
काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कहिले नेपाल बन्द, कहिले बम पड्काउने र कहिले सुरक्षाकर्मीसँगै भिडन्त गर्न थालेपछि उसका गतिविधिलाई सरकारले चुनौतिको रुपमा हेर्न थालेको छ ।
विप्लवको गतिविधि बढ्न थालेको र बेलैमा यसलाई समाधान नगरिए गम्भिर संकट र सकस आइपर्ने विश्लेषणपछि सरकारले विप्लवसँगको वार्ता प्रक्रियालाई अघि बढाएको छ । यसको लागि सत्तारुढ नेकपाले संस्थागत र व्यक्तिगत पहलमा विप्लवसँग भेट गरी वार्ता अघि बढाउने योजना बनाएको छ ।
सरकार र पार्टीका प्रभावशाली नेताहरूले विप्लवसँग वार्ताका लागि आ–आफ्नै ढंगले सूत्र प्रयोग गरी वार्ताको पहल गरिरहेका छन् । केही दिनपहिले जेलमा रहेका विप्लव नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश वलीलाई गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले भेटेका थिए । राईले वलीलाई वार्ताको वातावरण बनाउन भेटेको बताइन्छ ।
उनी प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर वलीलाई भेट्न नख्खु जेल गएका थिए । वलीलाई भेट्न त्यसपछि गृहमन्त्री रामबहादुर थापा वादल पनि गएका थिए । वलीलाई भेट्न गएका गृह मन्त्री र गृहसचिवले के भने भन्ने कुरा वाहिर आएको छैन । यो भेटले वार्ताका लागि सम्पर्क सूत्रको काम कसले गर्यो भन्ने पनि रहस्यकै बिषय बनेको छ ।
स्रोतका अनुसार गृह सचिव राईले वलीलाई वार्तामा आउनुपर्याे, हामीले के गर्नुपर्छ ? त्यसका लागि तयार छौं । तपाईंले पनि पार्टीमा कुरा राख्नु पर्यो भनेर प्रस्ताव गरेका थिए । जवाफमा वलीले आफू लामो समयदेखि जेलमा रहेका कारण पार्टी अध्यक्ष विप्लवसँग भेट नभएको, पार्टीको हालको नीति के हो त्यो पनि अपडेट नभएको जवाफ दिएका थिए । उनले आफूले पार्टीको आधिकारिक धारणा अहिले भन्न नसकेपनि तीन वटा प्रस्ताव पुरा गरे पार्टीसम्म वार्ताको लागि कुरा गर्न सकिने बताएका थिए ।
स्रोतका अनुसार उनले विप्लव समूहको नेकपामाथि लगाइएको प्रतिवन्ध फुकुवा गर्नु पर्ने, गिरफ्तार गरिएका पार्टीका सबै कार्यकर्ता रिहाई हुनुपर्ने र झुटा मुद्धा फिर्ता लिनु पर्ने जस्ता माग पुरा गरेमा वार्ताको लागि पहल गर्ने बताएका थिए । विप्लव नेतृत्वको नेकपाले पनि हाल नख्खु जेलमा रहेका हेमन्तप्रकाश ओलीलाई नै वार्ता टोलीको संयोजक तोकेपछि सरकार झन दबाबमा परेको हो । गृह सचिव राईले वलीलाई भेटेपछि महासचिव विष्णु पौडेल निकटको सम्पर्क सूत्र पनि वलीलाई भेट्न गएको थियो ।
महासचिव विष्णु पौडेल नख्खु जेलमा वलीलाई भेट्न पुगेको घटनालाई गोप्य राखिएको छ । विप्लव नेकपा स्रोतका अनुसार पौडेलले वलीलाई भेट्नुअघि आफ्ना विश्वस्त व्यक्तिलाई पठाएका थिए । पौडेलका ती विश्वस्त पात्रले पनि वलीलाई वार्ताको पहल गर्न आग्रह गरेका थिए ।
भेटघाटको केही दिनअघि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले नगरकोट पुगेर विप्लव नेकपाका एकजना पोलिटब्युरो सदस्यसँग भेटेका थिए । प्रचण्डले वार्ताको तयारीका लागि नै विप्लव समूहका ती पोलिटब्युरो सदस्यलाई भेटेका थिए ।
अहिले पनि सत्तारुढ नेकपामा विप्लव समूहलाई वार्तामा ल्याएको श्रेय कसले लिने भन्ने होडबाजी नै चेलेको देखिएको छ । त्यसैले सत्तारुढ दलका नेतृत्व आ–आफ्ना मानिस लगाएर विप्लवसँग छुट्टाछुट्टै वार्ताको पहल जारी छ । प्रचण्ड आफैंले नगरकोटमा विप्लवका पोलिटब्युरो सदस्य भेटे पनि उनको प्रतिनिधिका रूपमा लामो समयदेखि जनार्दन शर्माले काम गर्दै आएका छन् ।
उनले विप्लव समूहका केही केन्द्रीय तहका नेतालाई भेटेर छलफल चलाएको बुझिएको छ । विप्लवलाई वार्तामा ल्याउन आफूले मध्यस्थकर्ताको भूमिका खेल्ने शर्माले सार्वजनिक रुपमै पटक–पटक बताउँदै आएका छन् । सरकारले गठन गरी हाल म्याद सकिएको वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे अहिले विप्लव नेतृत्वका नेताहरू खोज्न हिँडेका छन ।
पाण्डेले केही दिनपहिले आफू पाल्पा आएको र मिलेमा यतै विप्लवका नेतालाई भेट्ने बताएका थिए । उनले भनेका थिए, ‘वार्ता हुनुपर्छ तर अहिले नै मानिससँग सम्पर्क भएको छैन ।’ शर्माले पनि पछिल्लो समयमा विप्लव नेतृत्वको केन्द्रीय नेतादेखि स्थायी समिति सदस्यलाई भेटेको बताएका छन् । वार्ताकै लागि आफूले नेताहरू भेटेको उनको भनाइ छ । विभिन्न स्तरमा वार्ताको पहल भए पनि वार्ता कहिले हुने भन्ने तय भने हुन सकेको छैन ।
काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...
काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...
काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...