प्रजातन्त्र पुनः स्थापनापछिका केही महत्वपूर्ण सन्दर्भ – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

प्रजातन्त्र पुनः स्थापनापछिका केही महत्वपूर्ण सन्दर्भ

वामपन्थी दृष्टिकोण
निर्वाचन २०४८ बाट नेकपा एमाले दह्रो प्रतिपक्षी भएर संसदमा पुगेको थियो । त्यति बेला प्रजातान्त्रिक संस्कार विकसित भइसकेको थिएन– एमालेमा । ३२ वर्षे पञ्चायती व्यवस्थाले सबै क्षेत्र ध्वस्त पारेको थियो । आर्थिक क्षेत्र त पुरै धरायशी नै थियो । मुलुकको सबै क्षेत्र एक प्रकार ध्वस्त भएको थियो । सबैतिर पुननिर्माणको आवश्यकता थियो । संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र स्थापना भए पनि समाजमा प्रजातन्त्र बारे राम्ररी चेतना फैलिसकेको थिएन ।

राजाको पनि प्रजातन्त्रप्रति सकारात्मक धारणा बनेको थिएन । पञ्चायती निरङ्कुशता भित्र तालिम पाएको कर्मचारीतन्त्रलाई पनि नयाँ व्यवस्था सुपाच्य भएको थिएन । सबैतिर राजजाको छाप यथावत् थियो । यस्तो बेलामा सबैतिर परिवर्तन आवश्यक थियो । पुरानो मानसिकता र प्रवृत्तिमा सुधार गर्नुपर्ने धेरै कुराहरु थिए ।

२०४६ चैत्र २७ गतेका दिन टुँडिखेल–काठमाडौंमा भएको प्रजातान्त्रिक व्यवस्थाको विजय आमसभामा तात्कालीन पार्टी महामन्त्री एवं वरिष्ठ नेता गिरिजाप्रसाद कोइराला बोल्न लाग्दा कम्युनिष्टको एक हुलले हुटिङ्ग गरेर अवरोध पु¥याएका थिए । गिरिजाबाबुप्रति कम्युनिष्ट जगत पहिलेदेखि नै अनुदार रहँदै आएको कुराको उदाहरण थियो यो । २०४७ सालभरि गिरिजाबाबुले निर्वाचन प्रचारप्रसारमा मेची–महाकाली दौडाहा गर्नुभयो । देशका धेरैवटा आमसभाहरुमा गिरिजाबाबुमाथि बामपन्थीले हुटिङ्ग, कालो झण्डा र विभिन्न विरोध जनाएको थिए । प्यूठान र अन्य केही ठाउँमा भौतिक आक्रमण पनि गरेका हुन् ।

प्यूठान आक्रमणपछि ‘माले, मसाले र मण्डले भनेका एकै हुन्’ भन्ने गिरिजाबाबुको अभिव्यक्तिले निकै ठूलो चर्चा पाएको थियो । वाम समुदायको कतिपय व्यवहार त्यस्तै देखिएको पनि हो ।

प्रधानमन्त्रीमा गिरिजाप्रसाद कोइराला
गिरिजाबाबु २०४८ को आम निर्वाचनमा मोरङ र सुनसरी दुई ठाउँबाट अत्याधिक बहुमतबाट विजयी हुनुभयो । विजयपछि गिरिजाप्रसाद सदनका नेता र प्रधानमन्त्री बन्नु भयो । जनआन्दोलन २०४६ देखि नै कम्युनिष्ट क्षेत्रबाट गिरिजाबाबुको बढी विरोध गर्ने अभियान चलाइएको थियो । प्रधानमन्त्री भएपछि यो कुरा झन् वामहरुमा बढ्दै गयो । फलतः निजामती कर्मचारी आन्दोलन गराए ।

नेपालकै इतिहासमा पहिलो आन्दोलन थियो— सरकार विरुद्ध सरकारी कर्मचारीको आन्दोलन । यसबाहेक वामपन्थीले सडक आन्दोलन चलाए । सडक र सदन दुबैतिर आन्दोलन गर्ने एमाले कार्यक्रमले निकै ठूलो सङ्कट निम्त्याए पनि गिरिजाबाबुले समाधान गर्दै जानुभयो ।

विकास निर्माणका कार्यहरु
नेपाली काँङ्ग्रेसको सरकारले विकास निर्माण, कलकारखाना, उद्योगधन्दा, कृषिक्षेत्र, शिक्षा, संचार आदिमा व्यापक परिवर्तन र उत्थानको नीति लिएको थियो । संचार क्षेत्रमा दु्रतगतिले विकास भयो । पत्रपत्रिका, टेलिफोन, रेडियो, एफएम रेडियो, टि.भीका विभिन्न च्यानल, दैनिक पत्रपत्रिका, टेलिफोन, कम्प्युटरप्रणाली जस्ता कुरामा व्यापक बृद्धि भयो । यातायात क्षेत्रमा पनि विस्तार नीति लिइयो । प्रत्येक जिल्ला सदरमुकाम पुग्ने सडकहरु निर्माण गर्न योजना कार्यान्वयन हुन थाल्यो ।

पार्टीभित्र फुटको विजारोपण
२०४८ पुस १५ गते आफ्नै मन्त्रीमण्डलका सदस्यहरुबाट प्रधानमन्त्रीप्रति अमर्यादित व्यवहार भएको भन्दै मन्त्रीहरु– वासु रिसाल, शेख इद्रिस, तारानाथ रानाभाट, चिरञ्जिवी वाग्ले, ढुण्डीराज शास्त्री एवं गोपालमान श्रेष्ठलाई हटाइयो । यस घटनापछि नेपाली काँग्रेसभित्र गुट, उपगुट, प्रवृत्ति झागिँन थाल्यो । यसको ज्वलन्त प्रमाण झापा कलवलगुडीको नेपाली काँङ्ग्रेस आठौं महाधिवेशनमा तीन जना नेताबीचको फोटोबाट प्रष्ट हुन्छ ।

झापा अधिवेशन
२०४८ फागुन १ गते भद्रपुरको खुलामञ्चमा विशाल आमसभा कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो । सर्वमान्य नेता गणेशमान सिंहद्वारा श्री भट्टराईलाई सभापति बनाउन प्रस्तुत सभापतिमा निर्विरोध निर्वाचित भएका थिए । तर अर्को दिनमा नै नेतात्रयबीचको मनमुटाव बाहिर आएपछि त्यही विशाल अधिवेशनभित्रै कार्यकर्तामाझ विभाजित स्वरहरु देखिएको थियो ।

माओवादीप्रति गिरिजाबाबु
कोइरालाजी शान्तिपूर्ण माध्यमबाट माओवादीलाई पनि प्रजातान्त्रिक मूलधारमा ल्याउने कुरामा विश्वस्त थिए । मुलुकमा सङ्ककाल लगाउने कुराका विरोधी थिए– कोइरालाजी । सङ्कककालको निहुँमा अर्को निरङ्कुशताको जन्म हुनसक्छ भन्ने थियो उनको धारणा । माओवादीसँग वार्ताकै माध्यमबाट समस्या समाधान गर्ने पक्षमा गिरिजाबाबुले वकालत गरिरहे । उता राजा पनि माओवादी आतङ्कको निहुँमा प्रजातन्त्र समाप्त पार्ने दाउ खोजिरहेका थिए । पूर्व पञ्चहरु र दरबारिया शक्तिले टाउको उठाउन थालेको थियो ।

२०५९ असोज १८ पछि राजा ज्ञानेन्द्र अझ सक्रिय हुँदै गए । पञ्चायतकालकै जस्तो राजा ज्ञानेन्द्रले देश भ्रमण गरी अभिनन्दन र स्वागत गराउन थालेका थिए । जनताका पीडा र आँसु पुछिदिने वाचा गर्दै हिँड्दै थिए । यता कोइरालाको नेतृत्वमा सबै पार्टीहरु मिलेर आन्दोलन गरिरहेका थिए । संसद् पुनस्थापनाको मागसहित आन्दोलन चलेको थियो ।

२००७ सालको प्रजातन्त्र स्थापनापछि राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र हुँदै वर्तमान राजा ज्ञानेन्द्रसम्मको शासनसत्ता र सत्तामोहको दुर्नियति भोगिसकेको हुँदा अब राजाले संसद् पुनस्थापना नगरेसम्म आन्दोलन चलिरहने कुरामा कोइराला अविचलित थिए । राजाले संवैधानिक बाटो छोडेपछि संवैधानिक राजतन्त्र मान्दै आएको नेपाली काँङ्ग्रेस पनि राजा हटाउन बाध्य हुनेछ जस्ता अभिव्यक्ति कोइरालाबाट आउन थालेका थिए ।

राजपरिवार हत्याकाण्ड
गिरिजा बाबुको प्रधानमन्त्रीत्व कालमा नै २०५८ जेठ १९ शुक्रबारका दिन नेपालको इतिहासमा नै नभएको हत्याकाण्ड भयो । उक्त दिन राति नौ बजेतिर सम्र्पूण राजपरिवार रात्रिभोजमा एकै ठाउँमा भेला भएको थियो । राजा वीरेन्द्रका परिवार, दिदी, बहिनी, भाइहरुसमेत सपरिवार भोजनमा व्यवस्त थिए । त्यति बेला नृशंस हत्याकाण्ड मच्चियो ।

तात्कालीन श्री ५ वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, नीराजन, श्रुति लगायत नौ जनाको एउटै स्थानमा हत्या भयो । वीरेन्द्रको सम्पूर्ण वंश विनाश भयो । त्यति बेलाका प्रधानमन्त्री, गिरिजाप्रसाद कोइरालाले केही गर्नसक्ने स्थिति थिएन । प्रधानमन्त्रीको लाचारी र निरीहपना प्रष्ट देखिन्थ्यो । तात्कालिन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा एउटा छानविन कमिटि बनेपछि यस काण्डलाई त्यही कमिटिको रिर्पोटअनुसार ढाकाछोप गरियो । तर वास्तविकता के थियो–त्यो रहस्यमा नै लुकेको छ ।

प्रधानमन्त्री गिरिजाबाबुलाई लाग्यो यसरी लाचारीसाथ पदमा बसिरहनुको कुनै औचित्य छैन । अनि २०५८ साउन ४ गते राजीनामा दिएर राजनीतिक सङ्गठन सुदृढ पार्नतिर सक्रियता बढाए ।

प्रधानमन्त्री देउवा र पार्टी विभाजन
फेरि शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वमा सरकार गठन भयो । त्यतिबेला गिरिजाप्रसाद पक्ष र देउवा पक्षका रुपमा सदनभित्र विभाजन हुँदै थियो । दुई नेताबीच मतभेद तीव्र हुँदै भयो । फलत ः देउवाले आफु प्रधानमन्त्री भएकै बेला २०५८ मा पार्टी फुटाएर छुट्टै पार्टी नेपाली काँङ्ग्रेस प्रजातान्त्रिक नामबाट गठन गरे । दरबारकाण्ड, माओवादी आन्दोलन र अन्य विभिन्न प्रतिकूल परिस्थिति भएकै बेला पार्टी विभाजित भयो । अनि प्रजातान्त्रिक शक्ति यसरी खण्डित भएपछि दरबार माओवादी दुवै पक्षलाई बल पुग्यो । दरबारले शेरबहादुरलाई क्रम थिच्तैमिच्तै ल्यायो ।

ज्ञानेन्द्रको तानाशाही सुरु
त्यसैबेला प्रधानमन्त्री शेरबहादुरले आमनिर्वाचनको घोषणा पनि गरेका थिए । काँङ्ग्रेस लगायत अन्य पार्टीहरु माओवादीलाई मुलधारमा ल्याएपछि मात्र निर्वाचन सम्भव हुने कुरा गरिरहेकै बेला फेरि निर्वाचन पनि सार्ने राजा ज्ञानेन्द्रसमक्ष प्रधानमन्त्री देउवाले प्रस्ताव लगेपछि सदन नै भङ्ग गरिदिए । त्यतिबेला देउवालाई अक्षम प्रधानमन्त्रीको ओरोपसँगै उनको मन्त्रीमण्डल भङ्ग गरिदिए । प्रजातन्त्र मास्न चलाइएको दरवारिया अभियान पूरा हुँदै थियो ।

प्रजातान्त्रिक काँङ्ग्रेस र एमाले सरकार
शेरबहादुर सत्ताच्यूत गरिएपछि फेरि एमालेसँग मिलेर शेरबहादुरले सरकार बनाए । त्यसबेला गिरिजाप्रसाद कोइरालको नेतृत्वमा विभिन्न पार्टीहरु एकबद्ध भएर सडक आन्दोलन, धर्ना, सत्याग्रह र पक्राउ दिने अभियानमा लागिरहेका थिए । अर्कातिर माओवादी विद्रोह चरमचुलीमा पुगेको थियो । देशका प्रायः सबैभागमा माओवादी आक्रमण भइरहेको थियो । (डा.तुलसी भट्टराईद्वारा लिखित बी.पी कोइराला र नेपाली काँग्रेस नामक पुस्तकबाट)

सम्बन्धित समाचार

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७४ चैत्र १२, ०९: ५०

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७४ चैत्र १२, ०९: ५०

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
  • २०७४ चैत्र १२, ०९: ५०

१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...