हङकङलाई डीएलएसमा १९ रनले हराउँदै नेपाल एसियन गेम्स छनोट च्याम्पियन – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

हङकङलाई डीएलएसमा १९ रनले हराउँदै नेपाल एसियन गेम्स छनोट च्याम्पियन

काठमाडौँ । सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअनुसार १९ रनले पराजित गर्दै उपाधि जितेको छ।

जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सका लागि आयोजित छनोट प्रतियोगिताको फाइनलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भयो। यसअघि नै सेमिफाइनलमा पुगेका नेपाल, हङकङ, मलेसिया र ओमान एसियन गेम्सका लागि छनोट भइसकेका थिए।

फाइनलमा १८९ रनको लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो। त्यसबेला कप्तान दीपेन्द्रसिंह ऐरी ४ बलमा ९ रन र रोहितकुमार पौडेल २४ बलमा ३५ रन बनाएर क्रिजमा थिए। ओपनर कुशल भुर्तेलले ४० बलमा ८ चौका र ३ छक्कासहित शानदार ६५ रन बनाएका थिए भने आसिफ शेख पहिलो बलमै आउट भएका थिए।

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो। उसका लागि अंशुमन राथले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८० रन बनाए भने शाहिद वासिफले २८ बलमा ५५ रनको आक्रामक योगदान दिए। शिव माथुरले २६ रन जोडे।

नेपालका बलरमध्ये शेर मल्ल चम्किए। उनले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट हात पारे। एक समय १८ ओभरमा १७९/५ को बलियो अवस्थामा रहेको हङकङलाई नेपालले अन्तिम ओभरहरूमा दबाबमा राख्दै ठूलो स्कोर बनाउनबाट रोक्न सफल भएको थियो।

वर्षाले खेल प्रभावित भएपछि डीएलएस पद्धतिअनुसार नेपाल १९ रनले विजयी घोषित भयो र प्रतियोगिताको उपाधि आफ्नो नाममा पार्न सफल भयो।

सम्बन्धित समाचार

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०८३ जेष्ठ २५, १९: ४१

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...

काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
  • २०८३ जेष्ठ २५, १९: ४१

काठमाडौं : सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ । काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै...

एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौं–सुदूरपश्चिम र जनकपुर–चितवन भिड्दै
एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौं–सुदूरपश्चिम र जनकपुर–चितवन भिड्दै
  • २०८३ जेष्ठ २५, १९: ४१

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो...