कर्मशील कांग्रेसको प्रश्न – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

कर्मशील कांग्रेसको प्रश्न

पुरुषोत्तम दाहाल

नेपाली कांग्रेसका वरिष्ठ नेता नेता रामचन्द्र पौडेलले कर्मशील कांग्रेसको अवधारणा सार्वजनिक गरेका छन् । नेपाली राजनीतिमा यो नयां विषय नभए पनि नेपाली कांग्रेसकालागि यो विषय नितान्त नयां हुनपुगेको छ । वि.सं. ०१७ मा लोकतन्त्रको प्रतिसंहरण भएपछिका सबै दिनहरुमा नेपाली कांग्रेसको केन्द्रमा आन्दोलन , संघर्ष जस्ता विषयहरु प्राथमिकतामा परे ।

०४६ को परिवर्तनले कांग्रेसलाई सत्ताको सिढी उक्लदै र ओर्लदैमा ठिक्क भयो । ०४७ यताका अठ्ठाइस वर्ष मध्ये नेपाली कांग्रेसको नेतृत्वमा पन्ध्र वर्षहरु विते । अर्थात् परिवर्तनका अठ्ठाइस वर्षहरुको अधिकांश भाग कांग्रेसको सत्ता आरोह र वांकी तेह्र वर्षहरु अवरोहमा सकियो ।

तेह्र वर्ष मध्ये मनमोहन अधिकारीको समय समेत जोड्दा साम्यवादी दलहरुले करीव नौ वर्ष प्रत्यक्ष शासन गरेका छन् । वांकी समय गठवन्धन वा राजाको नेतृत्व रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका १२ वर्ष मध्ये सबै भन्दा बढी अर्थात् आठ वर्ष साम्यवादी दलको नेतृत्वले शासन गरिसकेको अवस्था छ ।

समयसमयमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेससंगको गठवन्धनमा समेत साम्यवादीहरु सरकारमा समावेश थिए । निर्दलीय पञ्चायतकालदेखि नै साम्यवादी दलहरुले कर्मशील कार्यकर्ताको अवधारणालाई निरन्तरता दिदै आएका हुन् । उनीहरुको दोहोरो रणनीति थियो । एकथरी प्रत्यक्ष राजनीतिमा देखिन्थे र अर्कोथरी विद्यालय स्थापना र सञ्चालन, स्टेशनरी, शिक्षण, औषधालय, वन्दव्यापार, सरकारी सेवा, पत्रकारिता आदि विभिन्न आय आर्जनमा सक्रिय थिए ।

तिनीहरु अधिकांश भूमिगत रुपमा पार्टीका सदस्यहरु हुन्थे । आवरणमा अनेक गूटमा विभाजित साम्यवादी दलहरुलाई निर्दलीयकालमा दोहोरो, तेहोरो रणनीति प्रयोग गर्नु सहज भयो । सर्वत्र उनीहरुको पकड जम्दै गयो । विपी कोइरालाले निर्वासन परित्यागको लगत्तै ०३३ पछि राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको भाष्य गर्ने सन्दर्भमा डीएन अदितको सूत्रवारे त्यसै व्याख्या गर्नुभएको थिएन । इण्डोनेशियामा सत्ता र समाजका हरेक अवयवमा घुसेर कसरी साम्यवादीहरुले सत्ताकव्जाको रणनीति वनाएका थिए भन्ने इतिहासको पाठलाई विपीले नेपाली समाजमा पढाउने काम गर्नुभएको थियो ।

नेपाली साम्यवादीहरुमा कर्मविरोधी विचार त माओवादी हिंसाले मात्र प्रवद्र्धन र विस्तार गरेको हो । माओवादी हिंसाकालमा अरुका भकारीको धानचामल, अरुका करेसा वारीको तिहुन्, अरुको कमाइको धनसम्पत्ति, अरुका पशुपंक्षि, लुटेर, कुटेर, काटेर खान सिकाउने काम हुनपुग्यो । यद्यपि कतिपय किसानका जग्गाजमीन लुट्ने र त्यसमा आफ्नो स्वामित्व स्थापना गर्न कृषिको नारा लगाइएको भए पनि त्यो सफल हुनसकेन । वस्तुतः माओवादी हिंसाले साम्यवादीहरुको ऊर्जाशील क्षमतालाई धराशायी वनाउदै निरर्थक स्वप्नशील नयां सामन्ती वर्गको निर्माण गर्न पुग्यो ।

०६२ को शान्तिपूर्ण संयुक्त जनआन्दोलनको परिणामले माओवादीलाई पनि क्रमशः उद्यमशील वनाउने क्रमसंग जोड्ने काम गरेको छ । तर माओवादीले ०५२ देखि देखाएको वाटोमा अझै पनि केही समूह सक्रिय देखिन्छन् । तिनीहरु पनि ढिलोचांडो मूलधारमा जोडिनु अनिवार्य छ । अहिले नेपालको शासकीय सत्तामा मात्र होइन राज्यको विकासका आधरशीला मानिने हरेक क्षेत्रमा साम्यवादी कार्यकर्ताहरुको पहूंच र पकड देखिएको छ । शिक्षा, उद्योग, व्यापार, निजी विद्यालय, निजी स्वास्थ्य संस्थाहरु, निजी सञ्चारमाध्यमहरु, सहकारी, यातायात व्यवसाय, निर्माण व्यवसाय, वैदेशिक रोजगार , विद्युतगृह, साहित्य र कलाको क्षेत्रमा समेत साम्यवादी विचार पक्षधरहरुको प्रभाव व्यापक छ । राष्ट्रको मूल आर्थिक आधारहरुलाई उनीहरुले यसरी आफ्नो पक्षमा गराउनुको मुख्य कारण भनेको उनीहरुको कर्मशील योजना र सक्रियता नै हो ।

उदारीकरण र निजीकरणको नीति सहित सहकारी अभियानलाई नेपाली कांग्रेसले आरम्भ गरे पनि त्यसबाट सर्वाधिक लाभ लिने सामथ्र्य साम्यवादीहरुले देखाउनुलाई सामान्यरुपमा हेरिनु गलत हुने छ । यस सत्यलाई नेपाली कांग्रेसले कहिल्यै पनि स्वीकार गरेको देखिदैन । कांग्रेस कहिले निर्दलीय पञ्चायतसंग कहिले राजासंग, कहिले साम्यवादीहरुसंग र पछिल्लो चरणमा आफूआफैमा लड्नमा नै व्यस्त रह्यो । ०७४ को आम निर्वाचन पछि त नेपाली कांग्रेस कुहिरोमा हराएको काग जस्तो भएको छ । युद्धमा घाइते भएर पराजित हुन लागेको सेनापतिले हतास सैनिकहरुलाई पुनर्संगठित गराउने काम गर्छ ।

उसको प्रयत्न पुनः युद्ध जित्नमा हुने छ । तर नेपाली कांग्रेसको नेतृत्वमा वसेका सबै तहका नेताहरु अहिले आफ्ना घाइते कार्यकर्ताहरुलाई डिस्पर्स गर्नमा सक्रिय देखिन्छन् । उनीहरु न संगठित हुन प्रेरित गर्दैछन् न त योजनाबद्धरुपमा कर्मशील हुन सिकाउदैछन् न कर्मशील हुने प्रयासहरुलाई उनीहरुको कुनै सहयोग, समर्थन र सहानुभूति नै देखिन्छ । आजको कांग्रेसको दुर्भाग्य यही नै हो । महात्मा गान्धीले आफूलाई निरन्तर कर्मशील वनाउन चर्खा चलाउने गर्थे भन्ने सत्यलाई कांग्रेसका नेता र पार्टीका सदस्यहरुले वुझिरहेका छैनन् ।
यतिखेर नेपाली कांग्रेस चुनौतीहरुको चांड.मा वसेको छ ।

कांग्रेसका सामु असरल्ल कामहरु छन् । प्रचण्ड बहुमतको सरकारले समाजवादको नारा दिन लागेको छ । लोकतन्त्रवादीहरुले खोजेको समाजवाद र साम्यवादीहरुले खोजेको समाजवादमा तात्विक फरक छ । साम्यवादीहरुको राजनीतिक समाजवाद हो भने लोकतन्त्रवादीहरुको आर्थिक सामाजिक रुपान्तरणको विषय हो समाजवाद । प्रधानमन्त्रीले अहिले समाजवाद ल्याउने विचार प्रक्षेपण गर्दा नेपाली कांग्रेसले यस विषयलाई स्पष्ट गर्नुजरुरी छ ।

मानव अधिकारको प्रश्न गंभीर भएर उठ्न लागको छ । गंगामाया र डा. गोविन्द केसीप्रतिको व्यवहारले सत्ताले विवेक गुमाएको अनभूत गराएको छ । यद्यपि डा. केसीका कतिपय कार्यशैली र मुद्दाहरुमा यो पंक्तिकारको स्पष्ट असहमति छ । तर उनको आफूलाई प्रस्तुत गर्ने अधिकारमाथि निषेध गर्नु मानव अधिकार विरुद्ध छ भन्नेमा कुनै द्विविधा छैन । गंगामाया नेपाली शासनको विवेकहीनता र अलोकतान्त्रिक चरित्रले देखाएको निर्मम आचरण विरुद्ध मानक हुन पुगेकी छिन् । आन्दोलन वा विप्लवका समयमा संवेदनशील क्षेत्रहरुलाई सुरक्षित गर्न निषेधको वैधानिक आदेश हुने गर्छ ।

त्यसको पनि कार्यविधि हुन्छ । अहिले सरकार विरोध र असहमतिलाई रोक्न सर्वत्र निषेधको नियम वसाल्दै छ । लोकतन्त्रको मेरुदण्ड स्वतन्त्रता हो र स्वतन्त्रताको मेरुदण्ड अभिव्यक्ति स्वतन्त्रता हो । अभिव्यक्ति स्वतन्त्रताको संयन्त्र स्वतन्त्र प्रेस हो । यसमाथि अंकुश लगाउन सरकार योजनाबद्ध सक्रिय देखिन्छ । उदार अर्थतन्त्रको प्रयोगमा अभ्यस्त समाजलाई नियन्त्रण गर्न खोज्दा अहिले सेयरवजारदेखि साग र आलुकाउलीमासम्म नकारात्मक प्रभाव परिरहेको छ । पानी जहाज र रेलका गफ सुनिरहेका राजधानीवासीहरु हिलाम्य सडकदहमा चोवलिदै गन्तव्यमा उन्मुख हुन विवश छन् ।

विकासे सबै गफ हावामा परिणत हुदैछन् । के नेपाली कांग्रेस यस्तो समयमा कर्महीन भएर वस्नु उचित हुन्छ ? प्रमुख प्रतिपक्ष संख्या होइन , मान्यता र शक्ति हो । लोकतन्त्रमा प्रतिपक्ष सरकारसंगै तर सरकारका विपक्षमा सक्रिय सिद्धान्त र आचरण हो । सत्ता लिने रणनीति र योजनाको खोजी कुनै समयमा प्रतिपक्षका निम्ति सही हुनसक्ला तर सदा त्यो सत्य हुदैन । कांग्रेसकालागि अहिले सत्ताको खोजि सही हुदैन, तर सत्तालाई सुधार गर्ने र सही बाटो देखाउनु त उसकोे विपक्षीय धर्म नै हो । किन यता सक्रिय देखिदैन कांग्रेस ?

रामचन्द्र पौडेलले समयको चापलाई विस्तारो महसूस गर्दै कर्मशील कांग्रेसको सूत्रलाई प्रस्तुत गरेका छन् । तर यो कर्मशील कांग्रेस कसरी निर्माण गर्ने त्यसको कुनै खाका देखिदैन । नेपाली कांग्रेसमा झोला वोकेर चन्दा उठाउन हिड्ने, वाटो खर्च वा पढाइ खर्च माग्दै नेताका घरमा पुग्ने, जुलूस र नारामा सीमित जमातलाई पार्टीको शक्ति मान्ने प्रचलन छ । अथवा झोला वोकेर नेताहरुको महलका ढोका कुर्ने र नेताहरु समेतलाई आफ्नो महलमा स्वागत गर्नेहरुलाई बढी विस्वास गर्ने चलन छ ।

कर्मशील अध्यवसाय, व्यवसाय,व्यक्तिगत योगदान, क्षमता, र इमान्दारिता भन्दा पृथक चरित्रपात्र नातानाला र आनुवंशिक क्षमतालाई प्रश्रय दिने काम भएको छ । कर्मशीलहरुलाई सहयोग गर्नुको वदला अधिकांश समर्थ कांग्रेसकर्मीहरु मदिरामत्त हुनुमा गौरवबोध गरिरहेको देखिन्छ । उनीहरुका वैधअवैध आयहरुको ठूलो हिस्सा स्वजनको उन्नति वा व्यक्तिगत विलासी जीवनमा प्रयोग भइरहेको छ । त्यस आयलाई अस्पताल, विद्यालय, कृषि विकास, उद्यमशीलता, विपन्न र सीमान्तीकृतहरुको हीत, पार्टी आबद्ध निम्छराहरुको उन्नति, साहित्यिक सांस्कृतिक उत्थान, सञ्चार सम्बन्ध ,समुदायकालागि विकास निर्माणमा लागेको त्यति देखिदैन । शिक्षा क्षेत्रमा, निर्माण व्यवसाय र स्वास्थ्य क्षेत्रमा अनि सञ्चार क्षेत्रमा केही आफ्नै क्षमतामा भर गर्ने लोकतन्त्रवादीहरु छन् ।

उनीहरुलाई कांग्रेसले उपयोग वाहेक केही गरिरहेको देखिदैन । संस्थागत रुपमा ती कर्मशीलहरुलाई प्रोत्साहन गर्ने र संगठित गर्ने नीति कांग्रेसले वनाएको छैन , व्यवहार त परको कुरा हो । उद्यमशीलतालाई निकै वर्ष अगाडीदेखि आन्दोलनका रुपमा विकास गरेका पर्वतका कांग्रेस नेता ऋषिकेश तिवारी एक्लो वृहस्पति जस्ता थिए । उनले कृषि उत्पादनलाई उद्योगमा परिणत गर्ने अभियाननै चलाएका छन् ।
निर्दलीय पञ्चायतकालमा स्वयं रामचन्द्र पौडेल पनि कफिखेती गर्दै थिए । सत्ताको धारमा उभिनासाथ त्यो त्यसै हराएको छ ।

के नेपाली कांग्रेसको युवापुस्ता नेतृत्वको सिढी चढ्ने सपनासंग कर्मशीलतालाई आफ्नो आधार बनाउनसक्छ ? एकपटक युवाप्रतिभा गगन थापाले सुरु गरेको वाखा्र खेती कता हरायो ? त्यो राम्रो कामको निरन्तरता किन हुनसकेन ? अवका दिनमा कर्मशील कांग्रेसको विषयलाई प्रशिक्षणसंग जोड्नु जरुरी छ ।

केही दिन पहिले उपसभापतिका रुपमा पदेन प्रशिक्षण प्रतिष्ठानको प्रमुख समेत हुनपुगेका विमलेन्द्र निधिका लागि यो विषय महत्वको हुनसक्छ । विग्रिएको पार्टी अनुशासन, कमजोेर प्रशिक्षण, समुदायमा भुसको आगो जस्तो भएर रहेको द्वेषका झिल्काहरु र देशभर पुगेको गूटगत चिरालाई न्यून गर्नुमात्र होइन कर्मशील कांग्रेस निर्माण गर्ने योजना समेत प्रशिक्षणको प्रमुखका हैसियतमा निधिको जिम्मेदारीसंग जोडिएको देखिन्छ । तर सिंगो कांग्रेससंग दृष्टिकोण, दृढईच्छाशक्ति र सामूहिक क्रियाशीलता भएन भने कर्मशील कांग्रेस क्षणिक नारामा सीमित हुने छ । (व्ुानपा १० कपन नारायणचोक)

सम्बन्धित समाचार

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७५ असार २५, ०९: ५५

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७५ असार २५, ०९: ५५

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
  • २०७५ असार २५, ०९: ५५

१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...