४८ सालदेखि २०७० सम्म सांसद हुँदै आएका पूर्वमन्त्री रामजनम चौधरी पनि केन्द्रीय सदस्य हुने पक्का छ । फोरम लोकतान्त्रिकका उपाध्यक्ष चौधरी २०६४ अघि नेपाली कांग्रेसकै सांसद थिए उनी पनि फोरम हुँदै फोरम लोकतान्त्रिकको महासचिवबाट उपाध्यक्ष भएका हुन् । भद्रपुर नगरपालिका पूर्वमेयर भारतेन्दुकुमार मल्लिक केन्द्रीय सदस्य बन्ने पक्का छ । उनी फोरम लोकतान्त्रिकको महामन्त्री थिए । उनी नेपाल सद्भावना पार्टीबाट राजनीति शुरु गरी फोरम हुँदै लोकतान्त्रिकमा आएका हुन् ।

त्यस्तै, २०३१ सालको टिमुरबोटे काण्डका जिउँदो शहिद भनेर चिनिएका महेश कोर्मोचा पनि केन्द्रीय सदस्य हुने भएका छन् । उनी कांग्रेस छाडेर डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट फोरम लोकतान्त्रिकमा प्रवेश गरी सहअध्यक्ष भएका थिए । तत्कालिन फोरम लोकतान्त्रिकको संसदीय दलका सचेतक तथा महामन्त्री योगन्द्र चौधरी केन्द्रीय सदस्यमा सिफारिसमा परेका छन् ।

उनकै नेतृत्वमा लोकतान्त्रिक फोरमबाट आएका १५ पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला नेताले समायोजन पुरा नभएसम्म कांग्रेसका कार्यक्रममा सहभागी नहुने भन्दै विद्रोह गर्दै आएका थिए । उनको राजनीतिक पृष्ठभूमि दाङबाट शुरु भएको हो ।

मुश्लिम समुदायका नसिद सिद्धिकी, महिलाबाट यसोदा लामा र सुमित्रा थारु केन्द्रीय सदस्य हुने पक्का छ । सिद्धिकी पार्टीका संस्थापक र पार्टीका वरिष्ठ उपाध्यक्ष हुन भने लामाले दलित जनजाति पार्टीलाई नेपाल लोकतान्त्रिकमा समायोजन गरेकी थिइन् ।

बाँकी तीन जनाको सिफारिस गर्न भने गच्छदारलाई धौ–धौ परेको छ । उनी गोपाल दहित, हरि न्यौपाने, विरेन्द्र नेपाली, गणेश लामा र शिवकुमार गुर्माछानेमध्ये तीन जनालाई ल्याउन चाहन्छन् । दहित पार्टी छोड्ने धम्की दिँदै आएका नेता हुन् ।

२०५९ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द सरकारमा मन्त्री बनाएका दहित पश्चिमका थारु समुदायमा लोकप्रीय छन् । हरि न्यौपाने कानून व्यवसायी तथा पार्टीका उपाध्यक्ष थिए ।

वीरेन्द्र नेपाली कांग्रेस पृष्ठभूमिका नेता हुन । केन्द्रीय सदस्यमा गच्छदारले प्रस्ताव नगरे पार्टी छाड्ने धम्की दिएका शिवकुमार गुर्माछाने लोकतान्त्रिक फोरमका केन्द्रीय कोषाध्यक्ष थिए । गणेश लामाको नाममा भने कांग्रेसकै केही नेताले आपत्ति गरेका थिए । उनी गत प्रदेश सभा निर्वाचनमा काभ्रेबाट उम्मेदवार भएका थिए ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७६ आश्विन १३, ०७: २१

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७६ आश्विन १३, ०७: २१

काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...

आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
  • २०७६ आश्विन १३, ०७: २१

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...