सामान चोरी भएपछि पुल निर्माण रोकियो – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सामान चोरी भएपछि पुल निर्माण रोकियो

नवलपरासी । कालीगण्डकी करिडोरमा निर्माणाधीन पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको करिडोरमा पर्ने गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरङ्ग खोलामा निर्माणाधीन पुलका सामान चोरिएको जनाउँदै निर्माण कम्पनीले काम बन्द गरेको हो ।

कम्पनीले आफ्नो करिब ४८ लाख बराबरको सामान चोरी भएको जनाएको छ । निर्माण कम्पनीका सञ्चालक अशोक लोहनीले पुल निर्माणका लागि राखिएका डण्डी, प्लाइ, पाइप, कलेम्पुलगायतका सामग्री चोरी भएको बताए ।’बुलिङटार–३ का विष्णुवीर जर्घाले मेरो सामान लैजानुभएको हो, सामान लैजाँदै गर्दा उहाँको ट्रयाक्टर दुर्घटनामा परेर मानिससमेत मरेका छन्’, उनले भने, ‘बुलिङटारमा निर्माणाधीन संरचनामा उहाँसँग सहकार्य गरेर करिब ११ लाखको काम गर्दा एक लाख ७० हजार जति रकम मैले तिर्न बाँकी थियो ।’

बाँकी रहेको पैसा पनि आफूले दिने तयारी गरिरहेको बेलामा पुल निर्माणका लागि ल्याइएको सामान जर्घाले लगेको लोहनीले आरोप लगाए । ‘मेरो सामान चोरी भएको विषयमा मैले जिल्ला प्रहरी कार्यालय नवलपुरमा ट्रयाक्टर साहुको नाममा किटानी जाहेरी दिएको छु’, उनले भने, ‘मेरो हराएको सामानको क्षतिपूर्ति नपाएसम्म मैले पुल निर्माणको काम अगाडि बढाउँदिन ।’ निर्माणाधीन पुलका सामान लैजाने भनिएका जर्घा बुलिङटार गाउँपालिका–३ का वडाध्यक्षसमेत हुन् ।

व्यवसायी लोहनीले करिडोरको तरङ्ग खोलामा २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण गर्नेगरी तीन करोड ७३ लाखमा ठेक्का पाएका थिए । पुल निर्माणको काम ६५ प्रतिशत सकिएको निर्माण उहाँको भनाइ छ । सो पुल आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा रहेको जनाइएको छ ।

बुलिङटार–३ का वडाध्यक्षसमेत रहनुभएका आरोपी जर्घाले निर्माण व्यवसायी लोहनीले आफूलाई छ वर्ष अगाडिको पैसा दिन बाँकी रहेको बताए । ‘निर्माण व्यवसायीले कालीगण्डकी करिडोरको बाटोमा पुल निर्माणको ठेक्का पाउनुभएको थियो । छ वर्ष अगाडि मेरो ट्रयाक्टर लगेर काम गर्नुभयो’, उनले भने, ‘त्यो पुल दुई वर्ष अगाडि नै निर्माण सकिँदासमेत मेरो पूरै भुक्तानी गर्नुभएन, सम्पर्कमा पनि आउनुहुँदैनथ्यो ।’ निर्माण व्यवसायी अशोक लोहनी सम्पर्कमा आएको बेला पनि पैसा दिन्छु भन्ने तर नदिने गरेको जर्घाको भनाइ छ ।

आफू जनप्रतिनिधि भएपछि आफ्नो सबै घर व्यवहार आफ्ना छोराले हेर्ने गरेको जनाउँदै जर्घाले भने, ‘छोरा गएर सामान उठाएर लिएर आउँदा ट्रयाक्टर दुर्घटनामा पर्‍यो ।’ पैसा नपाइरहेको अवस्थामा तरङ्ग खोलामा निर्माण व्यवसायीले पुल बनाइरहेको छोराले थाहा पाएर सामान उठाएर लिएर आउँदा ट्रयाक्टर दुर्घटना भएको उहाँको भनाइ छ । उनले भने, ‘पुल निर्माण भएको ठाउँबाट लोहनीको सामान ल्याएर सुरक्षित राख्ने र पैसा दिएपछि फिर्ता गर्ने उनीहरूको योजना थियो ।’

तरङ्ग खोलामा पुल निर्माणका लागि राखिएको सामान चोरी भएको विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको र त्यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले निर्माण कम्पनीले हालेको उजुरीका विषयमा दुवै पक्षले न्याय पाउने गरी समाधान खोजिने जानकारी दिए ।’समान हराएको विषयमा उजुरी परेको छ, सामान लगेको भनिएको व्यक्तिलाई समेत निर्माण पक्षले केही रकम तिर्न बाँकी रहेछ’, उनले भने, ‘सामान लैजाँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेर मान्छेको मृत्यु भएको छ, पहिले यो मुद्दामा चालकमाथि अनुसन्धान अगाडि बढाएका छौँ ।’

दुर्घटनामा मान्छे मरेको मुद्दाको छिनोफानो भएपछि चोरीका विषयमा अनुसन्धान अगाडि बढाइने सूचना अधिकारी पौडेलले बताए । तरङ्ग खोलामा पुल निर्माणका लागि राखिएको सामान लैजाँदै गरेको लु४त २३१३ नम्बरको ट्रयाक्टर गत माघ ४ गते साँझ जिल्लाको बुलिङटार१ मोजडाँडामा दुर्घटना भएको थियो । कालीगण्डकी करिडोरबाट करिब एक सय मिटर तल खेतमा खसेको ट्रयाक्टरले नै थिचेर ट्रयाक्टरमा सवार बुलिङटार–३ का ३५ वर्षीय चन्द्रबहादुर दर्लामीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा सोही ट्रयाक्टरमा सवार बुलिङटार–३ का ४० वर्षीय धनबहादुर नेपाली र २८ वर्षीय मीनबहादुर सार्की घाइते भएका छन् । दुर्घटनामा सकुसल रहेका ट्रयाक्टर चालक बुलिङटार-३ का २१ वर्षीय धनबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको सूचना अधिकारी पौडेलले बताए ।

 

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ ९, १०: २५

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ ९, १०: २५

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ ९, १०: २५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...