
झापा । तस्वीरमा देखिएकी किसोरीको पहिचान–पुर्णिमा गुरुङ–(१५) । किसोरावस्थामा हिड्दै गरेकी युवति उठ्न सक्दिनन्, बोल्न सक्दिनन् । कुर्सीमा अर्काले बसाइदिनुपर्छ । झाडा–पिसावका लागि साथी नभई हुँदैन ।
उठ्न, हिड्न, बोल्न नसक्ने उनी कसकी छोरी हुन् ? संरक्षण दिइरहेको ‘सुस्त मनस्थिति संरक्षण समाज नेपाल–झापा’–लाई पनि जानकारी छैन । ‘उनी इलामको अस्पतालमा भेटिएकी रे’–समाजकी अध्यक्ष शान्ता पोखरेलले भनिन् ।
इलाम अस्पताल बाहिर बेवारिसे अवस्थामा भेटिएकी उनलाई महिला विकास कार्यालय इलामले इलामस्थित बौद्धिक अपांगहरुको हेरचाह गर्दै आएको ‘राहसल’ नामक संस्थालाई बुझायो । उक्त संस्थाले मुख्य गरी बौद्धिक तथा बहुअपाङ्ग भएका पुरुषहरुको मात्रै हेरचाह गर्ने हुँदा किसोरावस्थामा प्रवेश गर्नेवित्तिकै पुर्णिमालाई ‘सुस्त मनस्थिति सरोकार समाज नेपाल–झापा’लाई सुम्पियो ।

महिला विकास कार्यालय इलामले पुर्णिमालाई २०७३ साल साउन २ गते बहुअपाङ्गको परिचय पत्र दिएको छ । उक्त परिचय पत्रमा उनको जन्ममिति २०६०÷१÷१ र नाम पुर्णिमा गुरुङ उल्लेख गरिएको छ । बाबु–आमाको नाम उल्लेख छैन । कुनै अभिभावक नभेटिएका उनको पहिचान यत्तिमै सिमित छ । मंगोलियन बर्ण भए पनि उनको पैतृक थातथलो पत्ता लागेको छैन, २०७३ सालदेखि नै त्यहाँ बस्दै आएकी उनका कोही आफन्त पनि सम्पर्कमा नआएको समाजले जनाएको छ ।
उठ्न, हिड्न सहारा चाहिने उनको टाउको सोझिदैन । कुर्सीमा बसाइएकी उनी त्यही कुर्सीमा टाउको ठोकिरहन्छिन् । त्यसकै कारण देवे्र कञ्चटमा सानो चोट देखिन्छ । ‘यता हेर नानी’(बल्लतल्ल शान्ताको हातको सहारामा मात्रै उनले टाउको उठाइन् । क्षणक्षणमा हत्केला र नाडीबीचको जोर्नी तथा घुँडा टोकिरहने उनका जोर्नी र घुँडाको मासु मरिसकेको छ ।
‘सुताउनु, उठाउनु, खुवाउनु, दिसापिसाव गराउने सबै काम आफैं गरिदिनुपर्छ’( समाजमा रहेका बालबालिकाको स्याहारमा आवासीय रुपमा बसेर चौविसैघण्टा खटिरहेकी सहयोगी पवित्रा ओझाले सुनाइन् ।

झापाको कनकाइ नगरपालिका कार्यालयकै अगाडि रहेको सुस्त मनस्थिति सरोकार समाजमा अहिले ९ जना बौद्धिक तथा बहुअपाङ्ग भएका बालिका छन् । ‘यहाँ कोही पुरुष आयो भने ९ बर्षमुनीकालाइ मात्रै राख्ने गरेका छौं, हाम्रो लक्ष्य नै महिला बौद्धिक अपाङ्गलाई स्याहार्ने हो’(समाजकी अध्यक्ष पोखरेलले भनिन् (‘पुरुष आएमा पुरुषकै स्याहार गर्ने संस्थामा पठाइन्छ ।’ २०६८ सालमा स्थापित उक्त समाजको पोखरेल संस्थापक अध्यक्ष हुन् ।
त्यस्तै वेवारिसे अवस्थामा भेटिएकी हुन्–टिका तामाङ । ‘दमक प्रहरीले भेटेर स्थानीय मंगलमय मा.वि.लाई बुझाएको रहेछ । उक्त मा.वि.ले हाम्रो संस्थालाई हस्तान्तरण ग¥यो।’–शान्ताले भनिन् । उनी २०७२ सालदेखि समाजको संरक्षणमा छन् ।
कनकाइ नगरपालिका(५ की प्रतिक्षा मैनाली–१७ को घरको आर्थिक अवस्था अत्यन्तै दयनीय छ । उनी २०७१ बाट सोही संस्थाको संरक्षणमा छिन् । ‘यिनका बाबुलाई डिप्रेशन छ, मजदुरी गरेर आमाले चारजनाको परिवारलाई खुवाउँछिन्’–शान्ताले भनिन्–‘बौद्धिक रुपमा अपाङ्ग रहेकी उनलाई घरमा खुवाउने÷हुर्काउने अवस्था नभएपछि संस्थामा संरक्षण दिइएको हो ।’ लिलारथ र चन्द्रकलाका तीन सन्तान (२ छोरी र एक छोरा) मध्ये प्रतिक्षा जेठी हुन् । अरु दुईजना स्वस्थ रहेको बताइन्छ ।
संस्थामा पुर्णिमा (बहुअपाङ्ग) बाहेक अरु सबै बौद्धिक अपाङ्ग छन् । बौद्धिक रुपमा अपाङ्ग रहेकी स्वीकृति राई–१२ लाई बाबु–आमाले छाडिदिएपछि मावलीमा बाँधेर राखिएको थियो । उर्लाबारी मावल बताउने राईका बुबाले छाडेर हिडेका हुन् भने आमा बैदेशिक रोजगारीका लागि विदेश गएकी छन् ।
‘सँधैभरी बाँधेर राखिएको देखेपछि पोषराज (पोषराज त्रिताल कनकाई नगरपालिकाका स्वास्थ्य इकाई प्रमुख हुन्)–सरले हाम्रो सम्पर्कमा ल्याउनुभयो’–शान्ताले भनिन्–‘विगत दुई बर्षयता उनी हाम्रो संरक्षणमा छन्।’
अत्यन्तै न्यून आय भएका वा अभिभावक नै नभएर वेवारिसे अवस्थाका बौद्धिक रुपमा अपाङ्ग रहेकाहरुको संरक्षण समाजले गर्दै आएको छ । संस्थाका संस्थापक अध्यक्ष शान्ता र सचिव रामप्रसाद ओली तथा नर्वदा भेट्वालले लगभग तीनलाख रुपैयाँ लगानी गरेर संस्थाको स्थापना गरेका हुन्–२०६८ मा । उक्त संस्थामा २०७१ यता नौ जना बालबालिकाको स्याहार सम्भार गरिदै आएको छ ।
सानैदेखि आफ्ना बाबुआमालाई छाडेर दार्जिलिङ्गस्थित सानीमाको बसेर पढेकी शान्तामा सोही बेलाको बाबुआमासँगको वियोगकै कारणले अलपत्र परेका बालबालिकालाई अभिभावकत्व दिनुपर्छ भन्ने मनस्थितिको विकास भयो ।
‘मलाई कहिल्यै सानीमाले नराम्रो गर्नुभएन’–शान्ताले भनिन्–‘तर सानीमाका छोराछोरी बाबुआमासँग बसेको, खेलेको, रमाएको देख्दा र मेरा बा–आमा साथमा नहुँदा एकप्रकारको अनाथपन महसुस हुन्थ्यो, सोही अनाथपनको मानसिकताले मलाई सेवा क्षेत्रमा लाग्नुपर्छ र अभिभावक नभएका बालबालिकाको संरक्षण गर्नुपर्छ भन्ने प्रेरणा प्राप्त भयो।’
त्यतिमात्रै होइन, त्यससमय दार्जिलिङ्गबासीले साप्ताहिक रुपमा अस्पतालमा जाने, विरामीहरुलाई फलफूल, खीर, मिठाइजस्ता परिकार खुवाउँदै गर्ने समाजसेवाले पनि आफूमा समाजसेवाको प्रेरणा प्राप्त भएको उनले बताइन् ।
अन्य सामान्य अवस्थाका भन्दा बौद्धिक अपाङ्गता भएका ब्यक्तिको स्याहार निकै कठिन हुने समाजमा सहयोगीको रुपमा कार्यरत कर्मचारी पवित्रा बताउँछिन् । ‘यिनीहरु आफ्नो पेट अड्कल्दैनन् ।
खाएर अघाउँदैनन्, अरुलाई पनि दिनुपर्छ, बाँडेर खानुपर्छ भन्ने जान्दैनन्,’–पवित्राले भनिन्–‘छ, छैन जान्दैनन्, पुग्छ–पुग्दैन बुझ्दैनन, आफ्नो वा अर्काको छुट्याउन सक्दैनन् ।’ एकआपसमा झगडा नगरेपनि ठेलेर लडाउँछन् की भन्ने पिर भइरहने र आँखाको अदेखमा एकैछिन राख्न नहुने उनको भनाई छ ।
त्यतिमात्रै होइन आफू सम्हालिएर बस्न नसक्ने उनीहरुको ब्यक्तिगत सरसफाईदेखि सम्पूर्ण काम आफैंले गरिदिनुपर्ने पवित्राको बताइन् । उक्त अनाथाश्रम सञ्चालनका लागि घरभाडामात्रै मासिक १८ हजार रुपैयाँ छ, सहयोगीका लागि मासिक ८ हजार, बालबालिकालाई दुध÷खाद्यान्नका लागि मासिक १२ हजार, लत्ता(कपडा (ओड्ने÷ओछ्याउनेसहित)(मा लगभग १० हजार रुपैयाँ मासिक खर्च रहेको समाजले जनाएको छ ।
स्थानीय कनकाइ नगरपालिकाले यस आर्थिक बर्षमा एकलाख ८० हजार रुपैयाँ छुट्याएको बुझिएको छ । ‘यो रकम पर्याप्त छैन–अध्यक्ष पोखरेलले प्रश्न गरिन्–‘यस्ता अनाथ बहुअपाङ्ग तथा बौद्धिक अपाङ्गहरुको संरक्षण सरकारले गर्नुपर्ने हो, तर सरकारले आफ्नो दायित्व ग्रहण गर्दैन, हामीले कतिदिनसम्म स्वयं सेवा र लगानी गर्ने ?’ संघीयता प्राप्त भएपछि स्थानीयस्तरमै सरकार भएपनि सरकार भएको महसुस कसैले गर्न नसकेको उनको आरोप छ ।
त्यसो त सुस्त मनस्थिति भएकाहरुको संरक्षणको उद्देश्य राखेर बौद्धिक अपाङ्ग महासंघ पनि स्थापित छ । देशभरमा स्थापित भएका यस्ता संरक्षक संस्थाहरु उक्त महासंघमा आबद्ध हुनुपर्ने प्रावधान छ र यिनै संस्थाहरुले गरेको कार्यको एकमुष्ठ प्रतिवेदन तयार गरेर महासंघले विभिन्न दातृ निकायबाट सहयोग लिने गरेको सरोकारवाला बताउँछन् । यसरी प्राप्त रकम महासंघले बौद्धिक रुपमा अपाङ्गता भएकाको संरक्षणमा भन्दा पनि महंगा तारे होटलमा आयोजित गोष्ठी र सेमिनारहरुमै सक्ने गरेको सरोकारवालाको आरोप छ ।
हुनत जन्म दिएपछि सपाङ्ग वा अपाङ्ग जस्तो वच्चा जन्मिएपनि उनीहरुको संरक्षणको पहिलो दायित्व अभिभावककै हो । सपाङ्गलाईभन्दा बढी स्याहार, माया, ममता र प्रेरणाको खाँचौ कुनै न कुनै रुपमा अपाङ्ग भएकालाई हुन्छ ।
त्यसमा पनि बौद्धिक अपाङ्ग त झन् जटिल समस्या हो। सपाङ्ग जन्मिए स्याहार गर्ने र अपाङ्ग जन्मिए वेवारिसे छाडिदिने अभिभावकलाई कारबाही वा उक्त बच्चाको भरणपोषणमा लाग्ने रकम असुलेर सरकारले संरक्षकत्व प्रदान गर्न सक्नुपर्छ ।
अभिभावकको नालायकीपन र सरकारको समेत वेवास्ताको मारमा परेका परोपकारी मन (संस्थागत रुपमा अभिभावकत्व प्रदान गरिरहेकाहरु) तथा अपाङ्ग(असक्तको सम्मानजनक जीवन यापनका लागि राज्यले नयाँ रणनीति अपनाउन जरुरी देखिन्छ ।
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...
१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...