नेपालका कम्युनिष्ट मिल्दा माओवाद बिसर्जन – Naya Bikalpa
December 15, 2025, Monday      Epaper
प्रचण्डको एक निशाना तीन तिर, समाजवादी र माओवादीबीचको एकतापछि राजनीतिकवृत्तमा उठ्यो प्रश्न

नेपालका कम्युनिष्ट मिल्दा माओवाद बिसर्जन

काठमाडौं । भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपछि युवापुस्तामा नेतृत्व हस्तान्तरणको दबाबमा रहेका माओवादी, एकीकृत समाजवादीसहितका वामपन्थी दलहरुबीच एकता भएको छ । गत बुधबार राजधानीको भृकुटीमण्डपमा आयोजित कार्यक्रमका बीच १० वामपन्थी दलवीच ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा भएको हो । यी १० दलमा एमालेबाट बिभाजन भएको समाजवादी बाहेक अरु सबै माओवादी पृष्ठभूमिका साना दल रहेका छन् । पार्टीको चुनाव चिन्ह पाँच कुने तारा राखिएको छ ।

एकता महाधिवेशन नाम दिइएको बृहत भेलाले पार्टी संयोजकमा पुष्पकमल दाहाल र सहसंयोजकमा माधवकुमार नेपाललाई चयन गरेको छ । समाजवादीका नेता झलनाथ खनाल पार्टीको तेस्रो वरियातमा राखिएका छन् । आगामी ६ महिनाभित्र महाधिवेशन गर्ने तय भएको यो पार्टीमा करिब एक हजार केन्द्रीय सदस्य रहने बताइएको छ ।

यो एकतालाई लिएर अनेक खाले टिकाटिप्पणी शुरु भएका छन् । खासगरी, २०६४ को पहिलो संविधानसभा निर्वाचनपछि क्रमशः खस्कदो अवस्थामा रहेको माओवादीको साइज पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा आइपुग्दा ज्यादै खुम्चिन पुग्यो । त्यसमाथि पनि कांग्रेससंग चुनावी गठबन्धन नगरेको भए उसको पत्तासाफ हुने पक्का थियो । पछिल्लो निर्वाचनपछि अध्यक्ष दाहालको अपरिपक्व राजनीतिका कारण माओवादी थप कमजोर हुन पुगेको छ । कतिसम्म भने अन्य कुनै दलसंग चुनावी गठबन्धन नगरी माओवादी एक्लैले जित हात पार्ने निर्वाचन क्षेत्र भेटिन मुस्किल पर्छ ।

यसो हुँदा फागुन २१ गतेको निर्वाचनलाई ध्यानमा राखेर अध्यक्ष दाहालमाथि अन्य कुनै दलसंग एकता गर्नु बाध्यता जस्तै थियो । दाहाललाई जस्तै भएको थियो, नेकपा समाजवादीका अध्यक्ष नेपाललाई पनि । त्यसैले महासचिव घनश्याम भुसाल लगायतका नेताहरुको असहमतिका बाबजुद अध्यक्ष नेपाल एकताका लागि तयार भएका हुन् । नेकपा समाजवादीले पनि पछिल्लो निर्वाचनमा कांग्रेससंग चुनावी गठबन्धन गरेको थियो । त्यसैकारण विघटित प्रतिनिधि सभामा उसको उपस्थिति संभव भएको हो ।

१० कम्युनिष्ट घटकबीच एकता हुनुमा घरेलु आबश्यकता भन्दा पनि बाह्य शक्तिको डिजाइनले काम गरेको राजनीतिकवृत्तमा चर्चा छ । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्सामात्र होइन, बीआरआईमा नेपालले गरेको हस्ताक्षर, जापानबिरुद्ध चीनको विजय परेडमा दोस्रो विश्वयुद्धको सम्झनामा चीनमा भएको परेड प्रदर्शनमा ओलीको सहभागिता अनि सोही क्रममा रसियाका राष्ट्रपति पुटिनसंग प्रधानमन्त्री ओलीको वान टु वान वार्ता भएपश्चात उतिबेला पनि नेपालको राजनीति तरंगीत हुन पुगको थियो । यसभन्दा अगाडिका दुई समीकरणमा पनि कम्युनिष्टहरुको सरकार निर्माण गराउन र कम्युनिष्ट एकीकरण गराउन उत्तरको पटक पटक प्रयासपछि ओली प्रचण्डको एकता भएको हो । तीन ठूला दलहरुका रापताप तीव्र धु्रविकरणका कारण पछिल्लो समय बालकोटमा ओली देउवा दही चिउरा खाने नाममा दुवै पार्टीका केन्द्रीय समितिमा समेत पत्तो नदिई सत्ता गठबन्धन गरेका थिए ।

ओली र देउवा गठबन्धनबाट अत्तालिएको प्रचण्ड माधव प्रतिपक्षको भूमिका भन्दा पनि कसरी ओलीलाई सत्ताबाट ओराल्ने रणनीतमा छँदै थिए । जेनजी आन्दोलनले उग्ररुप लिँदा माधव प्रचण्डले सोचे जस्तै हुन पुग्यो । समाजवादीका अर्का नेता पूर्वप्रधानमन्त्री समेत भइसकेका झलनाथ खनाल त पहिलेदेखि नै ओलीसँग क्रुद्ध हुँदै आएका थिए । तर केहीदिन समाजवादी र प्रचण्डबिचको एकतामा असहमति जनाउँदा जनाउँदै अन्तमा तेस्रो वरियताका क्रममा प्रचण्डसँग घाँटी जोड्न पुगे ।

अघिल्लो दिनसम्म एमाले अध्यक्ष ओलीसँग वार्ताका क्रममा नेता खनालले माओवादीसँगको एकतामा सहभागी नहुने बताएका थिए । तर बुधबार बिहान अध्यक्ष पुष्पकमल दाहालसँग वार्ता गरी उनी एकता प्रक्रियामा सहभागी हुने निष्कर्षमा पुगेका थिए । नेता खनालको चीनसंग निकट सम्बन्ध रहँदै आएको देखिन्छ । तर समाजवादीका महासचिव घनश्याम भुसाल, उपाध्यक्ष घनेन्द्र बस्नेत, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री भने एकता घोषणा सभामा गएनन् । यसैगरी, माओवादी सचिवालय सदस्यद्वय जनार्दन शर्मा र राम कार्की पनि सहभागी भएनन् । शर्मा र भुसालले बृहद् वाम एकता अभियान घोषणा गरेका छन् भने झाँक्री एमालेमा फर्कने तयारीमा छिन् ।

संघीयता बलियो बनाउने प्रतिबद्धता एकता घोषणासभामा पार्टीको २३ बुँदे प्रतिबद्धता प्रस्तुत गर्दै नेता देव गुरुङले संघीयता बलियो बनाउन प्रदेशका प्रतिनिधिहरूको संख्या घटाउने जनाए । ‘संविधानको रक्षा, संघीयताको सबलीकरण गरिनेछ, प्रदेश जनप्रतिनिधिको संख्या घटाइनेछ,’ उनले भने । अन्य प्रतिबद्धतामा उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी दोषीलाई कारबाही गर्ने, महिला, दलित, मधेशी, मुस्लिम, जनप्रतिनिधि, अल्पसंख्यकलाई मूल प्रवाह समाहित गरी उनीहरूको अधिकार संरक्षण गर्नेलगायत छन् ।

जेन–जीको आकांक्षा पूरा गर्न प्रतिबद्ध रहने, विगतका गल्ती–कमजारी सच्याएर पार्टीलाई पुनर्गठन गर्ने प्रतिबद्धतामा उल्लेख छ । त्यस्तै, पार्टीमा आन्तरिक लोकतन्त्र स्थापना गर्न आवश्यक विधि बनाउने, पार्टीमा सबै नेता उत्पादन र श्रम कार्यमा संलग्न हुने, कम्युनिस्ट आचरण कडाइ साथ लागू गर्ने र सादा जीवनशैली अवलम्बन पार्टीको प्रतिबद्धता छ । यो समीकरणले राजनैतिक वृत्तमा प्रचण्डले आफु बलियो हुने रणनीति बनाएको प्रष्ट देखिन्छ । त्यसैले उनीमाथि सम्पत्ति शुद्धीकरणदेखि क्यान्टोनमेन्ट घोटला, हुँदै जेनजीको कारबाहीबाट बच्न समेत विभिन्न बहानामा एक तीर तीन निशानालाई चरिचार्थ गर्दै प्रचण्डले नेपालको माओवादलाई विसर्जन विन्दुमा पु¥याएको देखिन्छ । (नयाँ विकल्प साप्ताहिकबाट)

सम्बन्धित समाचार

मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
  • २०८२ कार्तिक २४, १३: २७

जनकपुरधाम : मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नियुक्त दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख...

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
  • २०८२ कार्तिक २४, १३: २७

काठमाडौं : केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ...

ओलीले गराए उम्मेदवारी दर्ता
ओलीले गराए उम्मेदवारी दर्ता
  • २०८२ कार्तिक २४, १३: २७

काठमाडौं : नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले...