कारागारमा झडप – Naya Bikalpa
September 24, 2025, Wednesday      Epaper

कारागारमा झडप

कारागारमा कैदीबन्दीहरुबीच आपसी झडप हुँदा घाइते भएका घटना बेलाबेलामा सुनिदै आएका छन् । त्यसक्रममा कतिपय अवस्थामा एक समूहले अर्को समूहमाथि सांघातिक आक्रमण गर्दा हत्याका घटना समेत हुने गरेका छन् । शुक्रबार राति कैलाली जिल्ला कारागारमा त्यस्तै घटना भएको छ । कैदीबन्दीको एक समूहले अर्को समूहमाथि गरेको सांघातिक आक्रमणबाट धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको मृत्यु भएको हो । अन्धाधुन्ध आक्रमण गर्दा दुवै समूहका ४८ कैदीबन्दी घाइते भएका छन् । दुई ब्लकबीचको अग्लो पर्खाल तोडेर ‘ए’ ब्लकका कैदीबन्दी अर्को ब्लकमा छिरेर आक्रमण गरेका थिए । आक्रमणकारीले भरतको निधार र तिघ्रामा धारिलो हतियार प्रहार गरेका थिए ।

घाइते कैदीबन्दीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा राखिएको छ । धेरैजसोको शरीरभरि घाउचोट लागेको छ भने कतिपयको हात र खुट्टा भाँचिएको छ । गम्भीर घाइतेमध्येका आयुष भट्टलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

कैलाली कारागारमा नवीन रावल समूहका १४ जनालाई कारागार प्रशासनले गत असार ३ गते बिभिन्न जिल्लामा सरुवा गरेपछि सो समूहले पटक पटक हुलदंगा मच्चाउँदै आएको थियो । कारागारभित्र जयन्द्र शाहको अर्को समूह छ । यी दुई समूहबीच आपसमा झडप भएको यो पहिलो घटना होइन । कारागार प्रशासनले जेलभित्रैबाटै सुरक्षा चुनौती देखिएपछि सरुवाको नीति लिएको हो ।

कैलालीको लम्कीचुहा–१ लम्की चौराह बस्ने २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या गरेको अभियोगमा रावल पक्राउ परेर जेल चलान भएका थिए । २३ कात्तिक २०७८ मा टीकापुर–१ स्थित सिद्धार्थ होटलनजिकै धारिलो हतियार प्रहार गरी बडुवालको हत्या गरिएको थियो । त्यति बेला करिब दुई किलोमिटरसम्म लखेटेर हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । जेल चलान भएपछि उनले त्यहीभित्र समूह बनाएका थिए । शाह र रावल कुनै बेला एउटै समूहमा थिए तर पछि उनीहरूको सम्बन्ध बिग्रिएको थियो ।

कैदीबन्दीले शनिबार कारागार नियन्त्रणमा लिएर प्रमुख जिल्ला अधिकारीसहित कुनै पनि सुरक्षा निकायका प्रमुख र प्रतिनिधिलाई भित्र जान दिएका थिएनन् । मूल गेटमा ग्यास सिलिन्डर राखेर कोही भित्र आए पड्काइदिने चेतावनी दिएपछि कारागारमा सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । १५० जना क्षमताको कैलाली कारागारमा हाल ६९५ कैदीबन्दी राखिएको छ । आफूले भने अनुसार नभएपछि कैदी बन्दीले गरेको यो हदको आक्रमण जतिसुकै निन्दा र भत्र्सना गरे पनि कम नै हुन्छ । एकातिर कारागारमा क्षमता भन्दा बढी कैदी राख्ने र अर्कातिर यो हदको मनपरीलाई छुट दिने हो भने फेरी पनि कानुनी राजको उपहास हुने छ । त्यसकारण दोषीमाथि तत्काल कार्बाही गर्नुपर्छ । (नयाँ साप्ताहिकबाट साभार)

सम्बन्धित समाचार

हतारमा निर्णय गरेर फुर्सदमा नपछुताउँ
हतारमा निर्णय गरेर फुर्सदमा नपछुताउँ
  • २०८२ श्रावण २७, १४: १८

सरकारले आगामी असोज १ गतेदेखि देशैभर सवारीसाधनमा इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने उर्दी जारी गरेको धेरै दिन टिक्न सकेन ।...

संसदको प्रभावकारितामा प्रश्न
संसदको प्रभावकारितामा प्रश्न
  • २०८२ श्रावण २७, १४: १८

प्रतिनिधिसभा भनेको नागरिकहरुको प्रतिनिधिमूलक संस्था हो । जुन संस्थामा आम नागरिकले मतदानका माध्यमबाट निर्वाचित गराएर आफ्ना प्रतिनिधि पठाएका हुन्छन् ।...

चुरे बिनाशको पीडा
चुरे बिनाशको पीडा
  • २०८२ श्रावण २७, १४: १८

अन्नको भण्डार भनिने तराई÷मधेश क्षेत्रका खेतबारीमा यतिबेला सुख्खा छाएको छ । बर्षा याममा निम्तिएको खडेरीका कारण रोपाइमात्र प्रभावित भएको छैन,...