
१. इस्वी सन् २०२४ को अन्त्य हुनै लागेको छ । यो वर्ष संसारका ठुला प्रजातन्त्रहरुमा निर्वाचन भएका छन् र तिनले प्रजातन्त्रको जगलाई थप मजबुत गराएका छन् । खासगरी भारत, बेलायत,अमेरिका र जापान जस्ता देशमा भएका निर्वाचनले जनताको विचारको प्रतिनिधित्व गर्ने मुख्य औजार आम निर्वाचन नै हो भन्ने देखायो । को प्रधानमन्त्री भयो, को राष्ट्रपति भयो र त्यसले त्यो सम्बन्धित देशमा कस्तो प्रभाव पारेको छ भन्ने पनि मूल्याङ्कन हुन्छ तर त्यसको भन्दा बढी मूल्याङ्कनचाहिँ सावधिक निर्वाचन बेलामा भयो कि भएन भन्ने महत्वपूर्ण हुन जान्छ । कतिपय देशमा जनताको धारणा मध्यावधिरुपमा बुझ्न पनि त निर्वाचन नै मुख्य औजार हो ।
२. सन् २२ को सुरुबाट नै सुरु भएको रुस र युक्रेनको युद्धले अझै पनि समाप्त हुने सङ्केत देखाएको छैन जवकि बेला मौकामा मध्यस्थता गरेको पनि देखिन्छ र युद्ध विराम हुन्छ कि भन्ने पनि भान पर्छ । रुसका राष्ट्रपति भ्यादिमिर पुटिनको अर्को देशको सार्वभौमसत्ताप्रतिको हस्तक्षेपसहितको दबदबा नमान्ने युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको हिम्मत मान्नैपर्छ र आजसम्म रुससँगको युद्धमा टिकिरहनु पनि ठुला उपादेयता मानिन्छ एकातिर भने युक्रेनमा जुन क्षति भइरहेको छ , त्योभन्दा जेलेन्स्कीको क्षमता वृद्धिको प्रशंसा भइरहेको छ । यसमा पनि २०२४ले मलम लगाउन सकेन ।
३. यही २४मा नै सिरियाको निरंकुश शासक बसर अल असदको शासनको अन्त्य गरे सिरियाली जनताले । असदको पछिल्तिरको शक्ति भनेको रुस थियो र सिरियाका विद्रोहीहरुको शक्ति भनेको निश्चित कोही नदेखिए पनि अमेरिका र पश्चिमा थिए भन्ने मात्र अनुमान लगाउन सकिन्छ किनभने त्यहाँको संक्रमणकालीन अवस्था नाजुक छ र यसले सिरियाको अस्मिताको समेत प्रश्न उठाउन थालेको छ । कारण हो सत्तामा आएका विद्रोही समूहहरुमा एकता नहुनु र पुरातनपन्थीहरुको जगजगी हुने सम्भावना देखिनु । लाग्छ , २४ले सुरु गरेको प्रजातन्त्रीकरणले स्वरुप देखाउन समय लाग्ने छ ।
४. २०२३बाट सुरु भएको हमास र इजरायलका बिचको युद्धले अझै शान्तिको रुप लिन सकेको छैन तर २०२५को सुरुवातमा भने यसले मूर्तरुप लिने देखिन्छ । तर पनि हमासबाट सुरु गरिएका हिंसात्मक आक्रमणले हजारौँ फिलिस्तिनीहरु मारिए र लाखौँको बिचल्ली पारेको छ । हिजाबुल्लाहरुको नेक्ससलाई समाप्त पार्न इजरायल कटिबद्ध देखिन्छ जसको मारमा लेबनान र इरानसमेत परेका छन् । अहिले सिरियामा समेत इजरायलले बेलामौकामा आक्रमण गरेको पाइन्छ ।
५. कोरियन प्रायःद्वीपको विवाद यथावत् छ र प्रजातन्त्रको पक्षमा उभिने दक्षिण कोरियाको स्थिरता अहिले अस्थिर देखिएको छ जसको अन्तिम परिणाम भनेको भावी निर्वाचन नै हो । पूर्व राष्ट्रपतिले लगाएको मार्सल ल फिर्ता हुनु र उनलाई महाभियोग लगाउनु त ठिक थियो होला तर अहिलेका प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपतिमाथि पनि महाभियोग दर्ता गराएर दक्षिण कोरियामा राजनीतिक अस्थिरता थपिएको छ जसको फाइदा उत्तर कोरियाले लिनसक्छ भन्ने अनुमान छ ।
६. र अन्तमा, सन् २०२४मा पत्रकारिताका लागि पनि संसारभरि राम्रो अवस्था रहेन । धेरै पत्रकारहरु मारिएका छन् र कतिपय पत्रकारहरु जेलमा कोचिएका छन् । आशा गरौँ २०२५ आशाको दियो भएर देखा परोस् , संसारमा शान्ति पुनर्वहाली होस् र शक्ति राष्ट्रहरुले जलवायु न्यायका पक्षमा आफूलाई उभ्याऊन् र सबै देशहरुमा आपसी सम्बन्ध सुध्रियोस् । २०२५को शुभकामना ।
(नयाँ विकल्प साप्ताहिकमा प्रकाशित)
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...
कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...