भैँसीपालनबाट मनग्य आम्दानी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

भैँसीपालनबाट मनग्य आम्दानी

दाङ । दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवको पुख्र्यौली पेसा भैंसीपालन हो । उनले भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आएका छन् । उनले यसैको आम्दानीबाट घरपरिवारको खर्च पनि चलाउँदै आएका छन् । परम्परागत पेसालाई व्यावसायिक बनाउँदै लगेका उनले भैंसीपालनबाट दूध र दही बिक्री गरेर पछिल्लो समय एक लाख ५० हजारसम्म मासिक आम्दानी गर्दै आएका छन् ।

साना–ठूला गरेर ७२ भैंसीपालन गरेका उनले दूध र दही बिक्री गरेर २३ सदस्य परिवारको खर्च जुटाउनका साथै बचत गरेर जग्गा समेत किनेको उनको भनाइ छ । उनले भने, ‘हाम्रो मुख्य आम्दानी नै भैँसीपालन हो, दूध, दही र घिउ बिक्री गरेर घर व्यवहार चलाउनेदेखि बचत समेत गर्ने गरिरहेको छु ।’ ती भैँसीमध्ये १७ भैँसीले दूध दिने र दैनिक करिब ६० देखि ७० लिटरसम्म दूध बिक्री गर्दै आएको उनले बताए ।

उनका भाइ टेकबहादुर यादवले लमही बजारसम्म पुर्‍याएर दूध बिक्री गर्ने काम गर्दै आएको बताए । घरका अन्य सदस्यले पनि काममा साथ दिएको उनी बताउँछन् । विदेशमा अर्काको अधिनमा बसेर काम गर्नुभन्दा आफ्नै ठाउँमा घरपरिवारसँगै बसेर भैँसीपालन गर्दा राम्रो आम्दानीसँगै सन्तुष्ट रहेको उनी बताउँछन् । उनीसँग वैदेशिक रोजगारको समेत अनुभव छ ।

उनले भने, ‘विदेशमा १२ घण्टा दैनिक काम गर्दा महिनामा रु ६०–७० हजारसम्म कमाई हुन्छ, त्यो कमाइमा विदेशमा बसिरहन मनले मानेन र एक वर्षमै फर्किएँ, भैंसी बढाएर पाल्दै आएको छु । आम्दानी पनि राम्रै भइरहेको छ ।’ दूध बिक्री गरेर भएको आम्दानीको आधा रकम भैँसीका लागि दाना, घाँस र औषधिमा लाग्ने गरे पनि बाँकी रकम नाफा हुने गरेको उनी बताउँछन् ।

गाउँमा सबैभन्दा धेरै भैँसीपालन गर्ने किसानका रूपमा रहेका यावदले लाखौं खर्च गरेर विदेशमा काम गर्नुभन्दा आफ्नै ठाउँमा परिवारसँग बसेर पैसा कमाउन सकिने अरुलाई समेत सुझाव दिन्छन् । त्यसका लागि आफूमा आत्मविश्वास हुनुपर्ने उनी बताउँछन् । उनले भने, ‘विदेशमा दिनमा १२ घण्टासम्म काम गर्नेले आफ्नो ठाउँमा पनि त्यहीअनुसार मेहनत गर्न सके कमाई गर्न सकिन्छ ।’

भैंसीपालनबाटै राम्रो आम्दानी गरिरहेका यादवले सरकारबाट अहिलेसम्म कुनै प्रकारको सहयोग प्राप्त नगरेको गुनासो गर्दै भने, ‘अहिलेसम्म जे–जति गरेको छु, सबै आफ्नै मेहनत र परिश्रमबाट गरेको छु । कतैबाट कुनै सहयोग लिएको छैन ।’ कतैबाट सहयोग प्राप्त नभए पनि आफ्नै मेहनतले पुर्ख्यौली पेसालाई व्यवस्थित गर्दै लग्ने सोचमा रहेको उनी बताउँछन् ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ १७, ११: ४६

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १७, ११: ४६

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ १७, ११: ४६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...