नारायणगढ–मुग्लिन सडकमा ओभरटेक बढ्दा दुर्घटना र जाम, प्रशासनद्वारा ट्राफिक नियम पालना गर्न आग्रह – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

नारायणगढ–मुग्लिन सडकमा ओभरटेक बढ्दा दुर्घटना र जाम, प्रशासनद्वारा ट्राफिक नियम पालना गर्न आग्रह

चितवन। वर्षायाममा सडक खुलेलगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना र सवारीजाम बढ्न थालेपछि चितवन प्रशासनले चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।

आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन्। दुर्घटनापछि केही समय सडक अवरुद्ध हुँदा सवारी आवागमनसमेत प्रभावित भएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार मुग्लिनतर्फ जाँदै गरेको बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो। उहाँले पछिल्लो समय ओभरटेककै कारण सडक दुर्घटना र लामो सवारीजाम बढ्दै गएको बताउनुभयो।

उहाँका अनुसार ओभरटेकका कारण दुर्घटनाको जोखिम मात्र होइन, लामो सवारीजामसमेत हुने गरेको छ। यसले एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनको आवागमनमा अवरोध पुर्‍याउनुका साथै दुर्घटनामा घाइते भएकाको उद्धारमा समेत ढिलाइ हुने गरेको छ। “आज बिहानको दुर्घटनामा पनि सवारीजामका कारण उद्धार कार्य प्रभावित भयो,” उहाँले भन्नुभयो।

बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले शनिबार राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडक र चितवन क्षेत्रमा पर्ने पृथ्वी राजमार्गमा सवारी सञ्चालन अस्थायी रूपमा रोक लगाएको थियो। बिहान ५:३० बजे सडक सञ्चालनमा आएलगत्तै चालकहरूले हतारमा ओभरटेक गर्दा दुर्घटना र जाम भएको प्रशासनको निष्कर्ष छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिक नियमको पालना गरे दुर्घटना र सवारीजाम दुवै उल्लेख्य रूपमा घटाउन सकिने बताउनुभयो। उहाँले ट्राफिक नियमको पालनाबाट चालक र यात्रु दुवैले प्रत्यक्ष लाभ पाउने उल्लेख गर्नुभयो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वर्षायाममा बाढी र पहिरोको उच्च जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउनु बाध्यता भएको स्पष्ट पार्दै सडक खुलेपछि आ–आफ्नो लेनमै सवारी चलाउन र अनावश्यक ओभरटेक नगर्न चालकलाई आग्रह गर्नुभयो।

उहाँले सुरक्षित र सहज यातायात व्यवस्थापनका लागि प्रशासनसँगै चालक र यात्रुको समान जिम्मेवारी रहेको उल्लेख गर्दै ट्राफिक नियम उल्लङ्घन गर्ने चालकविरुद्ध कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिनुभयो।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०८३ श्रावण ३, १६: ३०

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
  • २०८३ श्रावण ३, १६: ३०

मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...

विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
  • २०८३ श्रावण ३, १६: ३०

काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...