काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूले सोमबार पर्वतमा एकै मञ्चमा सम्बोधन गर्न लागेका छन् ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको आयोजनामा हुन लागेको दोस्रो जिल्ला सम्मेलनको अवसर पारेर केन्द्रीय नेताहरूबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
नेपाली काँग्रेस पर्वतका अनुसार सोमबार पर्वत सदरमुकाम कुश्मा बजार स्थित लोकतान्त्रिक चोकमा हुने कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री शशाङ्क कोइराला, केन्द्रीय सदस्य चन्द्र भण्डारी, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सम्बोधन गर्न लागेका हुन् ।
कार्यक्रमको तयारीका लागि विभिन्न १५ वटा समितिहरू बनाएर काम गरिएको र सबै तयारीहरू पूरा भएका काँग्रेसले जनाएको छ । सम्मेलनमा जिल्ला कार्यसमिति, नगर तथा गाउँ, प्रदेश तथा वडा स्तरका कार्यसमितिका पदाधिकारी, सदस्य, जनप्रतिनिधि, पार्टीका विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुँदै छन् ।



