
१. आज गणतन्त्र दिवस । १५ वर्षअघि नेपालमा गणतन्त्र आधिकारिकरुपमा घोषणा भएको थियो संविधान सभाको पहिलो बैठकबाट । नेपालमा संविधान सभाबाट बनाएको संविधानद्वारा मात्र जनतामा जनताको शासन गरिनु पर्छ भन्ने मान्यताका आधारमा विद्रोही सैनिकसमेतको गठन गरेर नेकपा माओबादी राज्यसँग सशस्त्ररुपमा नै संघर्षरत थियो र संविधान सभाको निर्वाचन गरेर त्यसले बनाएको संविधानबाट शासन चलाउने सर्तमा शान्ति प्रक्रिया आउको थियो । २०६३सालमा शान्ति प्रक्रियामा आए पछि अन्तरिम संसदमा सहभागी भएको माओवादी पक्षले सरकारमा बसेरै , शिविरमा आफ्ना लडाकु राखेरै निर्वाचनमा होमिएको थियो । २४० जना प्रत्यक्षरुपमा निर्वाचित हुने सभासदहरुमध्ये १२० जना जितेर र समानुपातिकतर्फको मतले समेत माओबादी पक्ष ६०१जनाको संविधान सभामा ठुलो दलको रुपमा आएर सरकारको नेतृत्वसमेत गरेको थियो । त्यही बेलामा माओबादी सुप्रिमो प्रचण्ड , पुष्पकमल दाहाल प्रचण्डको नाममा प्रधान मन्त्री हुनु भएको थियो । २०६५ साल जेठ १५ गते बसेको पहिलो बैठकले नेपालमा स्थायीरुपमा राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना भएको थियो । त्यसैले जेठ १५ गतेलाई नेपालको राजनीतिक इतिहासमा गणतन्त्र दिवसको रुपमा मानिन्छ ।
२. राजतन्त्रको अन्त्य राजाको सहमतिमा नै भएको थियो । गणतन्त्रको घोषणा पनि शान्तिपूर्वक नै भएको थियो । नेपाली राजतन्त्रका तत्कालीन महाराजा ज्ञानेन्द्र शाहले प्रेस विज्ञप्ति निकालेर नै आफू शान्तिपूर्वक जीवनमा गएको भनेर नेपाल सरकारले दिएको बास र सुरक्षामा आजसम्म पनि बस्नु भएको छ ।
३. नेपालका विभिन्न समय र विभिन्न आयाममा भएका सशस्त्र र शान्तिपूर्ण आन्दोलनको उपजको रुपमा नेपालको गणतन्त्रलाई लिनुपर्छ । आज नेपाली सीमाभित्र समेटिएका वैशाली गणराज्य पनि इतिहासमा नै देखिन्छन् र शाक्यहरुको गणराज्यबाट लिच्छवि र मल्लहरु नेपालको केन्द्रीय शासनमा स्थापित भएको मान्नेहरु पनि छन् । अझ त्यसो त नेपालको खास इतिहास पुराणहरु र महाभारतमा पाउँदा पनि काठमाडौँ उपत्यकाको इतिहाससँग जोडिन्छ र बडामहाराजा पृथ्वीनारायण शाहको नेपाल एकीकरणपछि र अघिको इतिहासलाई नेपालको इतिहास भनेर मानिन्छ । अर्थात् काठमाडौँ उपत्यकामा राज्य गर्ने गोपाल वंशी,महिषपाल वंशी, किराँत शासन, लिच्छवि शासन, मल्ल शासन र शाह वंशीय शासनको इतिहासलाई नेपालको इतिहासको रुपमा आधिकारिक मानिन्छ । त्यसो त नेपालको एकीकरणभन्दा पहिले पनि बाइसी चौबिसी तथा त्यस्ता हजारौँ राजा रजौटाले आफ्ना आफ्ना निश्चित क्षेत्रमा राज्य गरेको पाइन्छ । अर्थात् राज्यलाई पिता पुर्खाको अंशको रुपमा लिएर, बाबु राजाले छोराहरुलाई राज्य टुक्राएर अंश दिने र त्यही अंशमा राज्य गर्ने राजा भएर रहेका थिए भन्ने इतिहास पाइन्छ । आखिर ती समयक्रममा आफैँ बिलाए र शान्तिपूर्णरुपमा नेपाल भन्ने देशमा गाभिए । समयक्रमभित्रै इतिहासको कालक्रम सुरु हुन्छ र कुनै वंश वा शासनको अन्त्य हुने रहेछ । त्यसको पछिल्लो कडी भनेको नेपालको गणतन्त्र र गणराज्यको अवस्था हो । सम्झनाका लागि जेठ १५ गतेलाई हामी आधुनिक कालमा नेपालमा गणतन्त्र दिवस मनाउँछौँ ।
४. त्यसो त गणतन्त्र र प्रजातन्त्र फरक हो । गणतन्त्र राज्यको शासकको अवस्थालाई मान्न थालिएको हो । राजतन्त्रबाहेक, कुलीनतन्त्रबाहेकको स्वतन्त्र शासकको शासनलाई गणतन्त्रको रुपमा लिइएको हुन्छ तर आधुनिक पश्चिमा प्रजातन्त्रको परिभाषा र मान्यतामा प्रजातन्त्र भनेको गणतन्त्र नै हो । या अर्थमा रिपब्लिकले दिने अर्थ भनेको स्वतन्त्रतापूर्वक जनताको लागि जनताले चुनेको व्यक्तिले गर्ने शासन नै हो । पौराणिक कालमा पनि राजाको निर्वाचन हुन्थ्यो । राजाको अर्थ परम्परागतरुपमा राज्य गर्दै आएको व्यक्ति भन्ने भए पनि जनताले राजा छानेको पाइन्छ र बेन राजालाई ऋषिहरुले अन्यायी भयो भनेर मारेर उसको शरीरको एउटा अंग हात मथेर अर्को राजा पृथु तयार गरेका थिए भनिन्छ । तिनै पृथुले लुकेर बसेकी पृथ्वीको गर्भकाट जनताका हितका लागि आवश्यक अन्न दिई निरीह जनताको उद्धार गरेको कथा सुन्न पाइन्छ । अर्थात् राजा भन्ने पदवी हो जनताका सेवकको जसले राज्यको शासन गर्छ । गणतन्त्रमा त्यही राष्ट्रप्रमुखको नाम राष्ट्रपति राखिएको हो । अनि प्रजातान्त्रिक मुलुक जहाँ राजतन्त्र हटाइए, त्यहाँको राज्य प्रणालीमा राष्ट्रपति , राष्ट्र प्रमुखको रुपमा रहने गरेका छन् । कतै राष्ट्रपति कार्यकारी छन् भने कतै संवैधानिकरुपमा प्रमुख र शासन प्रणालीमा निर्वाचित सरकारका सहयोगी तर आलंकारिक प्रमुखका रुपमा रहेका हुन्छन्। नेपालमा पनि राजाको अन्त्यपछि स्थापित राष्ट्रपति संस्था निर्वाचित सरकारको प्रमुखका रुपमा खासमा आलंकारिक शासकका रुपमा स्थापित छन् ।
५.नेपालमा नेपालको संवैधानिक इतिहासमा २०७२साल असोज ३गतेको संविधानको यसकारणले महत्व छ कि यसले संविधानमा नै स्पष्टरुपमा गणतन्त्रात्मक लोकतान्त्रिक नेपाल भनेको छ ।
६. यो गणतन्त्र छाडातन्त्रका लागि होइन । यो गणतन्त्र दण्डविहीनताका लागि होइन । यो गणतन्त्र कुलीनतन्त्रलाई विस्तार गर्न र निरंकुश शासन लाद्नका लागि होइन । यो पूर्व महाराजको पनि हो, सम्पूर्ण नेपाली जनताको साझा देश नेपालको शासन पद्धतिको एउटा प्रक्रियाको कडी हो ।
७. र अन्त्यमा, गणतन्त्रका कुरा गर्दा इजिप्टका अन्तिम राजा फारोँले भनेका थिए जब उनको शासन र बादसाहको पद रक्तपातविहीन क्रान्तिले समाप्त पारेको थियो । उनले भनेका रहेछन्, अब विश्वमा मात्र चारवटा बादसाह रहनेछन्, एउटा बेलायतमा, अनि अरु चारवटाचाहिँ तासका के नामक बादसाह जसलाई नेपाली जनजिब्रोले बास्सा भन्छन् । अब मानिसहरु बेलायतका राजाको समेत विरोध गरिरहेका छन् र राज्याभिषेकमा विरोधको स्वर मुखर भएको देखियो नै । अब नेपाली गणतन्त्रले के मान्नुपर्ने हुन्छ भने गणतन्त्र प्रजातन्त्रको विरुद्धमा पनि होइन, विकल्पमा पनि होइन । समानस्तरमा एउटा प्रक्रियामा , अनेक कारणले राजतन्त्रको अन्त्य भएको हो र शान्तिपूर्ण तरिकाले राजतन्त्रले आफूलाई रुपान्तरण गरेको हो सामान्य जनताको रुपमा । त्यसैले गणतन्त्र भनेको छाडातन्त्र पनि होइन, गणतन्त्र भनेको भ्रष्टाचारका लागि तयारी गरिएको शासन प्रणाली पनि होइन र दण्डहीनताका लागि ल्याइएको शासन प्रणाली पनि होइन । शासन प्रणाली त प्रजातान्त्रिक नै हो र प्रजातन्त्रमा मात्र खुला समाज सम्भव छ जहाँ राजाले पनि मेरो राजतन्त्र फेरि स्थापना किन नहुने भनेर देशका कुनाकुनामा गएर भन्न पाउँछन् र भोलि जनताले पूर्व राजालाई नै अहिलेको प्रणाली अनुसार राष्ट्रपति बनाउने भए भने नेपालीले मान्नुपर्छ तर गणतन्त्रका विरुद्धमा जानका लागि भने कसैले पनि अनुमति पाउने छैनन् भन्ने कुरा विश्वका अन्य शासन प्रणालीले पनि, नजिरले पनि देखाउँछन् । मात्र यत्ति भनौँ , गणतन्त्र भनेको जनताको लोकतन्त्र या प्रजातन्त्रको विकल्प होइन, पूरक प्रक्रियामात्र हो । नयाँ विकल्प साप्ताहिकबाट
काठमाडौं : देशका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। ६ महानगरको कुल बजेट आगामी...
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...