सरकारबाट बाहिरियो माओबादी, एमाले–कांग्रेस भागबण्डा – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
१७ वर्षपछि सत्तावाट विमुख हुँदा रन्थनिए प्रचण्ड

सरकारबाट बाहिरियो माओबादी, एमाले–कांग्रेस भागबण्डा

काठमाडौं । २०६३ साल वैशाख ११ गते प्रतिनिधि सभा पुनस्थापनाको घोषणासँगै भूमिगतबाट अर्धभूमिगत हुँदै खुल्ला प्रतिष्पर्धात्मक राजनीतिमा प्रवेश गरेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओबादी एक महिनाकै अवधिमार सरकार सत्तावाट बढारिन थालेको छ ।

मूलधारका राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले एवम् क्षेत्रिय दल तत्तकालिन मधेशी जनअधिकार फोरमको सहारा र समर्थनलाई सत्ता आरोहणको सिँढी बढाउँदै सरकारको स्वाद लिइरहेको माओबादी गत असार २८ गतेदेखि सत्ताबाट वाहिरीन शुरु गरेको हो । २०६६ र २०७१ सालमा दुई पटक मात्र मन्त्रिपरिषद्बाट वाहिरिएको माओबादी यो पटक भने संघीय सरकार, प्रदेश सरकार र सत्ताका राजकिय पदबाट समेत वाहिरीन शुरु गरेको छ ।

अन्य दललाई प्रयोग गर्दै सत्तामा रुमलिएका पूर्वप्रधानमन्त्री दाहाल सत्ताबाट विस्थापित भएको एक महिना नपुग्दै माओबादी दलको समर्थन, सहयोग र सिफारिसमा राजकीय पद, संवैधानिक निकाय र राजनीतिक नियुक्ति लिएकाहरु समेत पद र अवसरबाट बञ्चित हुन थालेका छन् ।
माओबादीलाई सत्ता बहिर्गमनका लागि संघीय संसद र प्रदेश सरकारमा पहिलो र दोश्रो हैसियतमा रहेका नेपाली कांग्रेस र एमालेबीचको सहकार्यपछि माओबादी निकट तीन जना प्रदेश प्रमुखलाई सरकारले विदाई गरेको छ । गत साता मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् वैठकले माओबादीका पूर्वनेता समेत रहेका लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, माओबादीबाट मन्त्रीसमेत भईसकेका कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र नेकपा एस निकटका बागमति प्रदेश प्रमुख यादव शर्मालाई हटाएको छ । उनीको ठाउँमा तीनै जना कांग्रेस निकटका व्यक्तिहरुलाई प्रदेश प्रमुखमा सिफारिस गरिस गरी पदभार समेत सम्हाली सकेका छन् । सरकारको सिफारिस बमोजिम बागमती प्रदेशमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीले जिम्मेवारी सम्हाली सकेका छन् ।

डेढ महिना अघि मात्रै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले फिर्ता वोलएका १२ जना राजदूतमध्ये ८ वटा देशमा राजदूत नियुक्तिको लागि सिफारिस गरिएको थियो । तर त्यो सिफारिस कार्यान्वयन नहुँदै कांग्रेस –एमाले समिकरणको सरकारले माओबादी र नेकपा एस निकटका विदेशस्थित राजदूतहरुलाई समेत फिर्ता वोलाई एक साता अघि मात्रै १८ देशमा राजदूत सिफारिस गरेको छ । त्यसमा दुई जना परराष्ट्र मन्त्रालयका प्रथम श्रेणीका कर्मचारीवाहेक १६ जना सबै कांग्रेस र एमाले निकटकालाई राजदूतमा सिफारिस गरिएको छ ।

माओबादी प्रदेश सभा सदस्यहरु तीन जना अझै पनि गण्डकी लुम्विनी र सुदूरपश्चिम प्रदेशमा सभामुख छन् । उनीहरुलाई प्रदेश सभाले महाभियोग वाहेक अन्य विधिबाट हटाउन नसक्ने भएकाले उनीहरुको पद भने गुम्ने वा नगुम्ने निश्चित छैन । गण्डकीमा चुमान कृष्णप्रसाद धिताल, लुम्विनीमा तुलााराम घर्तीमगर र सुदूरपश्चिममा माओबादी सांसद सभामुख छन् ।

यसैगरी कर्णाली प्रदेशमा दोश्रो ठूलो दलको हैसियतमा रहेको माओबादी सत्ताबाट यही साता वाहिरिएको छ । नेकपा एमालेबाट मुख्यमन्त्री भएका यामलाल कँडेलले प्रदेश मन्त्रीमा रहेका माओबादीका ४ जनालाई हटाई सकेका छन् भने आइतबार मात्र कांग्रेसका चार जना प्रदेश सभा सदस्यलाई मन्त्री नियुक्त गरेका छन् । प्रदेश सांसद तथा पार्टी केन्द्रीय सदस्य राजीव विक्रम शाह आर्थिक मामिला तथा योजना मन्त्री, घनश्याम भण्डारी सामाजिक विकास मन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र विजया बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरूले आइतबार नै पदभार ग्रहण गरेका छन् । ८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ कांग्रेसले पाएको छ । ४० प्रदेश सभा रहेको कर्णालीमा १४ सांसदसहित कांग्रेस पहिलो दल हो भने एमाले १० सांसद सहित तेश्रो ठूलो दल हो। कर्णालीमा माओबादी केन्द्रका १३, राप्रपा, नेकपा एकीकृत समाजबादी र स्वतन्त्र गरी १–१ जना सांसद छन् ।

यसैगरी, नेकपा एकीकृत समाजबादीबाट मुख्यमन्त्री भएका दीर्घराज सोडारीले शुक्रबार पदबाट राजिनामा दिएसँगै माओबादी केन्द्रबाट मन्त्री भएकाहरु पनि वाहिरिएका छन् । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाह नियुक्ति भएका छन् । मुख्यमन्त्रीको रुपमा शाहले सुदूरपश्चिमका प्रदेश प्रमुख नाजिर मियाँसमक्ष आइतबार नै दाबी पेश गरेका थिए । यो प्रदेशमा कांग्रेस, नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टी मिलेर सुदूरपश्चिममा कांग्रेसका शाह नेतृत्वमा सरकार गठनको तयारी गरेका छन् । ५२ सदस्यीय सुदूरपश्चिम प्रदेशमा कांग्रेसको १८, एमालेको १० र नाउपाका ७ सांसद रहेका छन् । -नयाँ विकल्प साप्ताहिकबाट

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ श्रावण २१, १६: २६

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ श्रावण २१, १६: २६

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ श्रावण २१, १६: २६

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...