
काठमाडौं । जेन जी आन्दोलनपछि थला परेको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको जारी बैठकले अझै पनि पार्टीलाई दिशानिर्देश गर्न सकेको छैन । महाधिवेशनको विषय थप पेचिलो बन्दै गएपछि पछिल्लो एक सातादेखि नेताहरु घनीभूत छलफलमा जुटिरहदा केन्द्रीय समितिको बैठक समेत पटक पटक स्थगित हुँदै आएको छ । महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा खेमाका नेताहरुले निर्वाचनअघि जसरी भए पनि विशेष महाधिवेशन गर्नैपर्ने अडान राखेका छन् । त्यसका लागि महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर समेत गराएका छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर भएको दाबी गरिएको पत्र कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरिएका छ ।
उता, नेता डा. शेखर कोइरालाले भने हस्ताक्षर अभियानले पार्टी विभाजन गराउन सक्ने खतरा औल्याउँदै आएका छन् । सभापति शेरबहादुर देउवा खेमाका नेताहरुले निर्वाचनअघि नियमित वा विशेष कुनै पनि महाधिवेशन सम्भव नहुने तर्क गर्दै आएका छन् । उनीहरुको भनाईमा जेन जी आन्दोलनपछि लोकतन्त्र नै संकटमा परेका बेला अहिलेको ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्ने भएकोले निर्वाचनअघि महाधिवेशन गर्न सम्भव नभएको एकोहोरो ढिपी गरिरहेका कारण केन्द्रीय समितिको बैठक अनिर्णयको बन्दी बन्दै आएको छ । फागुन २१ को निर्वाचनमा पार्टीलाई केन्द्रित गराएर वैशाख महिनामा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । तर महामन्त्री थापा पुसभित्र विशेष महाधिवेश गराउनुपर्ने पक्षमा छन् । उनीहरुको तर्क अनुसार जेन जी आन्दोलनपछि पार्टीमा नेतृत्व हस्तान्तरणको मुद्धा बलियो गरी उठेकोले पुरानै नेतृत्वमा निर्वाचनमा जाँदा पार्टीलाई नोक्सानी हुन जान्छ । त्यसैले नयाँ नेतृत्व चयन गरेर मात्र निर्वाचनमा जानुपर्छ ।
यसरी निर्वाचन अघि पार्टीको महाधिवेशन कि निर्वाचनपछि भन्ने विभाजनको रेखा केन्द्रमा तल्लो तहसम्मै कोरिएको छ । यसो हुँदा नेता कार्यकर्ताहरुवीच मतभेद बढ्दै गएको छ । त्यहि मतभेदलाई मत्थर गर्नका लागि सभापति देउवा, कार्यबाहक सभापति खड्का, महामन्त्रीद्धय थापा र शर्मावीच अनेक चरणमा छलफल भइरहेका छन् । तर पनि निकास निस्कन सकेको छैन ।
सभापति देउवाले पछिल्लो समय यस्ता छलफलमा अर्का उपसभापति धनराज गुरुंग, पूर्व उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र रमेश लेखकलाई बोलाएर निकास निकाल्ने प्रयास गरेका छन् । तर अझै पनि सहमति जुट्न सकेको छैन । संस्थापन र अर्को खेमाका नेताहरु अ आफ्ना अडानमा टसका मस नहुँदा समस्या जहाँको त्यहि रहेको छ । निर्वाचन र महाधिवेशनका विषयमा छलफल जारी रहेका बेला पार्टीभित्रको पुरानो समीकरणमा उथलपुथल हुने देखिएको छ । निर्वाचन अघि महाधिवेशन कि निर्वाचनपछि भन्ने विषयमा संस्थापन पक्षका नेताहरुमै मत विभाजन देखिएको छ ।
संस्थापन पक्षका कतिपय केन्द्रीय सदस्यहरुले हस्ताक्षरसहित तत्काल महाधिवेशनको माग गरेर दबाब सिर्जना गरेका छन् । यीमध्ये अधिकांश हिजोका दिनमा देउवासंग निकट रहेर अनेक लाभ लिएका छन् । तर हस्ताक्षर गरेको भएता पनि पुष्पा भुसाल, देबेन्द्रराज कँडेल लगायतका नेताहरु भने पछिल्लो समय खड्काको यस्तो योजनामा सहमत हुन नसकेको बताइएको छ । कांग्रेस नेताहरुको भनाईमा कार्यबाहक सभापति खड्काको योजनामा यस्तो दबाबमूलक अभियान संचालन भइरहेको छ । किनभने संस्थापन खेमाबाटै दबाब दिएर सभापति देउवामाथि महामन्त्रीद्धयको प्रस्तावमा निर्णय गराउने रणनीति अन्तर्गत यस्तो काम भइरहेको बताइन्छ ।
यो अभियानसंगै कार्यबाहक सभापति खड्काले सभापति देउवामाथि आगामी महाधिवेशनमा आफूलाई संस्थापन खेमाबाट उत्तराधिकारीको रुपमा अघि बढाउन दबाब दिएका छन् । तर संस्थापन खेमाबाट कार्यबाहक सभापति खड्का महामन्त्री थापाको योजनामा अघि बढेको प्रष्ट भइसकेको बारे देउवालाई जानकारी गराइसकेका छन् । संस्थापन खेमाका नेताहरु आगामी महाधिवेशनमा सभापतिको उम्मेद्वारका रुपमा कार्यबाहक सभापति खड्का नहुनेमा ढुक्क छन् । त्यसो हुँदा पछिल्लो समय देउवाको अनुपस्थितिमा पनि संस्थापनका तर्फबाट बैचारिक र अन्य हिसावले पूर्व उपसभापति विमलेन्द्र निधि र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेतृत्व गर्दैै आएका छन् । त्यसकारण संस्थापनबाट निधि र सिटौलामध्ये एकजना सभापतिको उम्मेद्वार हुने देखिन्छ । त्यस्तो बेलामा संस्थापन खेमाका डा. शशांक कोइराला, प्रकाशमान सिंह, बिजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, प्रकाश शरण महत लगायतका नेताहरु वर्तमान संस्थापनबाट दाँयाबाँया हुने देखिदैन ।
त्यस्तो अवस्थामा खड्कालाई महामन्त्री थापाको पक्षमा खुल्न थप सहज हुने देखिन्छ । त्यसो त महामन्त्री थापाको टिमसंग मिलेर एक वर्षभन्दा अघिदेखि नै खड्काले काम गर्दै आएका छन् । थापा निकट स्रोतका अनुसार खड्काले सभापतिमा थापाका पक्षमा खुलेर सहयोग गर्ने र निर्वाचनपछि थापाले खड्काको राजनीतिक भबिश्य सुनिश्चि गर्न बचन दिएका बुझिएको छ । थापाको यस्तो योजनालाई मूर्तरुप दिनका लागि खड्कामात्र होइन, निवर्तमान गृहमन्त्री रमेश लेखकले पनि सोही योजना अनुसार काम गर्दै आएका छन् । लेखक र एनपी साउद बीच एउटै खेमामा पनि निकै अगाडिदेखि टकराव भएका कारण पनि लेखकले थापालाई सहयोग गरेको आंकलन गरिएको छ ।
सुदुरपश्चिमको राजनीतिमा देउवा निकट रहेका लेखक कार्यबाहक सभापति खड्कासंगै महामन्त्री थापासंग जोडिएपछि अर्का नेता एनपी साउद संस्थापन खेमामा खुलेर देखिएका छन् । जबकि लेखक सभापति देउवाका पक्षमा अडिग भएका बेला भेगीय राजनीतिका कारण साउदले आफूलाई सुदुरपश्चिममा देउवाको उत्तराधिकारीका रुपमा स्थापित गर्नका लागि अर्का नेता डा. शेखर कोइरालाका पक्षमा देखिएका थिए । तर यतिबेला संस्थापनबाट लेखक बाहिरिएपछि साउदका लागि सुदुरपश्चिममा मार्गप्रशस्त हुने अपेक्षा गरिएको छ ।
संस्थापनबाटै हरेक पटक अवसर पाएका फरमुल्ला मन्सुर थापाको पक्षमा खुलेर लागेका छन् । जारी केन्द्रीय कार्य समितिको बैठकमा उनले महामन्त्री थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि बढाउनु पर्ने उनले प्रस्ताव नै गरेका थिए । नेता मन्सुर मुस्लिमका नाममा गिरिजाप्रसाद कोइरालाका पालादेखि नै सबैभन्दा बढी अवसर पाउने नेतामा पर्छन् ।
कोइरालापछि देउवा शक्तिमा आउँदा देउवा पक्षमा उभिएर र पाउनु लाभ पाए । अहिले थापा बलियो हुने अनुमानका साथ संस्थापन खेमा छाडेर थापाका पक्षमा अभिव्यक्ति दिएका हुन् । यसैगरी, सभापति देउवाले प्रचार विभाग प्रमुख बनाइएका मीन बिश्वकर्मा पनि कांग्रेसभित्र फरमुल्ला प्रवृत्तिकै नेतामा गनिन्छन् । सांसद, मन्त्री, प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका बिश्वकर्मा पनि कार्यबाहक सभापति खड्कासंगै महामन्त्री थापाको पक्षमा लागेका छन् ।
उता, डा. शेखर कोइरालका पक्षमा देउवा समूहकै केही नेताहरु विस्तारै खुल्न थालेका छन् । डीना उपाध्याय, डिला संग्रौला, भीष्मराज आंगदम्बे देखिएका छन् भने पूर्व गृहमन्त्री बालकृष्ण खाँण पछिल्लो समय कोइराला भन्दा पनि संस्थापनमै खुलेका छन् । यसो हुँदा कांग्रेसको नियमित वा विशेष महाधिवेशनको मिति नजिकिदै गर्दा पुरानो समीकरणमा राम्रै फेरबदल आउने देखिन्छ । (नयाँ विकल्प साप्ताहिकबाट)
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन भएको छ । काठमाडाैंको भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन...
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केहीबेरमा सुरु हुँदैछ...
काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा आज बिहानैदेखि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ ।...