
रमेशकुमार महत
वैदिक सनातन हिन्दु परम्परा अनुरुप अनेक चाड र पर्वहरू प्रचलनमा छन् । परापूर्वकालदेखि निरन्तर चलिआएका यस्ता पर्वमध्ये एक हो, श्रीकृष्ण जन्माष्टमी । संसारभरका हिन्दू धर्मावलम्बी अनि श्रीकृष्णका भक्तहरूले आज भगवान श्रीकृष्णको जन्म दिवस मनाउने गर्दछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ ।
कृष्णको जन्म :
भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णलाई लिने गरिएको छ । देवकी तथा वसुदेवका आठौँ सन्तानको रूपमा कृष्णको जन्म भएको थियो । देवकीको भाइ राजा कंशले आफ्ना बुवा उग्रसेनलाई जेलमा राखी आफूले राज्यसत्ता कब्जा गरेका थिए । भविष्यवाणीबाट डराएर उनले दुवै देवकी र उनको पतिलाई जेलभित्र कैद गरेर राखेका थिए । भविष्यवाणी अनुसार उसको मृत्यु देवकीको आठौँ सन्तानको हातबाट हुने भन्ने थियो । यसै अनुरुप कंशले सुरूका छ सन्तानलाई मारेपछि देवकीले सातौँ सन्तानलाई गायब पारेकी थिइन् । (देवकीले गोप्यरूपले सो बच्चा रोहिणीलाई दिएकी थिइन् जो बलराम थिए ।) आठौँ सन्तानको रूपमा कृष्णको जन्म भयो ।
जन्मिने बित्तिकै विष्णुले वासुदेवलाई कृष्णलाई नन्द र यसोदा बसोबास गर्ने स्थान गोकुल पुर्याउन लगाए, जहाँ कृष्ण आनन्दले कंशबाट टाढा रही बाँच्न सक्थे । वासुदेवले कृष्णलाई लिएर यमुना नदी तारी सकुशल गोकुल पुर्याए । त्यहाँ सबैजना सुतिरहेकोले वासुदेवले कसैलाई पत्तो नदिइकनै कृष्णलाई त्यहीँ छाडी यसोधाको छोरी लिएर कारावास फर्केर आए । कंशले त्यस अबोध बच्चालाई देवकीको आठौँ सन्तान ठानी ढुङ्गामा फालेका थिए । तर उनी हावामा उडी योगमाया (विष्णुको सहायक) को रूपमा स्थानान्तरित भइन् र कंशलाई उसको मृत्युको बारेमा चेतावनी दिएर गायब भइन् । कृष्ण गोकुलमै आफ्ना दाइ बलरामसँग हुर्केका थिए । पछि उनी मथुरा फर्के र बलरामको सहायताले कंशको संहार गरे ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए ।
पाण्डव कौरव युद्दमा कृष्ण :
श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न अर्जुनलाई युद्धका निम्ति उत्प्रेरित गर्ने क्रममा श्रीकृष्णले व्यक्त गरेका विचार र दर्शनलाई ‘श्रीमद्भगवद् गीता’का रूपमा लिइन्छ । यो हिन्दुहरूको पवित्र ग्रन्थ मानिन्छ । श्रीमद् भागवत् गीतामा कृष्ण स्वंले अर्जुनलाई भनेका छन् :
‘यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत
अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम्’
अर्थात् :
“जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हाबी हुँदै जान्छ,
तब तब धर्म रक्षाका लागि म स्वयं यस धर्तीमा नयाँ अवतार लिएर आउनेछु । महाभारतमा पाण्डव र कौरवहरूबीच युद्ध हुँदा श्रीकृष्ण पाण्डव पक्षमा थिए । कौरवहरूसँग धेरै सैन्य र युद्ध कौशल भएको कारण पाण्डवतर्फका अर्जुन एकदम्मै अशान्त थिए । एकातर्फ युद्धको अवस्था अनि अर्कोतर्फ कौरव सेनामा आफ्नै दाजुभाई र पितामह (हजूरबुबा) सम्मिलित थिए । आफन्तविरूद्धको लडाईँ, हार र जीत दुवैमा खुसि थिएन । श्रीकृष्ण आफू जगत् पुरुष भएपनि अर्जुनको मनोबल बढाउने उनको एउटा सामान्य सारथी (एक जोडी घोडायुक्त रथ हाँक्ने व्यक्ति) का रूपमा युद्धमा साथ दिए । यसबाट काम सानो ठूलो हुँदैन’ भनी वुझाएका छन् । साना या ठूला कार्यप्रतिको समानता अनि कर्म र फलबीचको सम्बन्धको व्याख्यालाई प्रेरणाको रूपमा उदाहरण प्रस्तुत गरेका छन् युद्धको क्रममा कृष्ण अर्जुनलाई संझाउछन् “ हे अर्जुन तिमी किन युद्धको परिणामका बारेमा व्यर्थ चिन्ता लिन्छौ वरु कर्म गर फलको आशा नगर”यस युक्तिबाट कर्म गरे पछि फल सुनिश्चित हुनेछ भन्ने ज्ञान दिन खोजिएको छ ।
कृष्ण जन्माष्टमीलाई अनेक नामले बुझिन्छ । कसैले सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती पनि भन्ने गरिएको छ ।
किन र कसरी गरिन्छ श्रीकृष्णको पूजा ?
कृष्ण जन्माष्टमीका दिन कृष्ण मन्दिरहरूमा श्रीकृष्णको पूजा, आराधना, प्रवचन, भजन–कीर्तन गरिन्छ । यस दिन श्रीकृष्णको पूजा आराधाना गर्नाले सन्तान प्राप्ति, आयु र समृद्धि प्राप्ति हुने विश्वास गरिन्छ । भनिन्छ जुन व्यक्तिको चन्द्रमा कमजोर छ, उसले श्रीकृष्णको पूजा गरेमा उसलाई लाभ हुन्छ ।
श्रीकृष्ण जन्माष्टमी मनाउने विभिन्न तरिका छन् । प्रायः बालक कृष्णको मूर्ति बनाएर उक्त मूर्तिको पूजा गर्ने चलन रहेको छ । उसो त प्रेम र दाम्पत्य सुखका लागि राधा-कृष्णको, सन्तान प्राप्तिका लागि बालक कृष्णको र अन्य मनोकामना पूरा गर्नका लागि बंशीवाला कृष्णको मूर्ति बनाई पूजा गर्ने गरिएको छ । यस दिन शंख वा शालिग्रामको पूजा पनि गरिन्छ ।
श्रीकृष्णको पूजा आराधनाका लागि शृंगारमा फूल र गोपी चन्दनको प्रयोग उचित मानिन्छ ।
श्रीकृष्ण जन्माष्टमी पर्व मनाउनेले बिहान सबेरै नुहाइधुहाइ गरेर ब्रत बस्छन् । दिनभर जल वा फलफूल मात्र खाएर पूर्ण रूपमा सात्विक बस्छन् । मध्यरातमा श्रीकृष्णको धातुको प्रतिमालाई पंचामृतले स्नान गराइदिन्छन् । अन्त्यमा प्रतिमालाई जलले स्नान गराएर पीताम्बर, फूल र प्रसाद चढाउँछन् ।
याद रहोस् कि श्रीकृष्णको पूजा गर्ने व्यक्तिले कालो वा शुद्ध सेतो वस्त्र धारण गर्न मनाही छ । पूजा सकेर प्रसाद ग्रहण गरेपछि श्रीकृष्ण जन्माष्टमी पूजन कर्म सकिन्छ ।
कृष्णको चर्चा गर्दा राधाको प्रसंग पनि चर्चित छ । कृष्णको विवाह रुक्मिणीसँग भएको पाईन्छ । तर राधासँग मिलन र विवाह प्रसंग पाईदैन तर राधा कृष्ण प्रेम प्रसंग उल्ख्य पाईन्छ ।
ऊता गृहस्थी जीवन विताईरहेकी मिराको कृष्ण प्रतिकाे मोह पनि उत्तिकै चर्चित छ ।
द्वापर युग चार युग मध्ये तेस्रो युग हो । यो काल भगवान कृष्णको देहान्त पछि समाप्त भएको मानिन्छ । यो त्रेता युग र कलि युगको बीचको युग हो । श्रीमद्भागवत् पुराण अनुसार यो युग ८६४,००० वर्षसम्म चलेको अनुमान छ । अहिले यस धर्तीमा असत्य हावि देखिएको छ । यस सन्दर्भमा सत्यको विजयको लागि पुन : श्रीकृष्णको आगमन आवश्यक देखिएको छ ।
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...
१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...