गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै प्रतिनिधिसभामा विपक्षीको विरोध – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै प्रतिनिधिसभामा विपक्षीको विरोध

काठमाडौँ | प्रतिनिधिसभामा सांसदहरूले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनको घटनाबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सांसद वासना थापालाई बोल्ने समय दिनुभएको थियो।

सांसद थापाले गणेश नेपालीले बिहीबार आत्मदाहको प्रयास गर्नुपर्ने अवस्था आउनु गम्भीर विषय भएको भन्दै सरकारले यस घटनाप्रति मौनता देखाएको आरोप लगाउनुभयो। उहाँले केवल हरियो रङको बसलाई निलो बनाउँदैमा नागरिकको सुरक्षा सुनिश्चित नहुने टिप्पणी गर्दै सुकुम्बासीहरूलाई समेत नदीमा हाम फाल्न बाध्य हुने वातावरण सिर्जना गरिएको आरोप लगाउनुभयो।

सांसद भूमिका लिम्बू सुब्बाले मोटरसाइकल पार्किङका कारण गणेश नेपालीलाई १० हजार रुपैयाँ जरिवाना गरिएको र त्यसैको मानसिक दबाबमा आत्मदाहको प्रयास गरेको दाबी गर्दै यस्तो अवस्था सिर्जना हुनु दुःखद् भएको बताउनुभयो। उहाँले नागरिकलाई किन यस्तो अवस्थामा पुग्न बाध्य बनाइँदै छ भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो।

यस्तै, सांसद पार्वती विकले गणेश नेपालीजस्ता नागरिकले जिउँदै जलेर ज्यान गुमाउनुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद् भएको बताउँदै मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो।

सांसद राधिका रम्तेलले पनि घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो।

सांसद ज्ञानबहादुर शाहीले गरिब तथा विपन्न नागरिकका लागि राजधानीमा बाँच्न कठिन बन्दै गएको टिप्पणी गर्दै राज्यका सुविधा र व्यवस्था पहुँचवालाका पक्षमा केन्द्रित भएको आरोप लगाउनुभयो। उहाँले नागरिकले उच्च कर तिरे पनि त्यसअनुसारको सेवा नपाएको गुनासो व्यक्त गर्नुभयो।

सम्बन्धित समाचार

स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
  • २०८३ असार २६, १४: २७

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२...

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०८३ असार २६, १४: २७

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०८३ असार २६, १४: २७

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...