मानिसले आफ्नो कार्यलाई जीवन्त राख्न सक्नुपर्छ – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

मानिसले आफ्नो कार्यलाई जीवन्त राख्न सक्नुपर्छ

राष्ट्रिय–अन्तर्राष्ट्रिय कला र सञ्चारको संसारमा सागरिका श्रेष्ठ नौलो नाम होइन, उनी लोकप्रिय–चर्चित टेलिभिजन प्रस्तोता हुन् । सवैभन्दा बढी पारिश्रमिक लिने भएता पनि नेपालमा कुनै बेला उच्च स्तरको कार्यक्रम उद्घोषण–सञ्चालन, मोडलिङ, विज्ञापन मोडलिङ, रेडियो–टेलिभिजिन कार्यक्रम सञ्चालनमा सागरिकाकै एकछत्र राज चल्यो । हुँदाहुँदा अमेरिकालगायत विश्वका विभिन्न मुलुकमा आयोजना हुने कार्यक्रमसम्ममा उनकै आतिथ्यता रहन थाल्यो । अन्ततः सागरिका आफ्नो विधा–क्षेत्रकै विषयमा उच्च अध्ययनसँगै थप अनुभव बटुल्न अमेरिका पुगिन् । प्रस्तुत छ– हाल न्यूयोर्कस्थित राज्य सभा सहायक सञ्चार संयोजक रहेकी सागरिकासँग ओमप्रकाश राउतको संवादः

आफ्नो विगत कसरी नियाल्नुहुन्छ ?
म काठमाडौंको सामान्य परिवारमा जन्मेहुर्केको व्यक्तिे हुँ । सानैदेखि अलि जिज्ञासु र पृथक स्वभावकी थिएँ । मैले सुरुमा सेन्ट मेरी हाइस्कूल पढें । त्यसपछि एस इन्ष्टिच्युट अफ म्यानेजमेन्टमा स्नातक अध्ययन गरें । अनि एस.आइ.यू.ई.बाट एप्लाइड कम्युनिकेसनमा स्नातकोत्तर गरेकी छु । पछि न्यूयोर्कको येशिवा विश्वविद्यालयबाट पनि डिजिटल मार्केटिङ र मिडिया विषयमा स्नातकोत्तर गरेकी हुँ । पहिलेबाटै पत्रपत्रिका पढ्ने, एफएम–टिभी सुन्ने–हेर्ने गर्दथें ।

घर, टोलछिमेकको पूजाआजा, जात्रा, विहेबटुलो, चाडपर्वमात्रै आदि र विद्यालयमा आयोजना गरिने हरेक कार्यक्रममा पनि आकर्षकको केन्द्र बन्थें । त्यतिबेला विद्यालयमा आयोजना हुने कार्यक्रममा समेत उद्घोषक नै बन्थें । त्यही भएकाले नै होला मेरो पहिलो रोजाइ नै सञ्चार क्षेत्र हुन पुग्यो । पछि त्यसभित्र पनि कार्यक्रम सञ्चालनमा धेरैले रुचाउँदा कार्यक्रम सञ्चालक–प्रस्तोता बनेको हुँ । अहिले टेलिभिजन प्रस्तोताको सूचिमा पहिलो नम्वरमा आफूलाई पाउँदा अत्यन्त हर्षित हुन्छु ।

यही क्षेत्र रोज्नुको कारणचाहिँ के ?
कतिपय कुरा जीवनका अभिन्न हुन्छन् । मेरा लागि पत्रकारिता यस्तै बन्यो । स्वभवतः मानिसमा सञ्चार, मनोरञ्जनप्रति रुची त हुन्छ नै । र त यसमा झुकाव बढ्दै जाने हो । पहिले रहरले, अहिले यो पेशा भनुँ वा यो विधामा व्यावसायिक रुपमा छु । यो पेशा रोजेबाट सैद्धान्तिक–व्यवहारिक ज्ञान हासिल गरेर अन्ततः पत्रकारितामा नै भविष्य खोज्न थालें । अहिले मेरो सोच केही हदसम्म पूरा भएको छ, यसमा खुसी छु ।

सञ्चार क्षेत्रबाटै प्रस्तोतालगायतको दुनियामा पुग्नुभयो, यात्रा श्रृंखलाबारे बताइदिनुहोस् न ?
सुरुमा ‘रेडियो होस्ट’ अनि ‘नेपाल’मा स्वतन्त्र सम्पादक भएर काम गरें । त्यसपछि सन् २०१५ मा ‘काष्ठमण्डप टेलिभिजन’ पुगें । त्यहाँ मैले मार्च २०१५ देखि डिसेम्बर २०१६ सम्म काम गरें । ‘काष्ठमण्डप टेलिभिजन’मा मैले सुरुमा नै ‘फेबुलस फ्राइडे’ नामक कार्यक्रममार्फत् काठमाडौंको मनोरञ्जनात्मक दृश्यलाई मज्जासँग उजागर गरिदिएँ । त्यसको जीवन्त सामग्रीले दर्शकहरूलाई मोहित तुल्यायो । त्यसपछि अर्को उत्साहजनक ‘गेम शो’ ‘रोड राइडर्स’ सञ्चालन गरें । त्यसले पनि दर्शकहरूलाई रोमाञ्चक चुनौतीहरू र मनोरञ्जन प्रदान गर्यो ।

यतिसम्म कि मैले त्यो कार्यक्रमलाई टिभि सवैभन्दा उत्कृष्ट बनाएँ । त्यसपछि कार्यक्रमसँगै मेरो पनि चर्चा बढ्यो । यस्तयस्तैमा म फेब्रुअरी २०१७ मा ‘कान्तिपुर टेलिभिजन’मा गएँ । त्यहाँ दैनिक लाइभ सनसनी ‘कल कान्तिपुर’ होस्ट गरें । यसले विश्वव्यापी नेपाली ‘डायस्पोरा’सँग सम्बन्ध स्थापित गरायो । १७०० देखि १८०० घण्टासम्म प्राइम–टाइममा प्रसारण गरियो । यससँगै विभिन्न ‘च्याट शो’हरू, मनोरञ्जनात्मक कार्यक्रमहरू र जीवनशैली प्रदर्शनहरू होस्ट गरें । यसमा सम्मानित ‘डाक्टर कान्तिपुर’, हृदयस्पर्शी ‘के आजा घर मै’, महत्वाकांक्षी ‘गेट सेट गोल’, जीवन्त ‘कल कान्तिपुर क्वारन्ट्युन्स’, साहसिक ‘वुडमान्डु’, र उत्सव ‘हियर इज टु लाइफ’ समावेश थिए । मैले ‘कान्तिपुर’मा २०२१ सम्म काम गरें । त्यो बेला ‘कान्तिपुर टिभी’ लगायत अन्य विभिन्न ‘मिडिया’हरूका लागि पनि ‘भ्वाइस ओभर’ गर्दथें । त्यसपछि त मैले आफ्नो जिन्दगीलाई सार्थकत मशसुस गर्न थालें ।

धेरै भिडियो र विज्ञापनहरूमा पनि छाउनुभयो नि ?
हो, आए नै । मैले दर्जनौ भिडियो, विज्ञापनमा अभिनय गरेको छु । विशेष महत्वका सार्वजनिक कार्यक्रमहरू उद्घोषण–सञ्चालन पनि गरेको छु । सवैमा राम्रो र व्यवसायिक सफलता समेत हासिल भएका छन् । यस्तै, बहुर्राष्ट्रिय कम्पनीहरू, व्यापारिक घरानाहरू र सरकारी–गैरसरकारी विभिन्न संघ–संस्थाहरूको विज्ञापनमा अभिनय गरें । जस्तो कि अमेरिकी राजदूतावास, टाटा अटोमोबाइल, केआईए अटोमोबाइल, सामसुङ, कतार एयरवेज, थाई एयरवेज, रेनो, हुन्डाई, सुजुकी, महिन्द्रा, यामाहा, कोकाकोला, प्यानासोनिक, लायन्स क्लब, एचपी, होन्डा, कुबेर ज्वेलरी, रोथो एक्नेस क्रिम, पार्ले टप बिस्कुट, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, इनोभेट बुटिक, नारी मासिक लगायत छन् ।

त्यस्तो लोकप्रियताबाट किन एकाएक टाढा हुनुभयो त ?
बिल्कुलै टाढा भएको होइन, सन् २०२१ पछि अब राष्ट्रियमात्रै भएर हुँदैन भनेर थप अगाडि बढेको हुँ । निश्चित, साँघुरो घेराबाट बाहिरिएको हुँ, पेशा, लक्ष्य र भविष्यबाट होइन । अध्ययन थप्न र पेशागत दायरा फराकिलो पार्नतर्फ लागेको हुँ । यही क्रममा न्यूयोर्क आएँ । न्यूयोर्ककै येशिवा विश्वविद्यालयबाट पनि डिजिटल मार्केटिङ र मिडिया विषयमा स्नातकोत्तर गरें । अनि यहाँकै राज्य सभा कार्यालयमा सहायक सञ्चार संयोजक भएर काम गर्न थालेको हुँ ।

तपाईं अहिलेसम्म कुनै संघसंस्थाको महत्वपूर्र्ण भूमिकामा हुनुहुन्छ ?
छु । म आफ्नो पेशागत र अन्य विभिन्न सामाजिक संघ–संस्थामा पनि आवद्ध छु । जस्तो कि म प्रशिक्षण सेवा (सेन्ट मेरी हाई स्कूल), सामाजिक सेवा क्लब (सेन्ट मेरी हाई स्कूल), वातावरणीय क्लब (सेन्ट मेरी हाई स्कूल), सामाजिक सेवा क्लब (उपाध्यक्ष) (ट्रिनिटी इन्टरनेशनल कलेज)–२०१३, (सम्पादक) ‘इन्टेलेस्कोप म्यागजिन’ (इन्टेल, ब्रिज कोर्स)–२०११, ‘इन्फिनिटी’ (कलेज म्यागजिन, सम्पादक–ट्रिनिटी इन्टरनेशनल कलेज)–२०१३, प्रस्तुतकर्ताको रूपमा (एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, विजेता)–२०१४ लगायतको नेतृत्वमा रहें ।

अहिलेसम्म कामको कत्तिको कदर भएको पाउनुभएको छ ?
उच्च कदर–मूल्यांकन भएको ठानेको छु । डीनको अनुसन्धान छात्रवृत्ति–येशिवा विश्वविद्यालय–२०२३, स्नातक विद्यार्थी नेता पुरस्कार–२०२३, स्नातक विद्यार्थीहरूको लागि अनुसन्धान अनुदान–२०२२, स्नातक विद्यार्थीको लागि कला र विज्ञान कलेजको लागि मिक्किलिनेनी परिवार छात्रवृत्ति, सम्मान दिवस–२०२२, ७२औं वार्षिक सम्मेलन २०२२ का लागि माइकल हेली यात्रा आदि पाएको छु । यसलाई अवमूल्यन गर्न सकिन्न । यतिमात्रै होइन, फेरि, मेरो काम, कला र क्षमता देखेर केही संस्थाहरूले अनुदानसमेत प्रदान गरेका छन् । जसमा ‘एसआइयुइ’ प्रमुख, ‘एसआइयुइ’ विद्यार्थी विविधता परिषद् (विद्यार्थी सरकार), ‘एसआइयुइ’ सगरमाथा (नेपाली विद्यार्थी संघ)–सामाजिक सञ्जाल अध्यक्ष, विश्वव्यापी राजदूत कार्यक्रम–जनसम्पर्क र सामाजिक सञ्जाल अध्यक्ष स्वयंसेवालगायत छन् ।

तपाईंको बुझाइमा समाज–राष्ट्रप्रति सञ्चारकर्मीको कस्तो जिम्मेवारी रहन्छ ?
हामी यही समाजका मान्छे हौँ । सबै नागरिकको आफ्नो समाज र देशप्रति महत्वपूर्ण जिम्मेवारी रहन्छ नै । समाज–राष्ट्रप्रति सञ्चारकर्मीको त थप जिम्मेवारी रहन्छ । समाज–राष्ट्रमा भएका वेथिति, विसंगति, भ्रष्टाचारलाई उजागर गर्ने, सही नीति–निर्माण गर्न दबाब दिने, उदाहरणीय काम गर्ने व्यक्तिलाई प्रोत्साहित गर्ने आदि हाम्रो कर्म–धर्म हो । अझ हामीले त जिम्मेवार भएर राष्ट्रप्रति थप भूमिका निभाउनु पर्छ । अरुलाई सचेत तुल्याउने, सुसूचित पार्ने कार्यमा लागेका हामी बढी जिम्मेवार हुनुपर्दछ । हामीले राष्ट्रहितमा धेरै कामहरु गर्न सक्दछौँ, जुन अन्य जिम्मेवारीमा रहेका नागरिकहरुले गर्न गाह्रो हुन्छ ।

तपाईंले समाज/राष्ट्रप्रतिचाहिँ के दिनुभयो त ?
प्रष्टरुपमा मलाई मेरो देश नेपाल अनि समाजको निकै माया लाग्छ । म जुन समाजको हुँ, जुन देशमा हुँ त्यो समाज अनि देशले मलाई एउटा कुशल सञ्चारकर्मीको रुपमा स्विकारेर सम्मानको दृष्टिकोण राख्नु नै मेरो लागि गर्वको पक्ष हो । यस अर्थमा मैले मेरो समाज अनि राष्ट्रलाई के दिन सकें त भन्ने चिन्ताले सदा सताइरहन्छ । तर, मैले जुन असल कर्म गरिरहेको छु पक्कै पनि यसले केही न केही सकारात्मक अंशहरु दिएको होला भन्ने लाग्छ । आज म आफू जन्मिएकै धर्तिका लागि बाँचिरहेको छु । कर्म गरिरहेको छु । तर, समाज र राष्ट्रले जति दिएको छ, त्यतिमात्रै दिन पनि मैले अझै समाज अनि राष्ट्रका लागि धेरै गर्न बाँकी छ । अझ प्रष्टरुपमा भन्ने हो भने मैले यही पेशा–क्षेत्रमार्फत् नाम कमाएमा पक्कै पनि देशको नाम उच्च रहन्छ ।

आफ्नो पेशाप्रति कुनै गुनासो छ ?
छैन, म त अत्यन्त सन्तुष्ट छु । मेरो बुझाइमा मानिसले जे कर्म गरिरहेको हुन्छ कि त ऊ आफू खुसी हुनका लागि गरिरहेको हुन्छ कि त खुसी भएर गरिरहेको हुन्छ । मेरो हकमा म पत्रकारितामा खुसी हुन र खुसी भएर दुवै अर्थका लागि छु । जे गरिरहेको छु, जे गर्दैछु यसमा पूर्ण सन्तुष्ट छु । यही पेशामा आफ्नो भविश्य पनि उज्वल देखिरहेको छु । कतिपयलाई यही क्षेत्रमा रहिरहन वातावरण निर्माण गरेको छु । पत्रकारिता पेशाबाट पनि समाजमा इज्जत प्राप्त हुन्छ र सादा जीवन जीउन पर्याप्त अवसर मिल्छ भनेर नयाँ पिँढीलाई आकर्षित गरिरहेको छु । यो क्षेत्रमा रहेका जनशक्तिलाई विभिन्न तालिमहरूमा सहभागी गराएको छु । सिकेको सीपलाई व्यवहारमा उतार्न सहयोग पुर्याएको छु । पत्रकारितामा आवद्ध भाइबहिनीहरूको क्षमता विकास, मेरो क्षमता र वर्कतले भ्याएसम्म उनीहरूलाई आवश्यक परेको सहयोग उपलब्ध गराएको छु । यद्यपि अरू थुप्रै काम गर्न बाँकी नै छ ।

तपाईंको सफलताको सूत्र–राज के हो ?
आत्मबल नै सफलताको सबैभन्दा ठूलो सूत्र हो । मेरो सफलताको मुख्य सूत्र भनेको काममा इमानदारिता, एकाग्रता, लगनशीलता र निरन्तरता हो । रुचिको विषयलाई परिपक्वता ल्याउने भनेकै यसैले हो । फेरि, मानिसले आफ्नो सोख र चाहना कहिल्यै मार्नु हुँदैन । आफूले इच्छाएको काम गर्दा सन्तुष्टि मिल्नेमात्रै होइन– छिट्टै सफलता प्राप्त हुन्छ । म यसैलाई मूलमन्त्र मानेर अघि बढिरहेको छु । फेरि, कोही मानिस बाँचेर मरिरहेका हुन्छन् त कोही मरेर पनि बाँचिरहन्छन् । मृत्यु त्यो हो– जसको शरीर छुट्नासाथ संसारमा अरू केही बाँकी रहँदैन । अनि जो धेरैको सम्झनामा जीवित रहने छाप छोडेर शारीरिक रूपमा बिदा हुन्छ त्यो उसको मरण होइन– बरु अमरता हो । र त मानिस भएर जन्मिएपछि समाजमा केही न केही राम्रो काम गर्नुपर्छ, आफ्नो कार्यलाई जीवन्त राख्न सक्नुपर्छ ।

मेरो मान्यता छ– मानिसले आफ्नो जीवन ऐतिहासिक बनाउन सक्नुपर्छ । जीवन संयोग हो र मृत्यु शाश्वत हुन्छ । अस्थायी रूपमा आर्जित पद तथा सम्मानभन्दा सिर्जना–इतिहास महत्वपूर्ण हुन्छ । आत्मबल नै सफलताको सबैभन्दा ठूलो सूत्र हो । सफल मानिसका जीवन–कथाबाट यही प्रमाणित हुन्छ । आत्मबलले मानिसलाई उच्च स्थानमा पु¥याउँछ– जुन सबै मानिसमा हुँदैन । फेरि, जीवनमा आउने उत्तारचढावलाई जसले सहज ढंगले लिन्छ– त्यही मानिस सफल हुन्छ । त्यो मानिस सफलताको शिखर चुम्न सफल हुन्छ– जो जीवनका कतिपय तगारालाई शक्तिमा परिणत गर्छ ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०८२ भाद्र ९, १२: २९

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८२ भाद्र ९, १२: २९

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०८२ भाद्र ९, १२: २९

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...